Comments Add Comment

दलित भएकै कारण शिक्षकले डेरा पाएनन्

१ असोज, जाजरकोट । एक्काइसौँ शताब्दीमा आएर पनि दलित भएकै कारण डेरा नपाएको सुन्दा अचम्म लाग्न सक्न सक्छ तर जाजरकोटको एक गाउँमा त्यस्तै भएको छ त्यो पनि शिक्षकमाथि ।

साउन महिनामा नयाँ नियुक्ति लिएर जिल्लाको पूर्वी क्षेत्रमा पर्ने थालारैकर-७ स्थित खड्ग देवी मावि लुटपाखामा कार्यरत शिक्षक शिवलाल नेपालीले दलित भएकै कारण बस्ने डेरा नपाएका हुन् ।

दलित भएकै कारण डेरा नपाएकाले दैनिक ८ घण्टा हिँडेर विद्यालयमा आउने/जाने गर्नु परेको शिक्षक शिवलालले जिल्ला शिक्षा कार्यालयमा आएर दुखेसो पोखे । लुटपाखाबाट शिक्षक शिवलालको घर ४ घण्टा टाढा रहेको छ ।

विद्यालयमा सबै अन्य शिक्षक कथित माथिल्लो जातको भएका कारण आफूले दिएको पानीसमेत नखाने गरेको उनको गुनासो छ । आफू दलित भए पनि योग्यता र क्षमताले गर्दा सो माविमा स्थायी नियुक्ति लिएर निमित्त प्रधानाध्यापक भएको र हामी दलितलाई निमित्त प्रअ स्वीकार गर्दैनौं भन्दै पठनपाठनमा समेत असर पुर्‍याइरहेको शिवलालको भनाइ छ ।

आफूलाई बस्न असजिलो भएको भन्दै अन्यत्र सरुवा गरिदिनसमेत जिल्ला शिक्षा अधिकारीसमक्ष अनुरोध गरेको उनले बताए । सो क्षेत्रका आरपी ईन्द्र आर सीले भने -“त्यहाँको वातावरण नै त्यस्तै छ पढेलेखेका युवा भए पनि आˆनो पुरानो कुरा छोड्दैनन् जसरी भए पनि काम त गर्नैपर्‍यो ।”

जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले समाज परिवर्तन गर्न आफैँ डटेर लाग्नुपर्ने बताए । जहाँ समस्या हुन्छ त्यहाँ उपायसमेत हुने भन्दै सकारात्मक सोच र विचारका साथ अगाडि बढ्न सकेमात्र त्यसको फल मीठो हुने श्रेष्ठको भनाइ छ ।

यस्तै दलित नेटवर्ककी पार्वती विकले शिक्षक नेपालीले जसरी भए पनि सोही विद्यालयमा गएर पढाउनुपर्ने बताइन् । यो त जाजरकोटमा प्रतिनिधिमूलक घटना मात्र हो । जाजरकोटका ग्रामीण भेगमा अझै पनि छुवाछूतको कारण अधिकांश दलितको अवस्था कठिनपूर्ण रहेको छ ।

दलित भन्नेबित्तिकै हेपी हाल्ने गर्नाले यहाँका दलित समुदायको प्रगति हुन नसकेको पाइन्छ । राम्रो लगाए, मीठो खाएमा समेत माथिल्लो जातका मानिसले होच्याएर बोल्ने, दुव्र्यवहार गर्नेलगायतका कार्य भइरहेको अधिकारकर्मी बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment