Comments Add Comment

७१ दलका नेतालाई बनाएको खाना क-कसले खाए ?

susil-lunch-meating

३१ भदौ, काठमाडौं । मोहन वैद्यसँग टेलिफोनमा कुराकानी गरेपछि गोलमेच सम्मेलन रद्द गरेका प्रधानमन्त्री सुशील कोइराला संविधानसभाको ल्होत्से भवनबाट झोक्किँदै संसद सचिवालयको क्यान्टिनतिर लागे ।

प्रधानमन्त्रीको पछि-पछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री बामदेव गौतम, एमाओवादी नेता टोपवहादुर रायमाझी, गिरिराजमणी पोखरेल, फोरम लोकतान्त्रिकका बिजय गच्छदार र फोरम नेपालका उपेन्द्र यादव पनि क्यान्टिनतिरै लागे ।

गोलमेच सम्मेलन रद्द भए पनि प्रधानमन्त्रीले क्यान्टिनमै गोलमेच बनाउन लगाए । लामो प्लास्टिकको टेबुलका दुबैतिर कुर्सी राखिए । प्रधानमत्रीसँगै नेताहरु पनि गोलमेच जस्तै गरी दुबैतिर बसे ।

संविधानसभामा प्रतिनिधित्व गर्ने प्रायः सबै दलका नेताहरु प्रधानमन्त्रीको वरिपरि बसेपछि त्यहिँ शुरु भयो अनौपचारिक गोलमेच । सरल स्वभावका कोइराला झोक्किँदै थिए- यस्तो खेलाँची पनि हुन्छ ?

हृदयेश त्रिपाठी, कृष्ण सिटौला लगायतका नेताहरु ‘लन्च’ को लाइनमा बसे । त्यहीबेला प्रधानमन्त्रीलाई फोन आयो । मोबाइलमा हेलो भन्दै निस्किएका प्रधानमन्त्री ५ मिनेटपछि आफू बसेको ठाउँमा फर्किए ।

‘बैद्यको फोन हो, अब तपाईसँग के कुरा गर्ने भन्दिएँ’ वरिपरि रहेका नेताहरुलाई सुनाउँदै प्रधानमन्त्री कोइरालाले भने- ‘जसले मागेको हो, ऊ आफैं नआउने पनि हुन्छ दुनियाँमा ?

७३ दलका नेतालाई बनाएको खाना क-कसले खाए ?

गोलमेचका लागि सचिवालयले ७३ दलका नेताहरुका लागि तयार पारेको लन्च अन्ततः संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दल र दुई स्वतन्त्र सभासदले खाए ।

यही मेसोमा शान्ति मन्त्रालयले पत्रकार, कर्मचारी र सुरक्षाकर्मीहरुलाई पनि लन्च खुला गर्‍यो । प्रधानमन्त्री लन्चका लागि लाइनमा बसे । उनलाई अगाडि लैजान खोज्दा मानेनन् । ‘अघि बसेका मान्छेलाई मिचेर म कसरी लाइन मिच्न सक्छु ?’ उनले भने ।

पूर्वप्रधानमन्त्री माधव नेपालले निकै आग्रह गरेपछि उनले नेपालभन्दा अगाडि गएर खाना लिए । एक टुक्रा कुखुराको मासु, दाल, फर्सीको मुन्टा अनि दुई टुक्रा रोटी ।

क्यान्टिन सञ्चालकले गोलमेच सम्मेलनका लागि करीव ५ सय जनाका लागि दिवाभोज तयार पारिएको बताए । गोलमेच सम्मेलन नभए पनि गोलोमेचमा लन्च खाएर नेताहरु आ-आफ्नो गन्तव्यतिर लागे ।

बैद्य मोर्चाले गोलमेच बहिस्कार गरेकोमा प्रायः सबै नेताहरु उनलाई दोष दिइरहेका थिए । उपेन्द्र यादव भने-‘ठूलो मौका गुमाए बुढाले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment