Comments Add Comment

आगामी वर्ष ३१ डिलक्स रुम थप्दै गोदावरी भिलेज रिसोर्ट

Godawari-Resort

नविन अर्याल

२ असोज, काठमाडौं । ललितपुरमा सञ्चालित गोदावरी भिलेज रिसोर्टले आगामी वर्षभित्र क्षमता वृद्धि गरी रुमहरु सय पुर्‍याउने भएको छ । हाल ६९ रुमबाट सेवा सञ्चालन गरिरहेको रिसोर्टले ३१ रुमहरु थप गर्न लागेको हो ।

‘सन् २०१५ को पर्यटकीय सिजनसम्म रिसोर्टका रुमहरु सय पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ’ रिसोर्टका बिक्री तथा बजार प्रबन्धक सुशीलकुमार अर्यालले भने- ‘रिसोर्ट सञ्चालनमा ल्याउँदा रुमहरु सय पुर्‍याउने लक्ष्यअनुसार क्षमता अभिवृद्धि गर्न लागिएको हो ।’

होटलले सुविधासम्पन्न डिलक्स रुमहरु थप गर्न लागेको हो । अहिले होटलमा ५० वटा डिलक्स रुमहरु रहेका छन भने १९ वटा स्वीट रुमहरु रहेका छन् । रिसोर्टको क्षमता अभिवृद्धि गर्न यति नै खर्च गर्ने भनेर जानकारी नदिएपनि ग्राहकको माग र आवश्यकता अनुसार लगानी गर्ने बताइएको छ ।

रिसोर्टले ग्राहकहरुलाई दिने सेवा-सुविधामा कुनै सम्झौता नगर्ने बताएको छ । सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ६ वटा कटेजहरु रहेका छन । जहाँ २९ वटा रुमहरु रहेका छन् भने बाँकी रुमहरु मूख्य भवनमा रहेका छन् ।

राजनीतिक दलका गोप्य मिटिङदेखि कर्पोरेट हाउस, एनजिओ, आइएनजिओका सभा-सेमिनारका लागि प्रसिद्ध गोदावरी भिलेज रिसोर्ट इको फ्रेन्ड्ली रहेको छ । रिसोर्टमा पुग्ने जो केही पनि त्यहाँको संरचना र वातावरणबाट मोहित हुन्छन् ।

प्रबन्धक अर्यालका अनुसार रिसोर्टमा ६ वटा कन्फ्रोरेन्स हलहरु रहेका छन, जहाँ १० जनादेखि २ सय जनासम्म अटाउँछन् । सातदोबाटोबाट करिव ७ किलोमिटरको दुरीमा रहेको रिसोर्टले ‘कर्पोरेट’ तथा ‘हाइ प्रोफाइल कष्टमर’लाई सेवा दिइरहेको छ ।

सुविधाहरु

रिसोर्टले क्षमता अभिवृद्धिका साथै सेवा-सुविधाहरु समेत बढाउन थालेको छ । तीन महिनाभित्र योगा, स्पा, नेचुरल थेरापी, टेनिस लगायतका सुविधाहरु थप गर्दै हेल्थ क्लब सञ्चालन गर्ने प्रबन्धक अर्यालले जानकारी दिए ।

Godavari-resort

अहिले रिसोर्टमा स्वीमिङ पुल, साउन, ज्याकुजी, फिटनेस सेन्टर लगायतका सुविधाहरु रहेका छने । रिसोर्ट पिकनिकका लागि समेत प्रशिद्ध रहेको छ । ‘विभिन्न कर्पोरेट हाउस तथा एनजिओ आइएनजिओबाट पिकनिकका लागि यहाँ आउने गरेका छन्’ अर्यालले भने- ‘एक पटक बैंकबाट पिकनिक आएको ८ सय जनाको टोलीलाई हामीले व्यवस्थापन गरेका थियौं ।’

बन्दले ‘गुडविल’मा धक्का

मजदुर आन्दोलनका कारण रिसोर्ट ७७ दिन बन्द हुन पुगेको थियो । बन्दले रिसोर्टको कारोबारमा भन्दा पनि ठूलो ‘गुडविलमा धक्का पुगेकोे होटलका सहायक प्रबन्ध निर्देशक प्रविण आचार्यले गुनासो गरे ।

होटल व्यवस्थापन र मजदूर युनियनबीच सहमति भएपछि यहि हप्तादेखि रिसोर्ट सञ्चालनमा आएको हो । बन्दका कारण करिव ३ करोड रुपैयाँ बराबरको कारोबार गुमाउनु परेको प्रबन्धक अर्यालले जानकारी दिए । रिसोर्ट व्यवस्थापनका अनुसार महिनामा ८० देखि ९० लाख रुपैयाँसम्मको कारोबार हुँदै आएको थियो ।

रिसोर्टमा झण्डै डेढसय नेपाली कर्मचारी कार्यरत रहेका छन् । कर्मचारीको चित्त बुझ्ने गरी सहमति भएको बताउँदै सहायक प्रबन्धक निर्देशक आचार्यले आगामी दिनमा बन्दको गुञ्जायस नहोस भन्ने कामना गरेको बताए ।

अन्य प्रभाव

बन्दले दीर्घकालीन प्रभाव पारखेको आचार्यको गुनासो छ । ग्राहकहरु एक पटक बन्द भएको रिसोर्ट फेरी पनि बन्द भएको हुनसक्छ भनेर कन्ट्याकमा रहन चाँहदैन् । बन्दको आवधिमा अन्य प्रतिस्पर्धीहरुले ग्राहकहरु समेत तानिसकेका हुन्छन् ।

‘बन्द भएको समय पर्यटकले बुकिङ लिने समय हो’ सहायक प्रबन्ध निर्देशक आचार्यले भने- ‘अक्टोबरदेखि पर्यटकीय सिजन सुरु हुँदैछ, अहिलेसम्म एउटा पनि बुकिङ छैन् ।’ उनले गुमेको गुडविल परिपूर्ति गर्न अब विभिन्न प्याकेजहरु ल्याउने समेत जानकारी दिए ।

होटल खुलेको म्यासेज आमजनतामा पुगेमा पुनः बुकिङ सुरु भइहाल्ने विश्वास होटल व्यवस्थापनले लिएको छ ।

आफ्नै उत्पादन प्रयोग

होटलले केही परिमाणमा तरकारी तथा फलफुलहरु आफै उत्पादन गर्ने गरेको बताएको छ । ‘हाम्रो आफ्नै करेसा बारी रहेको छ, जहाँ विभिन्न प्रकारका तरकारीहरु उत्पादन गर्छौं’ प्रबन्धक अर्यालले भने- ‘सबै माग थेग्न नसकेपनि केही माग आफ्नै उत्पादनबाट परिपूर्ति हुन्छ ।’

Godavari-resort-2

सिजनको बेला सुन्तलाको माग आफ्नै उत्पादनले थेग्ने गरेको बताइएको छ । कसैले अर्गानिक खानाको अर्डर गरेमा आफ्नै उत्पादन उपलब्ध गराउन सक्ने रिसोर्ट व्यवस्थापनको दाबी छ ।

दशैंतिहार प्याकेज

रिसोर्टले ग्राहकहरुलाई आकषिर्त गर्न दशैंतिहारमा ‘फेष्टिवल’ गर्ने भएको छ । एक महिनासम्म चल्ने फेष्टिवलमा चङ्गा चेट तथा लिंगे पिङ विशेष आकर्षणका रुपमा रहने छ । फेष्टिवलको अवसर पारेर रिसोर्टले आकर्षक प्याकेजसमेत ल्याउन लागेको छ ।

प्याकेजमा रिसोर्टले घटस्थापनादेखि भाईटिकासम्म प्रत्येक जोडीलाई ३ हजार ९ सय ९९ रुपैयाँमा रुम उपलब्ध गराउने भएको छ । यसमा ब्रकेफाष्ट इन्क्ल्यूड रहनेछ । रिसोर्टले स्वदेशी विदेशी दुबैलाई एउटै मूल्यको प्याकेज उपलब्ध गराउने जनाएको छ ।

बन्दपछि बजारमा म्यासेज पठाउन प्याकेज ल्याएको होटल व्यवस्थापनले बताएको छ । विस्तारै अन्य प्याकेजहरु समेत ग्राहकसामु ल्याएर गुमेको गुडविल फिर्ता ल्याउने लक्ष्य रहेको होटल व्यवस्थापनले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment