Comments Add Comment

दश राजदूतका लागि क-कसको दौडधूप ?

२ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफू अमेरिका जानुअघि नै बाँकी १० देशमा राजदूत नियुक्तिका लागि सत्ता साझेदार नेकपा एमालेसँग छलफल चलाएका छन् ।

सरकारले ६ देशका लागि परराष्ट्रका सहसचिवहरुको नाम सिफारिस गरेर संसदीय सुनुवाइ विशेष समितिमा पठाइसकेको छ । अब बाँकी १० देशका लागि दुई दलले भागबण्डा गरेर राजनीतिक नियुक्ति गर्ने भएका छन् ।

प्रधानमन्त्रीले भारत, अमेरिका र बेलायतमा कांग्रेसको कोटाबाट नियुक्त गर्न खोजेका छन्

प्रधानमन्त्रीले विहीबारकै मन्त्रिपरिषद बैठकबाट दश राजदूतको नाम सिफारिस गर्न चाहेको स्रोतले जनाएको छ ।

पराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत नियुक्तिको मापदण्ड बनाएर आफूले दिइसकेको भन्दै दलहरुले सहमति गरे राजदूत नियुक्तिमा कुनै अड्चन नरहेको बताए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले भारत, अमेरिका र बेलायतमा कांग्रेसको कोटाबाट नियुक्त गर्न खोजेका छन् । उनले एमालेलाई तीन र कांग्रेसलाई सात राजदूत बाँड्ने प्रस्ताव राखेपछि एमालेले ठाडैं अस्वीकार गरेको छ ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी एमालेका पाण्डेले लिएका बेला एमालेले आधा आधा भन्दा तल र्झन नसक्ने सन्देश प्रधानमन्त्रीलाई दिएको छ ।

भारत, बेलायत र अमेरिकाको विवाद

भारत कांग्रेसले पाउने हो भने अमेरिका वा बेलायत आफूले पाउनुपर्ने एमालेले अडान लिएको छ । ‘आधा आधासम्म मिल्न सक्ला, त्यो भन्दा र्झन सकिदैन’ एमालेको एक पदाधिकारीले भने ।

भारतमा प्रधानमन्त्रीले कांग्रेस नेता दिपकुमार उपाध्यायलाई राजदूत बनाएर पठाउने मनसाय व्यक्त गरेका छन्

स्रोतका अनुसार भारतमा प्रधानमन्त्रीले कांग्रेस नेता दिपकुमार उपाध्यायलाई राजदूत बनाएर पठाउने मनसाय व्यक्त गरेका छन् । उपाध्याय गत संविधानसभा निर्वाचनमा कपिलबस्तु १ मा पराजित भएका थिए ।

त्यस्तै कांग्रेसबाट राजदूत हुने चर्चामा रहेकाहरुमा दिपकुमार उपाध्याय बाहेक प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई पनि छन् ।
कोको छन् चर्चामा ?

त्यस्तै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य, शम्भुराम सिम्खडा, पूर्व राजदूत सुरेश चालिसेले पनि कांग्रेस नेताहरुसँग लबिङ तीब्र पारिरहेका छन् ।
यी बाहेक अन्य केही पूर्व सचिवहरु, कुटनीतिक र नेता निकटका प्रभावशालीहरुले पनि राजदूत बन्न घरदैलो गरिरहेका छन् ।

एमालेमा राजदूत कसलाई बनाउने भनेर पार्टीमा औपचारिक कुनै छलफल नभएको केन्द्रीय सदस्य राजन भट्टराईले बताए ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य, शम्भुराम सिम्खडा, पूर्व राजदूत सुरेश चालिसेले कांग्रेस नेताहरुसँग लबिङ तीब्र पारिरहेका छन्

स्रोतका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा काम गरेका अर्जुन कार्की, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी पूर्व अधिकारी अन्जान शाक्य लगायतको नाम चर्चामा छ ।

अध्यक्ष ओली निकटका कैलाश ढुंगेल, प्राध्यापक चैतन्य शर्मा, रमेश सिलवाल, नारद वाग्ले लगायतले पनि राजदूतका लागि लबिङ गरेका छन् ।

अब कहाँ खाली ?

अब भारत, अमेरिका, बेलायत, जर्मनी, इजिप्ट, कतार, श्रीलंका, ब्राजिलमा, बहराइन र ओमानमा राजदूत खाली छन् ।

एमाले र कांग्रेसबीच भागबण्डाको कुरा मिल्नासाथ महिला, जनजाति र मधेशी समेत मिलाएर नियुक्त गरिने स्रोतले जनाएको छ ।

भारत, अमेरिका, बेलायत, जर्मनी, इजिप्ट, कतार, श्रीलंका, ब्राजिलमा, बहराइन र ओमानमा राजदूत खाली छन्

यसअघि अन्य ६ मुलुकमा राजदूत सिफारिस भइसकेका छन् । बैंककमा खगनाथ अधिकारी, फ्रान्समा अम्बिका लुइटेल, दक्षिण अफ्रिकामा अमृत राई, क्यानाडामा कालिप्रसाद पोखरेल, कुवेतीमा यज्ञ हमाल र जेनेभामा दिक धिताल सिफारिस भएका छन् । उनीहरुको संसदीय सुनुवाई हुदैछ ।

अर्जुनको खड्गो टर्‍यो 

यसैबीच दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको महासचिव फेर्ने एमालेको प्रयास प्रधानमन्त्री कोइरालाका कारण असफल भएको छ ।
एमालेले सार्कका महासचिव अर्जुनवहादुर थापा असक्षम भएको भन्दै उनलाई हटाएर अर्जुन कार्कीलाई नियुक्त गर्न खोजेको थियो ।

तर, प्रधानमन्त्री कोइरालाले नेपालले २४ वर्षपछि पाएको महासचिव हटाउँदा गलत सन्देश जाने र सार्क सम्मेलन पनि मुखमै आएकाले यस्तो निर्णय गर्न नसक्ने बताएको एमाले स्रोतले जनाएको छ ।

एमाओवादी कोटाका राजदूतहरु चीनमा महेश मास्के, दक्षिण कोरियामा कमानसिंह लामा, बेल्जियममा राममणि पोखरेल र रुसमा रवि सापकोटा छन्

अर्जुन थापालाई हटाएर अर्जुन कार्कीलाई महासचिव बनाउन एमालेका तीनैजना शीर्ष नेताहरु केपी ओली, झलनाथ खनाल र माधव नेपालले प्रधानमन्त्रीलाई दबाब दिएका थिए । परराष्ट्रमन्त्री पाण्डेले समेत थापालाई रुचाएका छैनन् ।

कोइरालाको भनाई उधृत गर्दै एक एमाले नेताले भने-सार्कको महासचिव थापा गतिला मान्छे होइनन् भन्ने मलाई पनि थाहा भयो तर अहिले हटाउदा राम्रो सन्देश जादैन, यो च्याप्टर यहि क्लोज गरौं ।

एमाओवादीलाई नचलाउने

एमाओवादीको कोटामा राजदूत बनेकाहरुलाई फिर्ता नबोलाउने तर उसलाई अहिलेको भागबण्डामा ठाउ नदिने सहमति सत्तारुढ दलहरुबीच छ ।
हाल एमाओवादी कोटाका राजदूतहरु चीनमा महेश मास्के,दक्षिण कोरियामा कमानसिंह लामा, बेल्जियममा राममणि पोखरेल र रुसमा रवि सापकोटा छन् ।

एमाले कोटाबाट राजदूत बनेकामा साउदी अरेबियामा उदयराज पाण्डे छन् । कांग्रेसको कोटाबाट भने अहिले कुनै पनि देशमा राजदूत नभएको भन्दै कांग्रेसले बढी भाग खोजेको एमाले स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment