Comments Add Comment

नेपालको विकासमा सघाउन भारत तत्पर : गृहमन्त्री सिंह

Rajnath-sing

४ असोज, काठमाडौं । भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालको सामाजिक-आर्थिक विकासमा सघाउन भारत तत्पर रहेको बताएका छन् ।

काठमाडौंमा सम्पन्न सार्कका गृहमन्त्रीहरूको छैटौँ बैठकमा भाग लिएर भारत फर्किनु अघि आयोजित पत्रकार सम्मेलनमा सिंहले नेपाल सरकारले विकास निर्माण योजना बनाएर भारतसमक्ष प्रस्तुत गरेमा जस्तोसुकै सहयोग गर्न आफ्नो मुलुक तयार रहेको बताए ।

भारतले नेपालमा शान्ति, स्थायित्व र समृद्धि होस् भन्ने चाहेको भन्दै उनले दुवै मुलुक शान्ति, समृद्धि र स्थायित्वका निम्ति परिपूरक भएको बताए ।

प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेका उनले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान तोकिएको मितिमा जारी हुनेमा भारत विश्वस्त रहेको बताए । नेताहरुले समय संविधान जारी गरेर नेपाललाई विकास-निर्माणको बाटोमा अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेको समेत उनले जानकारी दिए ।

माथिल्लो कर्णाली जलविद्युत परियोजनाको  पीडीए हुनु भारत र नेपालका लागि ठूलो उपलब्धि भएको भन्दै उनले भने-‘विकासका साझेदार हामीले एकअर्काका भावना र चाहनाको कदर गर्दै दुवै देशका जनताको हित प्रवर्द्धनमा अघि बढ्नुपर्छ ।’

सार्क मन्त्रिस्तरीय बैठकमा आतंकवाद, आपराधिक गतिविधि नियन्त्रण, जाली नोटको कारोबार, मानव तस्करी, लागुऔषध ओसारपसारलगायत सार्क क्षेत्रबाट अपराधलाई निमिटयान्न पार्न एकताबद्ध भई अघि बढ्ने सहमति भएको जानकारी भारतीय गृहमन्त्रीले दिएका छन् ।

नेपाल-भारत सुपुदर्गी सन्धिबारे सोधिएको प्रश्नमा भारतीय गृहमन्त्री सिंहले यस सम्बन्धमा छलफल भइरहेको र निर्णय हुन बाँकी रहेको जानकारी दिए ।

भाजपाका पूर्व अध्यक्ष समेत रहेका गृहमन्त्री सिंहले धर्म निरपेक्ष नेपाल नेपाली जनताको निर्णयमा निर्भर रहने र त्यसमा टिप्पणी गर्न जरुरी नभएको स्पष्ट पारे । ‘सार्वभौम राष्ट्र नेपालका जनताको निर्णयलाई हामी शिरोधार्य गर्छौं’- उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment