Comments Add Comment

गोलमेचमा नजाने वैद्यको चेतावनी, यसरी भाँडियो बालुवाटार बैठक

Sammelan

  • सर्वदलीय राजनीतिक सम्मेलन हुँदै गरेको  संविधानसभा भवनको लोत्से हल । तस्वीरः अनलाइनखबर

३१ भदौ, काठमाडौं । नेकपा-माओवादीले आज हुने सर्वपक्षीय राजनीतिक सभामा सहभागी नहुने अडान लिएको छ । प्रमुख चार दलका शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफल असफल भएपछि गोलमेच सम्मेलन अन्योलमा परेको छ ।

यद्यपि कांग्रेस र एमालेका नेताहरु भने सम्मेलन गर्न भन्दै बालुवाटारबाट बानेश्वरतिर लागेका छन् । वैद्य माओवादीका नेताहरु भने पदाधिकारीको बैठक डाकेर छलफल गर्छौं भन्दै बालुवाटारबाट बुद्धनगर पार्टी कार्यालयतिर लागेका छन् ।

संविधानसभामा रहेका अधिकांश दलहरु बानेश्वरस्थित संविधानसभा भवनको लोत्से हलमा जम्मा भइसकेका छन् । एमाओवादी नेताले भने वैद्य माओवादी गोलमेचमा सहभागी नभए आफूहरु पनि सम्मेलनमा सहभागी नहुने बताएका छन् ।

किन भाँडियो बालुवाटार बैठक ?

एमालेका एक नेताले दिएको जानकारीअनुसार बालुवाटार बैठकमा बैद्य माओवादीले शान्ति प्रक्रियासहितका विषयलाई पनि सम्मेलनको एजेण्डा बनाउनुपर्ने माग गरेको थियो । तर, कांग्रेस र एमालेले असहमति जनाएपछि बैद्य माओवादीका नेताहरु सम्मेलनमा सहभागी नहुने भन्दै बाहिरिएका हुन् ।

कांग्रेस र एमालेका नेताहरुले बैद्य माओवादी कार्यदलमा संविधानका विषयमा मात्रै छलफल गर्न सहमत भएको तर, अहिले अर्को शर्त राखेको बताउँछन् ।’कार्यदलमा एउटा सहमति गर्ने अनि अहिले कहााबाट अर्को एजेण्डा थप्नु’-एमालेका एक नेताले अनलाइनखबरसँग भने ।

गल्ती कांग्रेस र एमालेकै हो : एमाओवादी

तर, एकीकृत माओवादीका एक शीर्षनेताले बैठक भाँडिनुमा कांग्रेस र एमालेका नेताहरुको दोष रहेको बताए । ‘गोलमेचमा संविधान निर्माणको एजेन्डामा मात्रै छलफल गर्न वैद्यजीहरु सहममत भएसकेका हुन्,’ एमाओवादी नेताले अनलाइनखबरसँग भने- ‘तर शान्ति प्रक्रियाका बाँकी एजेन्डाबारे चार दलमा छलफल गरिने छ भनेर लिखित माइन्युट गरौं भन्ने वैद्यजीहरुको आग्रह कांग्रेस एमालेले नमानेका कारण सहमति भाँडिन लागेको हो ।’

बैद्य माओवादीका नेताहरुले पदाधिकारी बैठक बसेर थप निर्णय गर्ने बताएका छन् । सर्वपक्षीय सम्मेलनमा सहभागी हुन भन्दै बैद्य माओवादीको मोर्चामा आवद्ध दलहरु बुद्धनगरमा भेला भएर बसेका थिए ।

वैद्यविनाको सर्वपक्षीय सम्मेलनले दुरी बढाउँछ

सर्वपक्षीय सम्मेलनमा सहभागी हुन दलहरु नयाँ बानेश्वरमा भेला भइसकेको भन्दै कांग्रेस र एमालेका नेताहरुले वैद्य माओवादी नआए पनि सम्मेलन गर्नुपर्छ भनेका छन् । तर, एमाओवादीका नेताले भने वैद्यको अनुपस्थितिमा सम्मेलन गर्दा अझ दुरी बढ्ने भन्दै त्यस्तो हुन नदिने बताए । यद्यपि सहमतिको खोजी भइरहेको एमाओवादी नेताले बताए ।

एमालेका एक नेताले भने पहिल्यै सहमति भइसकेको विषयबाट पछि हटेर वैद्य माओवादीले समस्या सिर्जना गरेको बताए । ‘उनीहरुको पार्टीभित्रै आन्तरिक लफडा परेजस्तो देखियो, विप्लवतर्फ लक्षित गर्दै एमाले नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment