Comments Add Comment

एक वर्षमा ५२ करोडका निःशुल्क औषधि !

४ असोज, चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले एक वर्षमा साढे ५२ करोड रुपैयाँबराबरको निःशुल्क औषधि वितरण गरेको छ। रक्त क्यान्सरबाट प्रभावित ७ सय ७५ बिरामीलाई उक्त रकमबराबरको औषधि दिइएको अस्पतालले जानकारी गराएको छ।

अस्पतालले ६ सय २५ जनालाई ५१ करोड ९ लाख ३५ हजार रुपैयाँको ग्लिभेस र १ सय ५० जनालाई १ करोड ५७ लाख ६० हजार रुपैयाँबराबरको स्टुटेन्ट वितरण गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.देजकुमार गौतमले जानकारी दिए। विभिन्न वैदेशिक निकायको सहयोगमा ती औषधि प्राप्त भएको उनले बताएको नागरिक दैनिकमा खबर छ ।

अस्पतालले सरकारलाई उपलब्ध गराउने वार्षिक बजेट भने योभन्दा आधा मात्रै हुने गरेको छ। अस्पताल सञ्चालक समितिका अध्यक्ष डा.भक्तमान श्रेष्ठका अनुसार गत वर्ष अस्पतालले सरकारबाट २४ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको थियो। अस्पतालको आन्तरिक आय ९ करोड रुपैयाँ थियो।

अस्पतालले १५ वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई निःशुल्क उपचार गर्छ। १५ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचारका लागि अस्पतालमा ६ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ। ७० वर्षभन्दा बढी उमेरका नागरिकका लागि २० लाख २७ हजार ५ सय ८६ रुपैयाँ खर्च भएको डा. गौतमले जानकारी दिए। क्यान्सर सेवा समाज मार्फत हुने विपन्नको उपचारमा १३ लाख २३ हजार रुपैयाँ लगानी भएको उनले बताए।

सरकारले क्यान्सर भएका विपन्न नागरिकलाई उपचारमा ५० हजार रुपैयाँसम्मको औषधि सहयोग गर्छ। यसमा आठ करोड रुपैयाँ खर्च भएको गौतमको भनाइ छ। त्यस्तै क्यान्सर भएका बिरामीलाई निःशुल्क दिइने खानामा ४१ लाख रुपैयाँ खर्च भएको पनि उनले बताए।

गौतमका अनुसार अस्पतालमा कार्यरत चिनियाँ मेडिकल टिमका तर्फबाट बर्सेनि ५० हजार अमेरिकी डलरबराबरको औषधि र सामान उपलब्ध हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment