Comments Add Comment

महेश बस्नेतले छोपे एमालेभित्रको रहस्य

२९ भदौ, काठमाडौं । युवा संघका अध्यक्ष महेश बस्नेत मन्त्री बनेपछि उनको पक्ष/विपक्षमा सामाजिक सञ्जालमा बहस छेडियो । तर, बस्नेतकै कारण एमालेभित्र अरु धेरै विषय छायाँमा परे । मन्त्रीद्वय कर्ण थापा र भीम आचार्यलाई रातारात फिर्ता बोलाउनुको रहस्य पनि अहिलेसम्म रहस्यमा छ ।

mahesh-basnet-and-deepak-cgandra-ammatya
मन्त्री पदको सपथ लिँदै महेश बस्नेत र दिपकचन्द्र अमात्य । तस्वीरः अनलाइनखबर

एमाले अध्यक्ष केपी ओलीले झलनाथ खनालबाहेक अरु कसैसँग सल्लाह नगरी दुई मन्त्री भीम आचार्य र कर्णबहादुर थापालाई किन हटाए ? यसबारे एमालेकै ठूला नेतालाई जानकारी दिइएको छैन । पार्टी केन्द्रीय कमिटी त टाढाको कुरा भयो, ओलीले पदाधिकारीको बैठकसम्म नराखी थापा र आचार्यलाई तरिकाले मन्त्रीबाट हटाएका हुन् ।

एमालेको केन्द्रीय सचिवसमेत रहेका निवर्तमान पर्यटनमन्त्री आचार्य पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालका बहिनी ज्वाइँ हुन् । तर, खनालले ओलीसँग मिलेर आफ्ना ज्वाइँलाई हटाई सो ठाउँमा आफ्नै पुराना स्वकीय सचिव दीपकचन्द्र अमात्यलाई मन्त्री बनाउन सहमति दिएका छन् ।

पर्यटन मन्त्रालयमा खनालका बहिनी-ज्वाइँलाई हटाएर पीएलाई ल्याइयो भने उद्योग मन्त्रालयमा ओलीकै गुटका थापालाई हटाएर आफ्नै गुटका बस्नेतलाई रिप्लेस गरियो ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका सुदूरपश्चिमका प्रभावशाली नेता उद्योगमन्त्री कर्ण थापा अध्यक्ष केपी ओलीका भित्रियामात्र होइनन्, उनी पनि टाढाको साइनोबाट ओलीका ज्वाइँ पनि हुन् ।

पार्टीका कुनै पनि कमिटी र नेताहरुसँग छलफल नगरी खोली र खनालले आफ्ना विश्वासपात्र दुई मन्त्रीलाई हटाएर अर्का दुई थान विश्वासपात्रलाई मन्त्री बनाउनुका पछाडि के-के कारण थिए ? अहिले एमालेभित्र यसको व्यापक खोजी भइरहेको छ ।

दोष देखाउने प्रयाश

महेश बस्नेतसँगै युवा संघमा काम गर्ने एक नेताले भने- ‘नयाँ मन्त्रीलाई जति बधाइ दिने काम भइरहेको छ, त्यति नै हटाइएका मन्त्रीहरुको बदख्वाइँ पार्टीभित्र सुरु भएको छ । पहिले मन्त्री बन्दा नउठेको बुहुविवाह र लेनदेनको कुरा पनि उठाउन थालिएको छ ।’

स्रोतका अनुसार दुबैजनालाई मन्त्रीबाट हटाउनुको कारण आर्थिक चलखेल हो । अझ आचार्यलाई त प्रधानमन्त्री सुशील कोइरालाले नै हटाउनका लागि दबाव दिएको उच्च स्रोतले दाबी गरेको छ ।

Bhim-acharya-and-karna-thapa

आचार्यमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा ४ अर्ब रुपैयाँ बढी राज्यलाई भार पार्ने गरी आर्थिक चलखेलमा संलग्न रहेको आरोप लागेको छ । उनले त्यसमा पार्टी र प्रधानमन्त्री दुबैलाई बाइपास गरेको बताइएको छ ।

त्यस्तै पर्यटन बोर्डका कार्यकारी निर्देशक सुवास निरौलालाई जोगाउन आर्थिक लाभ लिएको आरोप पनि आचार्यमाथि लागेको एमालेका एक नेताले बताए ।

कर्ण थापामाथि पनि आर्थिक चलखेल र पार्टीलाई अटेर गरेर मनोमानी गरेको आरोप लगाइएको छ । उनले उद्योगी व्यवसायीहरुसँग निजी स्वार्थका लागि काम गरेर पार्टीसँगको सम्बन्ध बिगारेको आरोप पनि लागेको छ ।

विदेश घुमेर गरेर मन्त्रालयको काम नगरेको, अमेरिकामा लैजाने भनेर श्रीमती कमला ओलीले केही व्यक्तिबाट पैसा उठाएको लगायतका आरोप पनि उनीमाथि लगाइएको छ ।

आरोपबारे सम्पर्क गर्न खोज्दा आचार्य सम्पर्कमा आएनन् । थापाले भने आफूलाई कुनै अभियोग नलगाई फिर्ता बोलाइएको र अहिले बाहिर बाहिरै चरित्रहत्या गर्न थालिएको भन्दै रोष प्रकट गरेका छन् । निवर्तमान थापाले भने- ‘हटाउनुको औचित्य पुष्टि गर्न बाहिर अनर्गल प्रचार गरिएको छ । यसबाट मेरो चरित्रहत्या भएको छ, यसबारेमा पार्टीले प्रष्ट पार्नुपर्छ ।’

पार्टीमा मन्त्री हटाउने र नया थप्ने बारे कुनै छलफल नै नभएको भन्दै बरिष्ठ नेता माधव नेपालले संस्थागत निर्णय गर्न अध्यक्ष ओलीलाई चेतावनी दिएका छन् ।

केन्द्रीय सदस्य सूर्य थापाले यसबारे धेरै जानकारी नभए पनि पार्टीले उनीहरुलाई फिर्ता नबोलाएको भए राज्यका निकायले समाउने अवस्था थियो भन्ने सुनिएको प्रतिक्रिया दिए ।

मन्त्री फेरबदल गर्दा र नयाँलाई पठाउँदा एमालेका पदाधिकारीहरु समेत बेखबर थिए । महासचिव ईश्वर पोखरेलसमेत यो प्रकरणमा सन्तुष्ट नरहेको एमाले स्रोतले जनाएको छ ।

उपाध्यक्ष बामदेव गौतमले पनि आफूलाई जानकारीमात्र दिइएको तर राय नलिएको भन्दै अध्यक्ष ओली र बरिष्ठ नेता खनालतिरै औंला सोझ्याएका छन् ।

आठ सभासद मनोनयन प्रकरणमा महासचिव पोखरेलको साथ लिएका ओलीले मन्त्री फेर्ने प्रकरणमा भने खनालको साथ लिएको देखिन्छ ।

यो प्रकरणले एमालेमा खैलाबैला मात्र मच्चाएको छैन, ओलीकै गुटमा पनि असन्तुष्टिको आगो सल्काएको छ । खनालले आफ्ना पीएलाई मन्त्री बनाउन ओलीसँग साँठगाँठ गरेको भन्दै उनको गुटमा पनि तीब्र आलोचना भएको छ ।

खनालका एक निकट सहयोगी एमाले नेताले भने-महाधिवेशनमा बनेको खनालको अग्लो व्यक्तित्व पीए दीपकचन्द्र अमात्यलाई मन्त्री बनाएर गल्र्यामगुुर्लम्म ढलेको छ । मन्त्री अमात्य खनालका पुराना सहयोगी हुन् ।

नेपाल पक्षधले यो प्रकरणलाई पदाधिकारी बैठक, संसदीय दल हुँदै केन्द्रीय कमिटीसम्म चर्को रुपमा उठाउने भएको छ ।
नेपाल पक्षधर केन्द्रीय सदस्य तथा सभासद यज्ञराज सुनुवारले दुई मन्त्रीलाई हटाउनुको कारण उनीहरुको आचरण र आर्थिक चलखेल भन्ने सुनिए पनि पार्टीलेे त्यसबारेमा प्रष्ट पार्नुपर्ने बताए । सुनुवारले भने- यो विषयलाई हामी संसदीय दलको बैठकमा उठाउछौं, अरुले नउठाए पनि म एक्लै उठाउँछु, केन्द्रीय कमिटी बैठकमा पनि अध्यक्षले यसको जवाफ दिनुपर्छ ।’

पार्टीमा एकपछि अर्को अलोकप्रिय र एकलौटी निर्णय गर्दै जाने र जवाफ दिनुपर्छ भनेर पार्टीका बैठकहरुनै सार्दै जाने प्रवृत्ति देखिएको नेता नेपालले बताए । ‘यसरी चल्ने हो भने पार्टी रहँदैन, अराजकहरुको भीड हुन्छ’ नेपालले युवा संघको बैठकमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment