Comments Add Comment

प्रचण्डलाई भारतीय गृहमन्त्री राजनाथको ‘डिप्लोम्याटिक थ्रेट’

rajnath with prachanda  (2)

३ असोज, काठमाडौं । सार्कका गृहमन्त्रीहरुको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय गृहमन्त्री राजनाथ सिंहले संविधान नबने एकीकृत नेकपा माओवादीलाई दोष जाने भन्दै कूटनीतिक धम्की दिएका छन् ।

माथिल्लो कर्णाली जलविद्युत परियोजनाको पीडीएमा हस्ताक्षर कार्यक्रमपछि भाजपाका पूर्वअध्यक्षसमेत रहेका सिंह विपक्षी दलका नेता प्रचण्डलाई भेट्न संविधानसभा भवन नयाँबानेश्वर पुगेका थिए । भेटमा एमाओवादी अध्यक्ष प्रचण्डसँगै नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव कृष्णबहादुर महरा र प्रमुख सचेतक गिरिराजमणि पोखरेलसमेत सहभागी थिए ।

भेटमा भारतीय गृहमन्त्री सिंहले शान्ति र संविधान निर्माण प्रक्रियाको सुरुवातकर्ता एमाओवादी नै भएको भन्दै तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन् । साथै सिंहले संविधान निर्माण प्रक्रिया सफल नभए त्यसको दोष एमाओवादीलाई नै जाने बताएको एक नेताले अनलाइनखबरलाई भने ।

rajnath with prachanda  (3)

भारतले कांग्रेस-एमालेसँग सहमति गरेर संविधान बनाऊ भन्ने खोजेको हो कि भन्ने आनलाइनखबरको प्रश्नमा ती नेताले भने- ‘एक प्रकारले यो डिप्लोमेटिक थ्रेट जस्तै हो ।’

स्रोतका अनुसार भारतीय गृहमन्त्री सिंहले संघीयताको समर्थन गरेका छन् । तर, जातीय वा क्षेत्रीयताका आधारमा संघीयतामा जान नहुने उनको सुझाव थियो ।

‘हामीले भाषा र राष्ट्रियताका आधारमा संघीयता हुनुपर्छ भनेका हौं’ जवाफमा प्रचण्डले भनेका थिए,’ हामीले पनि जातीयता वा क्षेत्रीयताका आधारमा नभएर पहिचान र सामर्थ्यका आधारमा संविधान बनाउने भनेका हौं र यसमा सबैको सहमति भइसकेको छ ।’

आफूहरुले अघि बढाएको शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन एमाओवादी तयार रहेको प्रचण्डले राजनाथलाई बताएका थिए । तर, कांग्रेस र एमालेले परिवर्तनको प्रक्रियालाई भुलेर यथास्थितिलाई जोड दिन खोजेको आफूूहरुमा आशंका रहेको प्रचण्डको भनाइ थियो ।

भारतीय गृहमन्त्रीको भनाइमाथि टिप्पणी गर्दै एक एमाओवादी नेताले विश्लेषण गरे, ‘संविधान तिमीहरुले नै बनाउनुपर्छ, नभए दोष तिमीहरुलाई नै जान्छ भन्नुका पछाडि संविधान निर्माण प्रक्रियामा एमाओवादीले बाधा नगरोस् भन्ने भारतीय चेतावनीजस्तो देखियो ।

नयाँ संविधान निर्माणको विषयका अतिरिक्त प्रचण्ड र राजनाथवीच नेपालको विकास निर्माणका विषयमा पनि छलफल भएको स्रोतले बतायो ।

राष्ट्रपति र एमाले अध्यक्षसँग पनि भेट 

यसैबीच भारतीय गृहमन्त्री सिंहले राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गरेका छन् ।

गस्तै एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरुलाई होटल अन्नपूर्णमा भेट गरेका छन् । भेटपछि एमाले अध्यक्ष ओलीले भने-‘ समयभित्रै संविधान बनोस् भन्ने चाहन्छ । त्यो कुरा उहाँले स्पष्ट पार्नु भएको छ । कसेसम्म सहमति कायम गरेर अघि बढ्न जोड दिनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment