Comments Add Comment

दिल्लीमा नेपालका दुई ठूला छिमेकीको गठबन्धन

modi-with-Xi-Jinping‬

२ असोज काठमाडौं । विश्व अर्थतन्त्रमा शक्तिराष्ट्रका रुपमा उदीयमान चीनका शक्तिशाली राष्ट्रपति सी जिन पिङ यतिबेला दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कूटनीतिक पाहुना बनेका छन् ।

नेपालका दुई छिमेकीवीच भइरहेको भइरहेको छलफल र सहकार्यले विश्व राजनीति र दक्षिण एशियाका साथै नेपाललाई पनि प्रभाव नपारी रहन सक्दैन ।

भारतीय पत्रकार सिद्धार्थ वरदाजनले सीको भारत भ्रमणबारे विश्लेषण गर्दै नेपालको सन्दर्भ उल्लेख गरेका छन् । वरदराजनले नेपाल, बंगलादेश, श्रीलंका र म्यानमारमा चीनको उपस्थितिलाई लिएर भारतमा हुँदै आएको आलोचनाबारे मोदीले चिनियाँ राष्ट्रपतिलाई आश्वस्त पार्नुपर्ने स्थितिको अनुमान गरेका छन् ।

भारत-चीन सम्बन्धका केही चुनौती

चिनियाँ राष्ट्रपतिको भारत भ्रमणसँगै भारतीय सञ्चार माध्यममा चीन-भारत सम्बन्धबारे सघन विश्लेषण सुरु भएको छ ।

चिनियाँ मिडियाले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तित्वको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । मोदी बलिया, व्यवहारिक र वुद्धिमान नेता रहेको चिनियाँ अखबारको विश्लेषण छ । चिनियाँहरु ‘साइलेन्स डिप्लोम्यासी’ मा अब्बल मानिन्छन् ।

भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको भ्रमण सकेका छन् । जापान र चीन एक-अर्काका शत्रुजस्तै मानिन्छन् । मोदीले जापान भ्रमण सकेलगत्तै चिनियाँ राष्ट्रपतिको भारत भ्रमणले खास अर्थ राख्ने विश्लेषकको ठम्याइ छ ।

जापानका १ सयवटा कम्पनीले भारतमा लगानी गर्न चाहेका छन् । ५० वटा जापानी कम्पनीले कामसमेत अघि बढाइसकेका छन् । भारतको अहमदावादमा जापानले लगानीकर्ताको संगठन ‘जेट्रो’ स्थापना गरेको छ ।
चीनका लागि भारत र जापानवीच बढ्दो मित्रता निकै ठूलो चुनौती बन्न सक्छ ।

चीनको उदीयमान शक्तिबाट चिन्तित रहेको अमेरिकाले पूर्वी एशियामा जापानसँग मित्रता बढाउन र चीनलाई घेरा हाल्न चाहन्छ । यही बेला जापान र भारतको सम्बन्ध सुध्रनु चीनका लागि पक्कै पनि सुखद विषय नहुन सक्छ । तर, यो अमेरिकाका लागि भने निकै सुखद घटनाक्रम हो ।
शायद यही भएर चीनले भारतमा जापानको भन्दा बढी लगानी गर्दैछ । जस्तो कि चीनले भारतलाई २० अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग दिँदैछ । चीनले भारतमा चिनियाँ भाषा पढाउन ५ सय शिक्षक पठाउने भएकाे छ ।
विश्वमा दोस्रो ठूलो जनसंख्या रहेको भारत चीनका लागि सबैभन्दा ठूलो. र सहजको बजार हो । यो बजारलाई गुम्न नदिनु चीनका लागि जरुरी छ ।

रोचक त के छ भने नेपालजस्तै श्रीलंका र मालदिभ्समा पनि चिनियाँ प्रभाव बढिरहेको छ भन्ने भारतीयहरुमा चिन्ता देखिन्छ ।

भारतीय विश्लेषकको दाबी के छ भने मालदिभ्सको माले विमानस्थल चीनको कमाण्डमा छ । मालदिभ्स शांघाई कर्पोरेसन अर्गनाइजेसनमा आवद्ध हुन चाहन्छ । यसवापत उसले सार्कमा चीनको भूमिकालाई बढाउने आश्वासन दिएको भारतीयहरुको तर्क छ ।

भारत र चीनको सम्बन्धमा चिसोपन ल्याउने अर्को देश भियतनाम पनि हो । हालै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले हनोईको भ्रमण गरेका छन् । यसक्रममा ‘साउथ चाइना सी’ मा तेल उत्खननका लागि भियतनाम र भारतवीच सहकार्य गर्न सहमति भएको छ ।

हनोई र दिल्लीवीचको यस्तो सहमतिलाई बेइजिङले खुलेरै विरोध गरेको छ । अघिल्लो वर्ष भियतनामले यो सहमति चीनसँग गरेर फिर्ता लिएको हो ।

त्यसो त भियतनाम र चीनवीच हिन्द महासागरको केही भागलाई लिएर विवाद पर्ने गरेको भारतले राम्रोसित बुझेको छ । भियतनामसँग भारतको बढ्दो व्यापारिक सम्बन्धसँग चीन उतिसाह्रो खुशी छैन ।

भियतनामसँग विवाद बढे पनि चीनका लागि जरुरी मानिने हिन्द महासागरको व्यापारिक मार्गमा चीनलाई प्रवेश गराउन मालदिभ्सले चीनलाई मद्दत पुर्‍याइरहेको भारतीयहरुको बुझाइ छ ।

उता पाकिस्तानलाई भारतमाथि दबाव दिनका लागि चीनले प्रयोग गर्दै आएको र पाकिस्तान र चीनवीचको सम्बन्ध राम्रो रहेको भारतीय विश्लेषण रहँदै आएको छ ।

दुई देशवीचको सीमा विवाद, विगतमा भएका युद्धहरुको प्रभाव, भाषा र संस्कृतिको दुरी आदि कारणले पनि दुई देशको सम्बन्धमा चीसोपन ल्याउने गरेको छ । दलाई लामालाई भारतले दिँदै आएको आश्रय चीनको अर्को चिन्ताको विषय हो ।

नेतृत्वको लडाइँ

यो कुरामा कुनै संशय छैन कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एशियाको क्षेत्रीय नेता बन्न चाहन्छन् । तर, भारतीय प्रधानमन्त्रीको यो बाटोमा विश्वशक्ति बन्न लागेको चीन चुनौतीको पहाड बन्न सक्छ ।

भारत र चीनमध्ये को नेता बन्ने भन्ने होडबाजीको उदाहरण बि्रक्सलाई पनि लिन सकिन्छ । ब्राजिल, रुस, चीन, भारत, र दक्षिण अफि्रका मिलेर बनेको बि्रक्समा चिनियाँ नेतृत्व हस्तक्षेपकारी भूमिकामा देखिन्छ । यद्यपि भारत त्यसमा आफ्नो भूमिका प्रभावकारी बनाउन चाहन्छ ।

सार्कलाई भारतले आफ्नो नेतृत्वमा चलाउन चाहन्छ भने चीनले पनि त्यसमा पर्यवेक्षकको रुपमा भए पनि आफ्नो उपिस्थति सक्रिय बनाउनुपर्ने महसुस गरिसकेको छ ।

अफगानिस्तान, अफि्रका र दक्षिण एशिया एवं दक्षिणपूर्वी एशियाका विभिन्न देशहरुमा भारत र चीनवीच व्यापारिक एवं सामरिक प्रतिस्पर्धा तीब्र बन्दै गइरहेको छ । एक जमानामा आफ्नो पकटमा रहेको श्रीलंका, बंगलादेश, मालदिभ्स दादि देशमा भारतको पकट क्रमशः खुकुलो बन्दै गइरहेको छ भने ती देशमा चीनको प्रभाव बाक्लिँदो छ ।

मिल्दा हुने फाइदाको खोजी

दक्षिण एशियाका दुई शक्ति राष्ट्र चीन र भारतले दुई देशवीचका भिन्नता मात्रै होइन, आपसमा मिल्दा हुन सक्ने फाइदाहरुको पनि राम्रैसँग आँकलन गरेका छन् ।

पर्यावरण र डब्ल्युटीओ मार्फत् पश्चिमाहरुले भारत र चीन दुबै देशलाई समानखालको तनाव दिएका छन् । भारतले विगतमा डब्ल्युटीओमा लगेको प्रस्ताव चीनको समर्थन नहुँदा असफल भयो ।

यो घटनाप्रति दक्षिण एशियाका यी दुई शक्तिराष्ट्र आपसमा मिल्दामात्रै संसारको नेतृत्व गर्न सकिन्छ भन्ने ठम्याइ मोदी र सी जिनपिङ दुबैले बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment