Comments Add Comment

उदयविक्रमकाे छाेराे किन माअाेवादीमा लाग्याे ?

बेथर

माओवादी जनयुद्धका दुई अभियन्ता रवीन्द्र श्रेष्ठ र रामप्रसाद सापकोटा (दीपशिखा)ले दुईवटा उपन्यास साहित्यिक बजारमा ल्याएका छन् । दुबैले उपन्यासको विषयवस्तु माओवादी जनयुद्धलाई बनाउने प्रयास गरेका छन् ।

book-coverश्रेष्ठ माओवादीका पूर्वपोलिटब्यूरो सदस्य एवं एमालेमा लागेर मन्त्रीसमेत भइसकेका ठूलै नेता हुन् । दीपशिखाचाँहि वाइसीएलको नेता भए पनि माओवादी पार्टीमा सानै तहका कार्यकर्ता हुन् ।

लेखनका दृष्टिले उपन्यासमा नेता श्रेष्ठभन्दा कार्यकर्ता दीपशिखा अब्बल देखिएका छन् । यद्यपि श्रेष्ठको लेखनमा पनि कला पक्ष उतिसाह्रो कमजोरचाँहि छैन ।

उपन्यासमा श्रेष्ठले जनयुद्धलाई नकारात्मकरुपमा चित्रण गरेका छन् भने दीपशिखाले चाँहि त्यसभित्रको ‘लाल सौन्दर्य’ लाई कलात्मक पाराले पर्गेल्ने प्रयत्न गरेका छन् । तथापि उनी आंशिक रुपमा मात्रै सफल भएका छन् ।

जनयुद्धलाई सकारात्मक रुपमा प्रस्तुत गरियो कि नकारात्मक रुपमा भन्ने आधारबाट नहेरी कलाका आधारमा मात्रै हेर्दा पनि तुलनात्मकरुपमा श्रेष्ठको ‘उदास शनिबार’ भन्दा दीपशिखाको ‘रात फुलेको याम’ अगाडि देखिन्छ ।

‘रात फुलेको याम’बारे

कुल २८८ पृष्ठको दीपशिखाको उपन्यास जनयुद्धमा शुरु भएर ज्ञानेन्द्रले संसद पुनस्थापनासम्मको घटनामा आधारित छ ।
कथाको मूल केन्द्र ०६२/०६३ को जनआन्दोलन र राजधानीको सडक हो । १९ दिने जनआन्दोलनमा राजधानीमा घुसपैठ गरेको माओवादी कार्यकर्ता ‘याम’ ले आफ्नो विगतको कथा सुनाउने क्रममा उपन्यासमा जनयुद्धकालको गाउँ परिवेश देखाउन खोजिएको छ ।

लेखकले आफू प्रस्तुत भएर भन्दा पनि पात्रहरुमार्फत् असाध्यै कलात्मक तरिकाले जनयुद्धको वर्णन गरेका छन्, जसले गर्दा उपन्यास कलात्मक बनेको छ ।

उपन्यासमा तत्कालीन शाही नेपाली सेना र प्रहरीलाई खराब, हत्यारा एवं बलात्कारीका रुपमा चित्रण गरिएको छ भने माओवादी कार्यकर्तालाई सकारात्मक चरित्रका रुपमा प्रस्तुत गरिएको छ । उपन्यासभित्रका माओवादी पात्र नायक हुन् भने राज्य पक्षका प्रहरीहरु खलनायक हुन् । यसअर्थमा साम्यवादी सौन्दर्यका हिसाबले रात फुलेको याम सफल देखिन्छ ।

deep sikhaतर, रात फुलेको याम उपन्यासका बारेमा अहिलेसम्म जेजस्ता प्रशंसामूलक टिप्पणीहरु आएका छन्, ती टिप्पणीले उपन्यासको कमजोर पक्षलाई छोपिदिएको छ । दीपशिखा उपन्यासकारका रुपमा सफल देखिए पनि माओवादी सौन्दर्य स्थापित गर्न थोरै असफल देखिएका छन् ।

पहिलो कमजोरी, उपन्यासमा विभिन्न पात्रहरु माओवादीमा लाग्छन्, त्यसरी माओवादी बन्नुको एउटै कारण छ, राज्यपक्षबाट गरिएको दमन र यातना । हेल्थपोष्टमा काम गरिरहेका कविताका दम्पती पनि सेनाकाे दमनकै कारण माओवादीमा लाग्छन् । उपन्यासका मूल पात्र याम गरीबीमा हुर्किएका छन्, तर उनी बैचारिकरुपमा नभई आवेशगमै बहिनीसहित जनसेनामा सामेल हुन्छन् ।

लेखकले पात्रहरुलाई माओवादी बन्नुको वैचारिक औचित्य सिद्ध गर्ने प्रयास गरेका छैनन् । तर, जनयुद्धकालमा मानिसहरु यस्तै बाह्य परिस्थितिले मात्रै माओवादी बनेको यथार्थचाँहि हो । तर, उपन्यासमा गरिएको यस्तो प्रस्तुतीले माओवादी आन्दोलन वैचारिक थियो कि प्रहरीको दमनको प्रतिरोधमा अगाडि आएको बाध्यात्मक स्थितिमात्रै थियो भन्ने प्रश्न उठ्छ ।

दोस्रो, गाउँमा वर्गसंघर्ष, शोषण र उत्पीडनको कथा उपन्यासमा छैन । राज्यले गरेको दमनमात्रै देखाइएको छ । के त्यतिबेला नेपाली समाजमा शोषण दमन नै थिएन ? यदि थिएन भने किन माओवादी बन्नुपर्‍यो ?

उपन्यासमा उदयविक्रमलाई यौनपिपासु र शोषकका रुपमा चित्रण गर्दै मारिएको छ । तर, उनैका छोरालाई माओवादीका कार्यकर्ता बनाइएको छ । उपन्यास तिनै उदयविक्रमका छोराको वरिपरि घुम्छ, जो काठमाडौंमा पत्रकारिता गर्छन् र माओवादीलाई सेल्टर दिन्छन् । पहिले उनी माओवादीलाई मार्न र बाबुको बदला लिन गाउँ पसेका थिए ।

वर्गसंघर्षको सौन्दर्यअनुसार उदयविक्रमको छोरो किन माओवादीमा लाग्यो र प्रतिवद्ध भयो ? उपन्यासमा मनासिव पुष्ट्याइँ छैन ।

उपन्यासमा जनयुद्धका घाइतेहरु र तिनलाई कष्टपूर्ण तरिकाले जनताले लुकाएको सजीव चित्रण छ । त्यसका साथै प्रहरी र सैनिकमाथि आक्रमणको कथा छ । जनयुद्धका घाइतेको कथा छ । सुराकी (जो पछि माओवादी बन्छ) को कथा छ । माओवादीका नाममा निर्दोष व्यक्तिलाई पक्रेर मारिएको कथा छ । माओवादीले पनि भुलवस ज्यान लिएका कथाहरु छन् ।

तर, केका लागि यो युद्ध गरिएको हो ? यस विषयमा उपन्यासमा पर्याप्त सम्वाद छैन । युद्धकालीन मुठभेडबाहेक सामाजिक द्वन्द्व छैन । पात्रहरुको मनमा अन्तरद्वन्द्व छैन । विचारधारात्मक एवं राजनीतिक द्वन्द्व छैन । खाली भिडन्त, एम्बुस र फेरि भीडन्त इत्यादि छ ।

जनताले घाइतेलाई पालेका छन्, खुवाएका छन्, किन यो सब भइरहेको छ, कतै चर्चा छैन । गणतन्त्रका लागि हो कि ? जनवादका लागि हो कि केका लागि ?

sata-ko-bookदीपशिखाको उपन्यासको सबैभन्दा कमजोर पक्ष के छ भने उपन्यासको अन्त्यतिर उनले ज्ञानेन्द्रको शाही घोषणा सुनेपछि पात्रमार्फत भनेका छन्- ‘देश मुक्त भयो । राजाको शासन सकियो । यो गणतन्त्र हो जनताले ल्याएको । अब संविधानसभाको चुनाव हुन्छ । मुलुक संघीय संरचनामा जान्छ ।धर्म निरपेक्ष राज्य बन्छ नेपाल- सुन्दर शान्त । जनताका प्रतिनिधिले संविधान लेख्छन् । नलेखिए विद्रोह हुन्छ । नमाने फेरि लड्छ जनसेना । फेरि जितिन्छ ।’

ज्ञानेन्द्रले प्रतिनिधिसभाको पुनस्थापना गर्नु भनेको संसदीय व्यवस्थाको पुनस्थापना गर्नु मात्रै थियो । यही संसदीय व्यवस्थाको विरुद्धमा रगत बगाएर यसैको पुनस्थापना हुँदा कसरी देश मुक्त भयो ? कोबाट मुक्त भयो ? के यही थियो जनयुद्धको अभिष्ट ? यसको जवाफ नदिई लेखकले जनयुद्धका सिपाहीहरुलाई मुक्तिको खुशी मनाउन लगाएका छन् । जनताले केही पाएकै छैनन् । हिन्दी फिल्ममा जसरी नायक यामले कथाको अन्त्यमा सहीद पत्नी कवितासँग बिहे गरेका छन् । पत्नी पाएका छन् । यत्ति हाे ।

उपन्यासमा समग्र लडाइँ र जनयुद्ध पनि लहैलहैमा वा सेना प्रहरीको दमनका कारणले मात्रै चलेको जस्तो देखिन्छ । र, यसको अन्त्य पनि जीतको भ्रममा टुंगिएको छ ।

तर, दीपशिखाले जनयुद्धकालीन परिवेशलाई कलात्मकरुपमा पस्केका छन् । ०६२/०६३ यता उपत्यका र आसपासमा माओवादीको गतिविधिलाई पनि उपन्यासमा उनिएको छ ।

जनयुद्धको ‘सौन्दर्य’ लार्इ आधार बनाएर लेखिएका अहिलेसम्मका साहित्यमध्ये रात फुलेको याम अरुभन्दा जेठो छ । माथि उल्लेखित कमजोरी हटाइएको भए यो अझै उत्कृष्ठ साहित्य बन्ने पक्कापक्की थियो ।

rabindra_shresthaउदास शनिबारबारे

आफ्नो उपन्यास उदास शनिबारलाई लेखक श्रेष्ठले ‘युद्ध र प्रेम’मा आधारित उपन्यास भनेका छन् । उपन्यासमा अनुराधा नाम गरेकी काठमाडौंकी एक पत्रकारले पूर्वमाओवादी नेता सञ्जय (जो लेखक आफैं हुन्) बाट माओवादी नेताहरुको विरोधमा कथाहरु सुन्छिन् । सञ्जयले प्रचण्डको नामै किटेर बदख्वाइँ गर्छन् ।

श्रेष्ठको उपन्यासमा जनयुद्धलाई आतंकारी वा उद्देश्यहीन हिंसाका रुपमा चित्रण गर्न खोजिएको छ । अतिशय नकारात्मक तरिकाले जनयुद्धलाई प्रस्तुत गर्न खोजिएको छ ।

अनुराधाले प्रेममा धोका पाएर आत्महत्या गर्न खोज्दा सञ्जयले रोकेको देखाइएको छ । तर, अनुराधाको प्रेमकथाकाे व्याख्या गरिएको छैन ।

पछि सञ्जय र अनुराधा गाउँमा जान्छन् । त्यहाँ उनीहरु ‘सेक्स’ मा सहभागी हुन्छन् । उदास शनिबारमा जनयुद्धकालीन पात्रहरुको ध्यान पनि भद्दा यौन क्रियाकलापमै केन्द्रित रहेको देखिन्छ । लेखकले प्रेमको कुरा गरेर उपन्यासमा सेक्सको बढ्ता चर्चा गरेका छन् ।

उपन्यासमा सञ्जय एउटा विकृत पूर्वमाओवादीका रुपमा देखिएको छ ।

उपन्यासको अन्त्यमा पत्रकारले एके-४७ राइफल चलाएको देखाएर रुमानी पाराले टुंग्याउन खोजिएको छ ।

उपन्यासकार श्रेष्ठले जनयुद्धको नकारात्मक पक्ष नै राम्रोसित देखाएको भए हुन्थ्यो, निराशा र शून्यवादलाई नै देखाएको भए पनि हुन्थ्यो, जसमा उनी छिपछिपे र असफल रुपमा प्रस्तुत भएका छन् । गहिराइमा जान सकेका छैनन् ।

जनयुद्धकालीन परिवेशमा टेकेर उपन्यास लेख्ने प्रयास पछिल्लो दिनमा बढ्न थाले पनि जनयुद्धको उत्कृष्ठ साहित्य अहिलेसम्म जन्मन सकेको छैन

विचार पक्षको हिसाबले उदास शनिबार हिंसा र बासनामा मात्रै केन्द्रित  भए पनि कला पक्षको हिसाबले भने त्यति कमजोर छैन । तर, उपन्यासमा यौनको वर्णन अत्यन्तै भद्दा छ । सुरुवाल खोलेको, पेन्टी फुकालेको जस्ता शब्द आवश्यक थिएनन् ।

उत्खनन हुन नसकेको साहित्य

नेपाली जनताले दश वर्षसम्म भोगेको जनयुद्धकालीन परिवेशमा टेकेर उपन्यास लेख्ने प्रयास पछिल्लो दिनमा बढ्न थाले पनि जनयुद्धको उत्कृष्ठ साहित्य अहिलेसम्म जन्मन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment