Comments Add Comment

भित्री सहरमा सवारी साधन जान निदइने

३ असोज, काठमाडौं । शनिबारदेखि काठमाडौं भित्री सहरका आठ ठाउँमा दिनको केही समय सवारी साधन निषेध गरिने भएको छ । ‘विश्व काररहित दिवस’का अवसरमा काठमाडौं महानगरपालिकाले यस्तो कार्यक्रम सात दिनका लागि ल्याउन लागेको हो ।

महानगरपालिकाका अनुसार पहिलो दिन शनिबार जनबहाल तथा किलागल बिहान सातदेखि बेलुका सात, आइतबार बसन्तपुर बिहान सातदेखि बेलुकी सातबजेसम्म, सोमबार ठमेलको सातघुम्ती दिउँसो १ बजेदेखि बेलुकी आठबजेसम्म सवारी साधनलाई निषेध गरिने छ ।

त्यस्तै मंगलबार टेकु दोभानदेखि कालमोचनघाट बिहान सातदेखि बेलुकी सातबजेसम्म, फेरि बुधबार बसन्तपुर बिहान सातदेखि बेलुकी सात, बिहीबार भगवानबहाल दिउँसो १२ देखि साँझ पाँच, शनिबार दरबारमार्ग दिउँसो एक बजेदेखि राति आठ र सोही दिन बसन्तपुर बिहान सातदेखि बेलुकी सातसम्म सवारी निषेध गरिने नागरिकमा खबर छ ।

‘साना सहरमा सवारीबिना बाँच्न सकिन्छ वा सकिँदैन भन्ने देखाउनका लागि हो,’ महानगरपालिका सम्पदा शाखाकी अधिकृत श्रजु प्रधानले भनिन्-‘भित्री सहरमा नियमित कामका लागि सबैलाई सार्वजनिक सवारी चढेर आउन अनुरोध गर्दछौं ।’

यस कार्यले भित्री सहरमा भएका संस्कृतिक स्थान बहाल, सत्तल, पार्टी, मन्दिर लगायतको पहिचानमा सहयोग हुने उनले बताइन् । साना र साँघुरा सडकमा सवारी गुड्दा यसले दुर्घटना खतरा वातावरण प्रदूषण, मौलिक सम्पदाको ह्रास तथा सामाजिक जीवनशैलीमा नकारात्मक प्रभाव पनि बढ्दै गएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment