Comments Add Comment

वैद्यले भने- बहिस्कार गरेको संविधानसभामा ल्याप्चे लगाउन गएनौं

१ असोज, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले सर्वपक्षीय राजनीतिक सम्मेलनको विषयमा ‘मिडिया मालिक’हरुले गलत ढंगले प्रस्तुत गरेको आरोप लगाएका छन् ।

फाइल फोटो
फाइल फोटो

आफूले बहिस्कार गरेको संविधान सभामा ल्याप्चे लगाउनु पर्ने भएकाले गोलमेच सम्मेलनमा सहभागी नभएको माओवादी नेता वैद्यले स्पष्ट पारे ।

माओवादीको नेवाः तथा ताम्सालिङ् राज्य स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुधवार कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा उद्घाटन गर्दै माओवादी अध्यक्ष मोहन वैद्यले सर्वपक्षीय राजनीतिक सम्मेलन बारे आफूहरुको भनाइलाई मिडियामा फरक ढंगले प्रस्तुत गरिएको आरोप लगाए ।

‘तपाईहरु श्रमजीवी पत्रकारहरु हो, तर तपाईहरुका मालिकहरु अर्कै हुनुहुन्छ भन्ने लाग्छ,’ वैद्यले पत्रकारहरुसँग भने-‘दुःख नलागोस, हाम्रा भनाइहरुलाई जुन रुपले प्रस्तुत गर्नुपर्ने हो, त्यो रुपले प्रस्तुत गरिएन ।’

वैद्यले विधि र मोडालिटीका बारेमा कुरा मिल्न नसकेकै कारण आफूहरु सर्वपक्षीय राजनीतिक सम्मेलनमा भाग लिन नगएको बताए ।

संविधानका अन्तरवस्तु र विषयवस्तुका विषयमा पहिले नै राजनीतिक सहमति गर्नुपर्ने तथा सर्वपक्षीय राजनीतिक सम्मेलनलाई अधिकार सम्पन्न बनाउने भन्नेमा आफूहरुको जोड रहेको भए पनि राजनीतिक सम्मेलनलाई विचार गोष्ठीको रुपमा लिन खोजिएको वैद्यले आरोप लगाए । ‘विचार गोष्ठीजस्तो भयो, हामी विचार गोष्ठी गर्न आएका होइनौ,’ वैद्यले भने ‘पाँच-पाँच मिनेट बोल्न दिने र झारा टार्ने काम गर्न खोजियो, बहिष्कार गरेको संविधानसभामा ल्याप्चे लागाउन हामी सहमत भएनौं ।’

सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने विषयमा गएको जेठमा नै आफूहरुले ८ बुँदे प्रस्ताव प्रस्तुत गरिएको उल्लेख गर्दै वैद्यले सवै विषयमा लिखित गर्न समेत सरकार र चार दलले नमानेको आरोप लगाए ।

वैद्यले आफ्नो पार्टी शान्ति प्रक्रियाको मुख्य हिस्सेदार भएको दावी गर्दै संविधानसभा बहिष्कारको क्रममा थुप्रै कार्यकर्तालाई मुद्दा लगाइएको तथा जनयुद्धकालीन मुद्दाहरु ब्युँताउने कामहरु भएकाले ती सबै मुद्दाहरु खारेज गर्नुपर्ने आफूहरुको माग रहेको बताए । जनयुद्धकालीन मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप अयाोग बनाएर टुङ्गो लगाउने काम भए पनि त्यो समेत हुन नसकेको वैद्यले बताए ।

जनयुद्धको समयमा आफूले कब्जा गरेका जग्गाहरुकोबारेमा शान्ति प्रक्रियामा आइसकेपछि सरकारले स्वामित्व लिनुपर्नेमा त्यसबारेमा कुनै चासो नलिएको बैद्यले गुनासो गरे ।

चन्द पक्षबाट प्रशिक्षण बहिष्कार

नेकपा-माओवादीले पहिलोपटक आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सचिव नेत्रविक्रम चन्द विप्लव पक्षले भने बहिष्कार गरेको छ ।

केन्द्रीय सदस्य अनिल शर्मालाई गरिएको कारवाही फुकुवा नगरे सम्म पार्टीको कार्यक्रममा भाग नलिने भन्दै कार्यक्रम बहिष्कार गरेका हो । कार्यक्रममा चन्द पक्षका केन्द्रीय सल्लाहकार हस्तबहादुर केसी र अर्की केन्द्रीय सदस्य सरला रेग्मीको मात्रै उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment