Comments Add Comment

प्रदीप गिरीले भने- हामी भुइँफुट्टा नेता हौं

४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले नेपाली नेताहरु र आफूलाई समेत ‘भुईफुट्टा नेता’ को संज्ञा दिएका छन् ।

Pradeep-giriनेपाली नेताहरु किसानका नेता नभएको भन्दै गिरीले आफूहरुको शासन रहुन्जेल किसानको हित कागजमा मात्रै सीमित रहने बताए ।

राजधानीमा जारी एनसेल नेपाल लिटरेचर फेष्टिभलमा नेपाल कसरी बन्छ ? भन्ने बहसमा भाग लिँदै गिरीले नेताहरुको मासिक खर्च १ लाख, २ लाखदेखि १० लाखसम्म रहेको बताए ।

‘कम भन्दा कम खर्च गर्ने म मानुँला, मेरो पनि एक लाख छ । २ लाख, चार लाख १० लाखभन्दा कसैको कम छ ?’ गिरीले प्रश्न गर्दै भने-‘वर्षको दुई लाख बचाउने कुनै कृषक छ ? त्यसैले हामी कृषकका नेता होइनौं । कृषकसँग हाम्रो कुनै सम्वन्ध छैन ।’ उनले अघि भने-हामी भुइर्ंफुट्टाहरुका नेता हौं । हामी पनि भुईंफुट्टा हौं ।’

बीस वर्षमा नेपाली कृषिको उन्नती के हुन्छ भन्ने डा. हेमांग दीक्षित प्रश्नको जवाफ दिँदै नेता गिरीले आफूहरुजस्तो नेता र हाम्रो शासन रहुन्जेल किसानको उन्नति कागजमा मात्रै हुने बताए ।

मञ्चमा सँगै रहेका राष्ट्रिय योजना आयोगका स्वर्णिम वाग्लेलाई देखाउँदै उनले भने-‘कागज लेख्ने काम स्वर्णीमजीले गर्नुहुन्छ ।’

तानाशाही विकास सम्भव छ ?

कार्यक्रमका एक सहभागीले तानाशाही जगमा उभिएको कोरियाको जस्तो विकास सम्भव छ भनी प्रश्न गरेका छन् ।

कार्यक्रममा सहभागी राजनीतिक विश्लेषक सीके लालले भने-‘कोरियाको लोभ धेरैलाई लागेको छ । १० वर्षको युद्धमा एक दशांक जनसंख्या समाप्त गरेर अर्को १० वर्षसम्म लगानी गर्ने अमेरिका पायो भने त्यस्तो निरंकुश विकास तपाईले पनि पाउनुहुन्छ । तर, त्यो सम्भावना साह्रै कम छ ।’

कांग्रेस नेता गिरीले जापान, दक्षिण कोरिया र ताइवानको तथाकथित विकासलाई बुझ्नका लागि अमेरिकासँग उनीहरुको सम्बन्ध बुझ्नुपर्ने बताए ।

निरंकुशता खतरनाक

राष्ट्रवादी निरंकुशता स्वीकार्य हुन्छ कि हुन्न प्रश्नमा गिरीले यो एकदम खतरनाक प्रवृत्ति भएको बताए । ‘निरंकुशताले कुनै पनि प्रकारको विकास गर्दैन’ उनले भने-‘राजा महेन्द्रले निरंकुशताको नाममा धेरै शासन गरे । महेन्द्रको धङधङी अहिले पनि साथीहरुलाई बाँकी छ ।’

करेलाको तरकारीमा निमको झोल : सीके लाल

अर्का सहभागी सीके लालले भने-‘राष्ट्रवादी निरंकुशताको विकास भनेको एक त करेला तिउन, त्यसमा निमुको झोल हुन्छ । राष्ट्रियता र विकास दुबै निरंकुश अवधारणा हो ।’

राष्ट्रवाद देशका लागि मर्नुपर्छ भन्नेमा आधारित भएको र त्यो भनेको शासकका लागि मर्नुपर्छ, मार्नुपर्छ भन्ने भएको उनले बताए । उनले भने-त्यसमा स्वतन्त्रता अटाउँदैन ।’ राष्ट्रवादको बौद्धिक आतंकले गर्दा राष्ट्रवाद र विकासमा कसैले प्रश्न उठाउने आँट नगरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment