Comments Add Comment

कुरुलेका बाहुनको ‘क्रान्ति’ यसरी असफल भयो

४ असोज, काठमाडौं । यस वर्षको बडादसैं सँघारमै आइपुगेको छ । दसैंसँगै गरिब परिवारमा खुशीमात्र होइन, छटपटी पनि सुरु हुन्छ । दसैंको गर्जो कसरी टार्ने, छोराछोरीलाई केले लुगा फर्ने, मीठो मसिनो खानपिनको प्रवन्ध कसरी गर्ने, अनि टीको लगाउन आउने नातेदारलाई दक्षिणा कहाँबाट जुटाउने ? छिमेकी र आफन्तका अगाडि ‘इज्जत’ कसरी धान्ने ?

kurule-7यिनै पिरलोका कारण दसैंलाई कम खर्चिलो बनाउन धनकुटाको कुरुले तेनुपाका ब्राह्मणहरुले दसैंमा टीका लगाउँदा कोसेली र दक्षिणा (पैसा) आदान-प्रदान गर्न नपाउने अभियान चलाएका थिए । यद्यपि उनीहरुको त्यो सुधार अभियान सफल भएन ।

कुरुले तेनुपाको यही डाँडोले पाँचथर र धनकुटालाई एकापसमा जोडेको छ ।
कुरुले तेनुपाको यही डाँडोले पाँचथर र धनकुटालाई एकापसमा जोडेको छ ।

कुरुले तेनुपा धनकुटाको दक्षिणीपूर्वी भागमा तमोर नदीदेखि मुढेबासको लेकसम्म फैलिएको विकट पहाडी गाविस हो । पाँचथरसँग सीमा जोडिएको यो गाविसलाई ब्राह्मणहरु ब्रह्मस्थलोका रुपमा व्याख्या गर्छन् । धुरन्धर पण्डितहरुको बसोबास रहेको यो गाविस अहिले पनि शिक्षामा धनकुटा जिल्लाकै सबैभन्दा अग्रणी मानिन्छ । यही कारण यहाँका मानिसहरुको चेतनास्तर पनि उच्च छ ।

विगतमा लिम्बुवान अन्तरगत चौबीस थुमभित्र पर्ने कुरुले तेनुपामा क्षेत्री, लिम्बु, मगर, तामाङ र दलित समुदायको पनि छासमिस बसोबास पाइन्छ । उनीहरु आपसमा मिलेर बसेका छन् ।

लिम्बु भाषामा पेनेबा भनेको बाहुन हो । ‘पेनेबा’बाटै यो गाउँको नाम तेनुपा बन्न पुगेको कतिपयको विश्लेषण छ ।
धेरैलाई थाहा नभएको रहस्य के छ भने चर्चित गायक भक्तराज आचार्यको पुख्र्यौली थलो पनि धनकुटा जिल्लाको यही कुरुले तेनपा नै हो । भक्तराजलाई लिएर सानैमा उनकी आमा तराई झरेेकाले भक्तराजले यो गाउँमा धेरै समय बिताउन पाएनन् ।

 हिन्दुधर्ममा दृढ आस्था राख्ने डम्बरु पौडेल सुधारवादका पक्षपाती हुन्
हिन्दुधर्ममा दृढ आस्था राख्ने डम्बरु पौडेल सुधारवादका पक्षपाती हुन्

दसैंमा दक्षिणा बहिस्कार किन ?

कुरुले तेनुपाबाट मोरङको केराबारी गाविसमा बसाइँ सरेका डम्बरु पौडेलका अनुसार उनीहरुले टीका लगाउँदा दक्षिणा लेनदेन रोक्ने निर्णय गरेका थिए । तर, त्यो अभियान असफल भयो । त्यसको केही वर्षपछि फेरि त्यस्तो अभियान चल्यो, तैपनि सफल भएन ।

‘अग्निप्रसाद बराल र मलगायत केही व्यक्तिले दसैंमा टीका लगाउन आउनेलाई पैसा दिएनौं,’ पौडेलले पुरानो इतिहास सम्झँदै भने- ‘तर, केही मान्छेले लुकाई-लुुकाई पैसा दिन थालेछन्, दक्षिणा नदिने त हामी केही घरमात्रै पो भएछौं ।’

यो अभियानको महत्व सम्झाउँदै उनले भने, ‘दसैंको टीका मान्यजनका हातबाट आशिर्वादका लागि लगाइन्छ, तर यसमा पैसाको लेनदेनले महत्व पाउँदै आएको छ । गरीवले कसरी पैसा दिएर सक्छ ?’

टीका लगाउने क्रममा पैसाको लेनदेन गर्दा आफन्तवीचमै विभेद हुने भन्दै पैसा हुने र नहुनेवीच भेदभाव बढ्नेे पौडेलको बुझाइ छ ।

दसैंमा पैसाको लेनदेन नगरी टीकामात्रै लगाइनुपर्ने पौडेलको भनाइ छ ।

युवा उमेरमै दसैं सुधार अभियान चलाएका पौडेल अहिले बुढेकालमा पनि जोसिँदै भन्छन्-‘अहिले पनि साथ पाएदेखि दसैंमा दक्षिणा नलिने अभियान फेरि चलाउन म तयार छु ।’

कुरुलेबाट उत्तरतर्फ मनोरम कुम्भकर्ण हिमाल देखिन्छ ।
कुरुलेबाट उत्तरतर्फ मनोरम कुम्भकर्ण हिमाल देखिन्छ ।

पूर्वेली क्षेत्री बाहुनको चलन

पूर्वी नेपालको ब्राह्मण र क्षत्रीय समाजमा दसैंको टीका थाप्न आउने छोरीचेली, भतिजा-भतिजी र भाञ्जा-भाञ्जी एवं ज्वाइँ नाता पर्ने आफन्तलाई टीका लगाएपछि दक्षिणास्वरुप नगद उपलब्ध गराउनुपर्छ ।

यसरी दिइने नगद थोरै हुँदा दातालाई अप्ठ्यारो लाग्ने र धेरै दिँदा खर्चले धान्न नसक्ने समस्याले ब्राह्मण समुदाय ग्रस्त छ ।

पूर्वी नेपालका ब्राहमणहरुमा छोरा वा भतिजाहरुले बुबाआमा वा हजुरबा हजुरआमासँग टीका लगाउँदा टीको लगाइदिने मान्यजनलाई पैसा दिनुपर्ने प्रचलन छ । तर, यो प्रचलन विस्तारै हट्दै गएको छ । यद्यपि चेलीबेटी र भाञ्जाभाञ्जीसँग भने टीकासँगै पैसाको लेनदेन गर्ने प्रचलन भने व्यापक बन्दै गएको छ ।

गरीब समुदायमा यो समस्याले बढी नै सताएपछि कुरुलेका बाहुनहरुले दक्षिणा ले्नदेन नगर्ने अभियान चलाएको पौडेल बताउँछन् ।
दक्षिणाका साथै टीका लगाउन जाने ठाउँमा अनिवार्यरुपमा कोसेली बोक्नुपर्ने चलनले पनि दसैंलाई अनावश्यकरुपमा बोझिलो बनाएको उनी बताउँछन् ।

त्यसो त दसैंमा मावली गएर पैसा कमाउने भन्दै वालबच्चाहरु हौसिने गरेका छन् । तर, यो प्रचलनले विपन्न परिवारका प्रौढहरुलाई पुर्‍याएको सकसबारे वालवालिकाहरु अनभिज्ञ छन् ।

ब्रह्मस्थलो भनिएको कुरुलेमा विभिन्न जातजातिको  राम्रो घुलमिल छ
ब्रह्मस्थलो भनिएको कुरुलेमा विभिन्न जातजातिको राम्रो घुलमिल छ

हलो जोत्ने क्रान्ति

त्यसो त सामान्य खेती किसानी गरेर जीवन बिताइरहेका पौडेलले कुरुले तेनुपामा रहँदा दौरा लगाएर खाना खाने अभियान पनि नचलाएका होइनन् । त्यसो गर्दा पुरानो सोचाइ भएका ब्राह्मणहरुले जात काढ्ने धम्कीसमेत दिएको उनी सम्झन्छन् ।

‘त्यसबेला बाहुनले हलो जोत्न नहुने चलन थियो, हामी युवाहरुले नै यो अभियान चलाएका हौं,’ हिन्दु समुदायमा सुधारवादीे अभियान चलाएका पौडेलले अनलाइनखबरसँग भने ।

कुरुलेको भैंसेमा नागबेली आकारमा बगेको तमोर नदी । यो पानी स्थानीयवासीको उपयोगमा आउन सकेको छैन
कुरुलेको भैंसेमा नागबेली आकारमा बगेको तमोर नदी । यो पानी स्थानीयवासीको उपयोगमा आउन सकेको छैन

रित्तियो कुरुले तेनुपा

भक्तराज आचार्यले बाल्यकालमै छाडेको कुरुले तेनुपा यतिबेला बसाइँ सराइका कारण उजाडिन थालेको छ । खानेपानीका मुहानहरु सुक्दै गएपछि मानिसहरु धमाधम तराई वा अन्यत्र बसाइँ सर्न थालेको पूर्वसभासद हेमराज भण्डारी बताउँछन् ।

एमाओवादीका युवा नेता भण्डारी पनि कुरुले तेनुपामै जन्मिएका हुन् । त्यसो त विश्वभाषा क्याम्पसमा अंग्रेजी विषय पढाउने गणेश बराल र नेपाली कांग्रेसका नेता अरुण सुवेदी पनि धनकुटाको कुरुले तेनुपाकै हुन् ।

गाउँ रित्तो हुन थाले पनि काठमाडौं लगायतका सहरमा छरिएका कुरुले तेनुपाबासीहरु सामाजिक गतिविधिका लागि एकै ठाउँ जमघट हुन छाडेका छैनन् । शहरमा बस्नेहरुले गाउँमा कुनै न कुनै सहयोग प्रदान गर्दै आएका छन् ।

निकै वर्ष अगाडि कुरुले तेनुपाका सुधारवादी बाहुनहरुले चलाएको दसैंमा दक्षिणा नलिने र आशिर्वाद मात्रै थाप्ने अभियान फेरि एकपटक चलाउने पो हो कि ?

समय परिवर्तनशील छ । उहिले गाउँमा यसरी हिँड्ने हुलाकीहरु अचेल तस्वीरमा मात्रै देख्न पाइन्छ ।
समय परिवर्तनशील छ । उहिले गाउँमा यसरी हिँड्ने हुलाकीहरु अचेल तस्वीरमा मात्रै देख्न पाइन्छ ।

(तस्वीर स्राेत :  कुरूले साेसाइटीकाे फेसबुकबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment