Comments Add Comment

गोलमेच भत्कियो, अबको विकल्प के ?

Golmech

अरुण बराल

३१ भदौ, काठमाडौं । गत जेठदेखि गृहकार्य गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन मंगलबार अकस्मात् स्थगित भयो । अब नेपालको राजनीति कता जाला ? यो प्रश्न आम जनमानसमा गम्भीररुपमा उब्जिएको छ ।

प्रधानमन्त्री सुशील कोइराला आउँदो शुक्रबार अमेरिका जाने निश्चित भइसकेको छ । तर, विद्रोही नेता मोहन वैद्य अब कता जालान् ? अनिश्चितता छ ।

किन भएन गोलमेच ?

कसले गर्दा गोलमेच हुन सकेन भन्ने प्रश्न अब भूतप्रभावी बनेको छ । सत्तापक्षले गोलमेच नहुनुको दोष वैद्य माओवादीलाई लगाएको छ भने माओवादीले चाँहि कांग्रेस र एमालेको नियतमाथि प्रश्न उठाएको छ ।

कसले गर्दा गोलमेच हुन सकेन भनेर आरोप-प्रत्यारोपमा ध्यान दिनुभन्दा अबको भावी राजनीति कता जाला र कता जानुपर्छ भन्नेबारे विश्लेषण गर्नु अग्रगामी सोचाइ हुन सक्छ प्रमुख दलहरुका लागि ।

विवादका विषयहरु

पछिल्ला घटनाक्रमलाई हेर्दा गोलमेचमा एउटा एजेन्डामाथि छलफल गर्ने कि तीनवटामा गर्ने भन्ने विवाद थियो ।
वैद्य माओवादीले संविधान निर्माण, शान्ति प्रक्रिया र पीटीएलगायतका राष्ट्रियताका मुद्दा गरी तीनवटा एजेन्डामा छलफल गर्ने अडान राखेको थियो । सत्तापक्ष संविधान निर्माणमा मात्रै छलफल गर्न चाहन्थ्यो ।

चार दलको बैठकमा कांग्रेस र एमालेका नेताहरु तीनवटा एजेन्डामा छलफल गर्न सकिँदैन भन्दै उठिसकेको अवस्थामा एमाओवादी नेता नारायणकाजी श्रेष्ठले मध्यमार्गी उपाय खोजेका थिए ।

‘कांग्रेस र एमालेका नेताहरु बैठकबाट उठिसकेको अवस्थामा मैले उपाय सुझाएँ’ एमाओवादी उपाध्यक्ष श्रेष्ठ भन्छन्-‘संविधानको अन्तरवस्तुबारे गोलमेचमा छलफल गरौं, बाँकी दुई विषयमा चाँहि चार दलीय संयन्त्र बनाएर त्यहाँ छलफल गरौं भनेपछि यसैमा सहमति बनेको थियो ।’

चारद लका नेता सम्मिलित कार्यदलमा थप दुई एजेन्डाबारे लिखित माइन्युट गर्ने कुरा वैद्य पक्षले उठाएको तर कांग्रेस र एमालेका नेताहरुले माइन्युटमा जनाउन नमान्दा वैद्य माओवादी भड्किएको श्रेष्ठ बताउँछन् । ‘चारदलमा ती एजेन्डामाथि छलफल गर्न कांग्रेस र एमाले सहमत देखिए, तर माइन्युट गरौं न भन्दा उनीहरुले मान्दै मानेनन्,’श्रेष्ठले अनलाइनखबरसँग भने-‘कांग्रेस र एमालेका नेताहरुले त्यति मानिदिएको भए वैद्यजीहरु सर्वपक्षीय सम्मेलनमा सहभागी हुने थिए ।’

तर, कांग्रेस र एमालेका नेताहरुले भने गोलमेच हुन नसक्नुमा वैद्य माओवादीका नेताहरुको नियतै सही नभएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले भनेका छन्-वैद्यको नियतै खराब रहेछ । प्रधानमन्त्री सुशील कोइरालाले पनि जसका लागि चाहिएको उसैले सम्मेलनमा आउँदिन भनेको बताउँदै आक्रोश पोखेका छन् । प्रधानमन्त्रीले सबैका सामुबाट वैद्यलाई फोन गरेर गोलमेच स्थगित भएकोमा आफू दुखी बनेको बताएका थिए ।

के दुबै पक्ष गोलमेच चाहँदैनथे ?

सत्तापक्ष र प्रतिपक्षको माथापच्चिसी हेर्दा दुबै पक्षले गोलमेच गर्न नचाहेको देखिन्छ ।

 कांग्रेस, एमाले र छिमेकी शक्तिले समेत नेपालका माओवादी र एमाओवादीलाई समेत कर्नरमा पारेर आफू अनुकूलको संविधान लेख्न खोजेको आशंका प्रचण्ड र मोहन वैद्यहरुले गरेका छन् । यही कारणले सत्तापक्षले गोलमेच गर्न नचाहेको माओवादी र एमाओवादीको बुझाइ छ ।

विशेष गरी छिमेकी शक्तिले समेत कांग्रेस र एमालेलाई गोलमेच गर्न नदिएको प्रचारवाजी यतिबेला ३३ दलभित्र तीब्र बनाइएको छ ।  सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरुले भने मोहन वैद्यले गोलमेचको नारा दिएर संविधान निर्माण प्रक्रियालाई अल्मल्याउन चाहेको गुनासो गरेका छन् ।

तीन दिन अघि चार दलको बैठकमा गोलमेचको मितिबारे १२ घण्टाका लागि भएको विवादले पनि दुबै पक्ष गोलमेचप्रति इमान्दार नभएको स्पष्ट पारेको छ ।

गोलमेचको मोडालिटीको सवालमा सत्तापक्षको चाहना गोलमेचमा उठेका विषयलाई सुझावका रुपमा संविधानसभामा ‘इन्डोर्स’ गर्ने भन्ने थियो । वैद्य पक्षले चाहिँ सभामै लिखित सहमति गराएर यसलाई राजनीतिकरुपमा हल गर्ने सोचाइ बनाएको थियो ।

नेपाली राजनीतिका तीन सम्भावना

सत्तापक्ष गोलमेच नहोस् र प्रक्रियाबाटै बहुमतका आधारमा संविधान बनाउन सकियोस् भन्ने सोचाइमा देखिन्छ । माओवादीभित्रको एउटा तप्का चाँहि गोलमेचका नाममा संविधान निर्माण प्रक्रियामा मुछिन नचाहेको स्पष्टै देखिएको छ ।

यो अवस्थामा अब मुलुकको राजनीतिका तीनवटा सम्भावना देखिन्छन् :

पहिलो, माओवादी उपाध्यक्ष सीपी गजुरेलले भनेजस्तै संविधानसभामा रहेका दल र बाहिरका दलवीच पुनः सहमति भएर फेरि गोलमेच सम्मेलन हुन सक्ने झिनो सम्भावनालाई अस्वीकार गरिहाल्न सकिँदैन । तर, यो सम्भावना अब निकै कमजोर बनेको छ ।

दोस्रो, कानूनमन्त्री नरहरी आचार्यले भनेजस्तै अब गोलमेच सम्मेलन कहिल्यै नहुने र असोज १ गतेदेखि नै संविधानसभाले संविधान निर्माण प्रक्रियालाई अघि बढाउने सम्भावना छ ।

वैद्य माओवादीका नेताले विरोध गर्दै जाने र संविधानसभाले संविधान लेख्दै जाने स्थिति आउन सक्छ । वैद्य माओवादीको स्वर जति कमजोर हुन्छ, प्रक्रियाबाट संविधान बनाउन कांग्रेस एमालेलाई त्यति नै सहज हुनेछ ।

यो दोस्रो विकल्पतिर मुलुक अघि बढ्ने बलियो सम्भावना देखिएको छ । वैद्य माओवादी कमजोर र थिल्थिलो भएको छ । पार्टीभित्रै आन्तरिक विवाद चरम बनेको अवस्था छ । कांग्रेस र एमालेमा हामी एक्लै संविधान बनाउन सक्छौं भन्ने दम्भ देखिएको छ ।

तेस्रो, सम्भावना भनेको वैद्य माओवादी आन्दोलनमा उत्रने सम्भावना हो । वैद्य माओवादीले एमाओवादीसँग समेत मिलेर जनजाति र मधेसीलाई पनि आन्दोलनमा उतार्न प्रयत्न गर्ने तेस्रो सम्भावना छ ।

कांग्रेस र एमालेले पहिचानविरोधी संविधान बनाउन लागेको भन्दै दसैं तिहारलगत्तै उठाइने यस्तो आन्दोलनको राप कमजोर भयो भने संविधानसभाले प्रक्रियामै गएर संविधान बनाउने सम्भावना रहन्छ ।

तर, आन्दोलन प्रभावकारी भयो भने फेरि अर्को राजनीतिक सहमति भई सोहीअनुरुप संविधान निर्माण प्रक्रिया अघि बढ्ने अर्को सम्भावना रहन्छ । त्यो सम्भावना भनेको अर्को गोलमेच सम्मेलन पनि हुन सक्छ ।

तर, यो सम्भावना उत्पनन्न हुन्छ या हुँदैन भन्ने कुरा माओवादी, मधेसवादी र जनजातिको आन्दोलनको ‘भोल्युम’मा भर पर्छ । एमाओवादी वैद्यतिर ढल्किन्छ या संविधान निर्माण प्रक्रियामा लाग्छ भन्ने कुराले पनि आन्दोलनको दमलाई निर्धारण गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment