Comments Add Comment

साथीको छातीमा चिया खन्याएर पीकेकी सभापति फरार

२ असोज, काठमाडौं । पद्मकन्या स्ववियुकी सभापति समेत रहेकी नेविसंघ नतृ स्वस्तिका पोखरेलले तातो चियाले आक्रमण गर्दा स्ववियु सचिव एन्जिला न्यौपाने घाइते भएकी छन् ।

anjila-neupane
पीडित एन्जिला न्याैपाने

सभापति पोखरेलले न्यौपानेको संवेदनशील अंगमा तातो चिया खन्याएपछि उनी अस्पताल भर्ना भएकी छन् । पोखरेलको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तातो चियाले पोलेर एन्जिलाको कुम र छातीमा पोल्दा घाउ भएको र संवेदनशील अंग समेत पोलिएको पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति रिना उप्रेतीले जनाएकी छन् ।

विद्यार्थी नेतृहरुबीच क्याम्पसभित्रै अनौपचारिक चियापान कार्यक्रममा विवाद बढ्दै जाँदा स्वस्तिकाले हातमा लिएको तातो चिया एन्जिलाको जिउमा खन्याइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते एञ्जिला सुशील कोइराला पक्षधर हुन् भने स्वस्तिका शेरवहादुर देउवा पक्षधर हुन् । स्वस्तिका पक्षको आक्रमणबाट शोभा भण्डारी, रुपा पोखरेल र पवित्रा गौडेल पनि घाइते भएका छन् ।

नेविसंघको महाधिवेशन स्थगित भए पनि पद्मकन्या क्याम्पसको इकाइ अधिवेशनको विवादका कारण उक्त घटना भएको नेविसंघ स्रोतले जनाएको छ ।

नेविसंघ इकाइले आयोजना गरेको चियापान कार्यक्रममा स्वस्तिकासहितको टोलीले आफूहरुले बोल्न पाउनुपर्ने भन्दै निहुँ झिकेर आक्रमण गरेको नेविसंघ केन्द्रीयसदस्य समेत रहेकी न्यौपानेले बताइन् ।

न्यौपानेले अनलाइनखबरसँग भनिन्- ‘म त केन्द्रीय सदस्यको हैसियतले बहिनीहरुले बोलाएर चियापानमा गएकी थिएँ, उनीहरु आक्रमणमै उत्रिए ।’

आक्रमणकारी विरुद्ध प्रहरी वृत्त कमल पोखरीमा जाहेरी दिएको न्यौपानेले बताइन् । स्वस्तिका फरार रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुले स्वस्तिका पोखरेलसहित उनी पक्षधर विद्यार्थी नेतृहरु रमा थापा, कौशिला भट्ट, प्रिती केसी, उर्मिला बस्नेत, निसम्मा सुब्बा विरुद्ध किटानी जाहेरी दिएका छन् ।

यो घटनाको जानकारी पार्टी र नेविसंघ केन्द्रीय समितिमा गराइएको र उनीहरुमाथि अनुशासनको कारवाही हुनुपर्ने न्यौपानेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment