Comments Add Comment

गभर्नरले भने- मर्जर सुधार गृह मात्रै हो, नसुध्रिए कठोर कारवाही हुन्छ

Ubaraj khatiwada
फाइल फाेटाे/अनलाइनखबर

३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुबीचको मर्जर समस्याको समाधान नभई दुर्घटना टार्न दिइएको अवसर मात्रै भएको बताएका छन् ।

‘मर्जर भनेको अवस्था खराब भएकाहरुलाई तत्काल दुर्घटनामा पर्न नदिन सुधारगृहमा राखिएको मात्रै हो’ सोमबार प्रभू बैंकको मर्जपछिको एकीकृत कारोबारको उदघाटन गर्दै खतिवडाले भने -सुधारगृहमा राख्दा नसुधि्रए त्यसपछिको कारवाही निकै कठोर हुन्छ ।

उनले ठूलो भएकै कारण असफल भइदैन भन्ने सोचबाट मुक्त हुन बैंकरहरुलाई आग्रह गरे । व्यवसायको संभावनासँगै बैंकको भविष्य हुने बताए ।

‘समयअनुसार चल्न नसके जुनसुकै दिन बन्द हुनसक्छ, मर्जर त आयु बढाउने उपाय मात्रै हो’ खतिवडाले भने- बैंकलाई केमिकल हालेको लौकाजस्तो बनाउनु भयो भने त्यो टिकाउ हुँदैन, त्यसैले प्राकृतिक विकासको सिद्धान्तअनुसार अघि बढ्नु पर्छ ।

आफैं बोक्सी आफैं धामी

खतिवडाले राष्ट्र बैंकले समस्या गरेको सिर्जना राष्ट्र बैंकले नै समाधान गर्न खोजिरहेको बताए । ‘हामी आफैंले सिर्जना गरेको समस्या समाधान गर्न खोजेका हौं, पहाड फोरेका छैनौं’ उनले भने ।

उदार अर्थनीतिका नाममा जथाभावी लाइसन्स दिँदा समस्या आएकाले मर्जरको नीति अबलम्बन गर्नुपरेको उनको भनाई थियो । ‘लाइसन्स बाँड्नुमात्रै उदार अर्थनीति होइन’ उनले भने ।

बैंक चलाउने को-को ?

उद्योगी व्यवसायीबिना सीइओ, सञ्चालक र राष्ट्र बैंकले मात्रै बैंक चल्न नसक्ने बताए । बैंक सञ्चालन गर्न उद्योगी व्यवसायीहरु पनि अत्यावश्यक रहेको उनको भनाई थियो ।

‘बैंक चलाउन उद्योगी व्यवसायी चाहिन्छ तर, अलि परको दूरीमा रहनुपर्छ’ उनले भने- त्यसैले हामीले बैंकर र उद्योगी छुट्याउने प्रस्तावसहितको नयाँ बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐनको मस्यौदा तयार गरेका छौं ।

विदेशी बैंकसँग प्रतिस्पर्धा

गभर्नर खतिवडाले बैंकहरुले अव देशभित्रका एक-अर्का बैंकसँग मात्रै प्रतिस्पर्धा गरेर नहुने बताए । उनले नेपालमा विदेशी लगानी बढेसँगै विदेशी बैंकसँग प्रतिस्पर्धा गर्न तयार हुन आग्रह गरे । ‘अब आन्तरिक प्रतिस्पर्धाले मात्रै पुग्दैन, बाहृयरुपमा प्रतिस्पर्धामा उत्रिनूपर्ने अवस्था देखिन थालेको छ’ खतिवडाले भने ।

अर्थमन्त्रीको आलोचना

खतिवडाले अर्थमन्त्री डा. रामशरण महतलाई व्यंग्यात्मक तरिकाले चुनौति दिएका छन् । सन् २०२२ सम्ममा विकाशोन्मुख राष्ट्रमा नेपाललाई स्तरोन्नति गर्ने र त्यसका लागि खर्बौको लगानी आवश्यक रहेको बताउँदै आएका अर्थमन्त्री महतको भनाईलाई खतिवडाले आलोचना गरे ।

‘साथीहरु यति सालमा विकाशोन्मूख मुलुक बनाउनै पर्छ, यति लगानी चाहिन्छ भन्दै अंक गणीतिय हिसाबले विकासका कुरा गर्दै आउनु भएको छ’ उनले भने -अंकगणितले विकास हुँदैन, यतिवेला नेपाललाई ऋण होइन इक्वीटी चाहिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment