Comments Add Comment

‘ठूला माछा’ समात्न लोकमानलाई संसदीय समितिको निर्देशन

lokman-sing-karki

१ असोज, काठमाडौं । व्यवस्थापिका संसदको सुशासन अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्वाग्रह नराखी भ्रष्टाचार विरुद्ध काम गर्न निर्देशन दिएको छ ।

अख्तियारले ठूला भ्रष्टाचारीलाई छाडेर सानालाई दुःख दिएको, आस्थाका आधारमा कर्मचारीहरुलाई भ्रष्टाचारमा फसाएको जस्ता गुनासा आएका भन्दै समितिले बुधबार अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई समितिमा बोलाएर यस्तो निर्देशन दिएको हो ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई समितिको बैठकमा बोलाएर भ्रष्टाचार नियन्त्रणका लागि भएका कामहरुको जानकारी लिएपछि समितिका सभापति शेरधन राईले प्रतिशोधका हिसाबले काम नगर्न निर्देशन दिए ।

राईले बैठकपछि भने-अख्तियारले ठूला माछालाई छाडेर साना माछालाई समात्यो भन्ने कुरा समितिमा सभासदहरुले राख्नुभयो,प्रमुख आयुक्त कार्कीले साना ठूला कसैलाई पनि नछाड्ने बताउनुभएको छ ।

अख्तियारले कतिपय ट्रेड युनियन सम्बद्ध कर्मचारीहरुलाई आस्थाका आधारमा अख्तियारका मान्छेले फसाएको कुरा बैठकमा उठेको सभासद सुशीला नेपालले बताइन् ।
नेपालले अनलाइनखबरसँग भनिन्-देशमा अर्बौ, करोडौंका भ्रष्टाचारीहरु खुल्लेआम हिडेको अख्तियारले देख्दैन तर खरदार सुब्बालाई समातेर बहादुरी देखाइरहेको छ भन्ने कुरा हामीले राख्यौं ।

सभासदहरुको जवाफमा लोकमानले भ्रष्टाचारी साना वा ठूला नहुने भन्दै अख्तियारले पूर्वाग्रह नराख्ने प्रतिबद्धता जनाएका थिए ।

उनले अख्तियारले मन्त्रिपरिषदबाट हुने निर्णयको छानबीन गर्न नपाउने व्यवस्था भएकाले समस्या भएको बताएका थिए ।

समितिले नीतिगत भ्रष्टाचारलाई अख्तियारले अनुसन्धानको दायरामा नल्याएको भन्दै ऐनमा परिमार्जन गर्नुपर्ने भए त्यसका लागि आवश्यक तयारी गरेर समितिलाई बुझाउन निर्देशन दिएको सभापति राईले बताए ।

समितिका सदस्य अर्जुननरसिंह केसीले अख्तियार सानातिना कर्मचारीको पछि लागेको विषयमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त केशव बरालको ध्यानाकर्षण गराएका थिए ।

समितिले ठूला भ्रष्टाचारीहरुलाई कारवाहीको दायरमा ल्याउन र स्थानीय निकाय लगायत बढी भ्रष्टाचार हुने निकायमा केन्दि्रत हुन पनि अख्तियारलाई निर्देशन दिएको छ ।
अख्तियार पदाधिकारीले संसदीय समितिको निर्देेशन हुबहु पालना गर्ने भन्दै अख्तियारलाई अधिकार सम्पन्न बनाउनका लागि संसदले सघाउनुपर्ने बताएका थिए ।

समितिले अब अख्तियारको केन्द्रदेखि क्षेत्रीय कार्यालयहरुबाट भएका कामको अनुगमन गर्ने र त्यसका आधारमा थप निर्देशन दिने सभापति राईले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment