Comments Add Comment

अख्तियार प्रमुख लोकमानलाई संसदीय समितिले बोलायो

३० भदौ, काठमाडौं । संसदको सुशासन अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग अख्तियारका पछिल्ला काम कारवाहीका सम्बन्धमा सोधपुछ गर्ने भएको छ ।

Lokman singh karkiअख्तियारले बिभिन्न सरकारी कार्यालयमा हुने घुसखोरीका घटनामा सक्रियता बढाए पनि साना कर्मचारीलाई समातेर ठूलालाई उन्मुक्ति दिएको भन्दै सभासदले प्रश्न उठाएपछि कार्कीलाई बुधवार समितिमा हाजिर हुन भनिएको हो ।

अख्तियारका कामकारवाहीमा प्रश्न उठेका र सानालाई ऐन ठूलालाई चैन भएको गुनासो आएकाले प्रमुखलाई नै छलफलका लागि बोलाइएको सभापति शेरधन राईले बताए ।  सुशासन अनुगमन समितिका सभापति राईले अनलाइनखबरसँग भने- ‘अख्तियारले खरदार सुब्बा जस्ता साना कर्मचारीलाई समातेर ठूलालाई उन्मुक्ति दिएका धेरै गुनासाहरु समितिसमक्ष आएका छन्, यसबारे छलफल गर्न उहालाई बोलाएका हौं ।’

समितिका एक सदस्यका अनुसार अख्तियारकै अधिकारीहरुले सानालाई सताएर ठूला भ्रष्टाचारीसँग मोलमोलाई गरेर रकम लिएका गुनासाहरु पनि समितिसमक्ष आएका छन् ।

अख्तियारको कारवाहीमा परेकाहरुले पनि आशंकाकै भरमा अख्तियारले भ्रष्टाचारी भनेर फाइल र कागजात कब्जामा लिएर चरित्रहत्या गरेको उजुरी पनि समितिमा दिएको ती सभासदले बताए ।

समितिका सभापति राईले भने समिति समक्षा आएका गुनासाहरुका सन्दर्भमा अख्तियारका पदाधिकारीसँग सभासदहरुले जानकारी लिने र अख्तियारबाट यथार्थ जानकारी आउने अपेक्षा गरिएको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त भएपछि कार्कीले पहिलो पटक संसदीय समितिको सामना गर्दैछन् । उनले संसदीय सुनुवाइमा समेत अहिलेसम्म जानु परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment