Comments Add Comment

पोष्टबहादुरप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्ने हो भने….

प्रचण्ड, अध्यक्ष एमाओवादी

पोष्टबहादुर बोगटी इमान्दार, निष्ठावान, त्यागी र स्वच्छ छवि भएको नेता हुनुहुन्थ्यो भन्ने कुरा सिंगै देशले थाहा पाएकै कुरा हो । उहाँको निधनले हाम्रो पार्टी, आम नेपाली जनता, सबै राजनीतिक दलहरु स्तब्ध भएको स्थिति छ । यो शब्दमा ब्याख्या गर्न कठीन छ ।

मेरा लागि त भन्नुहुन्छ भने, अझै विशेष रुपले ०३९ सालदेखि उहाँ र मेरो सहकार्य सुरु भएको हो । ०७१ सालसम्म झण्डै ३२ वर्षको अवधि हामी निरन्तर आन्दोलनका, पार्टीका सबै उतारचढाव र मोढहरु पार गर्दै यहाँसम्म आयौं । जुन सम्बन्ध, विचार र भावनाको दृष्टिकोणले र पारिवारिक दृष्टिले पनि धेरै चुनौतीहरु र अग्नी परीक्षाहरु पार गरेर आएको स्थिति हो ।

सबै अप्ठ्याराहरुमा उहाँले पार्टी, राष्ट्र र आन्दोलनलाई केन्द्र विन्दुमा राखिरहनुभयो । नीति र नेतृत्वप्रति उहाँमा कहिल्यै पनि धरमर भएन । त्यसअर्थमा उहाँको निधनले हाम्रो पार्टीको ठूलो खम्बा ढलेको महसुस भइरहेको छ । सिंगो राष्ट्रको निम्ति र सिंगो प्रतिपक्षका लागि पनि इमान्दार र निष्ठावान नेता राष्ट्रले गुमायो भन्ने भएको छ ।

उहाँको निधनमा मलाई छोरीको मृत्युभन्दा पनि पीडादायी भयो भनेर मैले यो अन्तरहृदयको आवाज नै भनेको हुँ । पीडा त आफ्नो परिवार गुम्दा पनि हुन्छ नै । पोष्टबहादुर जीको पीडा देशको निम्ति, पार्टी र मेरो निम्ति अतुलनीय क्षती हो भन्ने लागेको हुनाले त्यस किसिमको पीडा बढी भयो र भइरहेको पनि छ ।

बाह्रबुँदे सम्झौतादेखि समग्र शान्ति सम्झौता, अन्तरिम संविधान निर्माणदेखि पहिलो संविधानसभाको निर्वाचन र आजसम्म पनि बाटो निक्कै चक्करदार हो । जनयुद्ध त सिधा सिधा देखिन्थ्यो । तर अहिलेको राजनीतिक छलफल बहस र संघर्षहरु निक्कै जटिल हुन् । धेरै मानिसहरुले अहिलेको यो संघर्ष्बाट भ्रमित हुने गर्छन् । कहिले दायाँतिर बढी ढल्कने, कहिले बायाँ तिर बढी ढल्कने र मूल बाटो पहिल्याउन पनि कठिन हुने अवस्था छ ।

यो चरणमा यस्ता अवस्थाहरु बन्छन् । तर, पोष्टबहादुर बोगटी द्वन्द्ववादी भौतिकवादी विचारलाई दह्रोसँग समात्ने नेता हुनुहुन्थ्यो ।

किसानबाट उठेको नेता, थोरै शिक्षा हासिल गरेको भए पनि उहाँले दर्शनमा, साहित्यमा, सौन्दर्यशास्त्रमा, राजनीतिक इतिहास, भुगोलको विषयमा निक्कै रुचिका साथ अध्ययन गर्नुहुन्थ्यो र दर्शनलाई दह्रोसँग समात्नु हुन्थ्यो ।

मानिसहरुले पत्याउँदैन थिए । सामान्य अध्ययन गरेको मान्छेले कति बुझेको होला भनेजस्तो ठान्थे । तर, उहाँको ब्याख्या सुन्ने हाम्रा पार्टीका नेता कार्यकर्ता र बाहिरकाहरु पनि प्रभावित हुन्थे ।

उहाँलाई स्मरण गर्ने, सम्मान व्यक्त गर्ने भनेको अतिवादबाट विचारलाई पार्टीलाई, राजनीतिलाई बचाउने हो । उहाँ कहिल्यै पनि अतिमा विश्वास गर्नु हुँदैन थियो । अहिले संविधान निर्माणको सन्दर्भमा पनि पोष्टबहादुर बोगटीको निधनले ठूलो क्षती भएको महसुस मैले गरेको छु ।

अहिले पोष्टबहादुरजीलाई देशले जुन सम्मान दिएको छ, जनताले जुन माया दिएको छ, त्यसबाट शिक्षा लिएर हामीले समयमा नै परिवर्तनकारी, जनताको अपेक्षा अनुकुलकै सविधान बनाउने कुरामा केन्दि्रत हुनुपर्दछ ।

पोष्टबहादुरप्रति सच्चा श्रद्धाञ्जली गर्ने हो भने ती परिवर्तनकारी एजेण्डाहरुमा, जहाँ उहाँले सबै आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्ने कुरा गर्नुभएको छ । त्यसलाई पुरा गर्ने नै हो । आन्दोलनका उपलब्धि, विभिन्न समूहसँग भएको सहमति र अघिल्लो संविधानसभामा भएका सहमतिकै आधारमा नै संविधान बनाउनुपर्छ भन्नेमा पोष्टबहादुरजीको जोड थियो ।

(पत्रकार ऋषि धमलाले प्रचण्डसँग गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment