Comments Add Comment

गोलमेच रद्द गर्नुअघि प्रधानमन्त्रीले वैद्यलाई सोधे – नआउने नै हो त ?

pm susil talk baidhya 1

३१ भदौ, काठमाडौं । बैद्य माओवादीको मोर्चा सहभागी नहुने भएपछि प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय राजनीतिक सम्मेलन स्थगित गरेका छन् ।

सम्मेलनका लागि दलका नेताहरु बानेश्वरस्थित संविधानसभाको लोत्सेहलमा पुगिसकेका थिए । तर, केहीबेरमा आउँछौं भनेका माओवादी नेताहरु नआएको भन्दै प्रधामन्त्रीले सम्मेलन रद्द गरिएको घोषणा गरे ।

प्रधानमन्त्रीले सम्मेलनस्थलबाटै माओवादी अध्यक्ष मोहन बैद्यलाई फोन गरेका थिए । फोन सम्वादमा उनले सम्मेलनमा नआउने निर्णयले आफूलाई एकदमै दुःखी बनाएको बताए । प्रधानमन्त्रीले फोन गरेको आवाज माइकबाटै सुनिएको थियो ।

प्रचण्ड, डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री वामदेव गौतमलाई दायाँ-वायाँ साक्षी किनारामा राखेर प्रधानमन्त्रीले बैद्यलाई फोन गरेका हुन् । सम्मेलनमा आएको भए सबै विषयमा खुल्ला छलफल गर्न सकिने प्रधानमन्त्रीले फोनबाटै वैद्यलाई भने । तर, बैद्यले के जवाफ दिए त्यो भने फोनमा अरुले सुन्न पाएनन् ।

यसअघि बालुवाटामा बसेको चार दलको बैठकमा सहमति नभएको भन्दै निस्किएका माओवादी नेताहरुले अन्तिम समयमा आएर सम्मेलनमा नजाने निर्णय गरेका हुन् ।

फेरि गोलमेच हुने  आधार छैन : मन्त्री आचार्य

प्रधानमन्त्रीले वैद्यसँग टेलिफोन वार्ता गरेलगतै शान्तिमन्त्रीसमेत रहेका कानूनमन्त्री नरहरि आचार्यले पत्रकारसँग कुरा गर्दै अब फेरि गोलमेच सम्मेलन नै नहुने संकेत गरे ।

narahari acharya

निर्वाचन बहिस्कार गरेर गल्ती गरेको बैद्य माओवादीको कुरा पनि संविधान निर्माणमा आओस् भनेर सर्वदलीय सम्मेलन गर्न लागेको भन्दै आचार्यले भने- ‘दुर्भाग्यवस हुन सकेन, यो ऐतिहासिक सन्दर्भ, जुन मौका उपलब्ध भएको छ, त्यो गएको छ ।’

सर्वदलीय सम्मेलनमा भएको छलफलको प्रतिवेदन बनाएर प्रधानमन्त्रीमार्फत संविधानसभा अध्यक्षलाई दिने र सम्वन्धित समितिमा पठाएर छलफल गराउने सरकारको तयारी रहेको उनले बताए ।  अब फेरि गोलमेच सम्मेलन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा मन्त्री आचार्यले भने-‘यस्तो सम्मेलनका बारेमा भन्न सकिने कुनै आधार छैन ।’

अब कति पर्खने भन्ने प्रतिप्रश्न गर्दै आचार्यले अगाडि भने-‘अहिले पनि प्रतिक्षा गरिरहेको छौं, कतिसम्म प्रतिक्षा गरौं ? ५ मिनेटमा आउँछौं भन्दा पनि प्रतिक्षा गर्‍यौं । तर, आधा घन्टासम्म्म आउनुभएन ।’

कानुनमन्त्री आचार्यले अब संविधानसभाले आफ्नो प्रक्रिया अनुसार काम अघि बढाउने र कार्यतालिका अनुसार जनताको राय सुझाव लिने बताए ।

सरकारको बचाऊ

बैद्य माओवादीले भनेअनुसार नै सरकारले सम्मेलनका लागि सबै काम गरेको भन्दै आचार्यले गोलमेच सम्मेलन सफल नहुनुमा सरकार दोषी नभएको दाबी गरे । आचार्यले भने- ‘कार्यदलको बैठक हुँदासम्म कुरा मिलेको थियो, हिजो शीर्षनेताहरुलाई बि्रफिङ गराउने बैठक थियो । हामीले आफ्नो बि्रफिङ गर्‍यौं । तर, उहाँहरुले नयाँ कुरा गरेर मान्नुभएन ।

अरु एजेन्डामा सहमति नभएको दाबी

शान्ति प्रक्रियाका बाँकी विषय र राष्ट्रिय राजनीतिका विषयमा समेत गोलमेचमा छलफल गर्नु पर्ने बैद्य माओवादीको मागमा सहमति नभएको मन्त्री आचार्यले बताए ।

‘शान्ति प्रक्रियाका विषयमा सरकार र दलहरुबीच बेलाबेला परामर्श लिन सक्छौं । बाँकी गर्दै पनि छौं, यो सम्मेलनको विषय यो होइन,मन्त्री आचार्यले भने ।’

निराश नबनौं, फेरि गोलमेच हुन्छ : गजुरेल

उता गोलमेच सम्मेलन बहिस्कार गरेको नेकपा- माओवादीले भने फेरि छलफल गरेर गोलमेच सम्मेलन हुने बताएको छ ।

‘एजेन्डा तय नभएकाले सर्वपक्षीय राजनीतिक सम्मेलन स्थगित भएको छ,’ आफ्नै पार्टी कार्यालयमा पत्रकारहरुका क्यामेरा सामु माओवादी उपाध्यक्ष सीपी गजुरेलले भने’, ‘तर, हामीले निराश भइहाल्नु पर्दैन, फेरि छलफल गरेर चाँडै सम्मेलन हुन्छ ।’

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment