Comments Add Comment

‘वादविवाद प्रतियोगिता’ जस्तै बन्यो संविधानसभाको बैठक

१ असोज, काठमाडौं । संविधानसभाको बुधबार बैठकमा सभासदहरुले माघ ८ गते संविधान जारी नगर्ने हो भने गाउँ फर्किन नसक्ने भन्दै सहमतिका नाममा समय खेर फाल्न नहुने बताएका छन् ।
बुधवारको संविधानसभा बैठकमा संवैधानिक राजनीतिक सम्वाद सहमति समितिको प्रतिवेदनमाथि भएको छलफलमा बोल्ने अधिकांश सभासदले सहमति नभए प्रक्रियामा गएर भने पनि संविधानको मस्यौदा तयार पार्नुपर्ने बताए ।
माओवादी र मधेसी दलका सभासदले भने प्रक्रियाबाट भन्दा सहमतिबाटै संविधान बनाउनुपर्नेमा जोड दिए ।
प्रक्रियाबाट संविधान बनाउने कि सहमतिबाट भन्ने विषयमा सभासदहरुले ३/३ मिनेट आफ्ना कुरा राखिरहँदा संविधानसभाको बैठक विद्यालयको ‘वादविवाद प्रतियोगिता’ जस्तै देखिएको थियो । वादविवादको शीर्षक थियो, सहमति ठूलो कि प्रक्रिया ठूलो ?
एमाले सभासद अमृतकुमार बोहोराले संविधानसभा बाहिरबाट संविधान बनाउने प्रयास मान्य नहुने बताए ।
एमालेकै अर्का सभासद शेरवहादुर तामाङले संविधानसभाभित्रै बसेर सहमति खोज्न शीर्ष नेताहरुलाई आग्रह गरे । तामाङले भने-बरु यहीँभित्र चार पाँच दिन बसौं, यतै खाउँ यतै सुतौं तर सहमति नगरी बाहिर ननिस्कौं, संविधान बन्न सकेन भने सभासदहरु गाउँ नफर्के हुन्छ ।
नेपाल मजदूर किसान पार्टीकी सभासद अनुराधा थापाले संविधानसभाभित्र सहमति नभए प्रक्रियामा गएर संविधान बनाउनुपर्ने बताइन् ।
राप्रपा नेपालकी कुन्तीकुमारी शाहीले संविधानसभा नियमावली भन्दा बाहिर जान नहुने भन्दै प्रक्रियामा जानुपर्ने बताइन् ।
एमाओवादी र मधेशवादी दलका सभासदहरुले भने संविधान सहमतिबाटै बन्नुपर्ने भन्दै बहुमतीय प्रक्रियामा जान नहुनेमा जोड दिएका छन् ।
संविधानसभा बैठकमा छलफल चलिरहँदा एक सयकाे हाराहारीमा मात्रै सभासदहरू उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment