Comments Add Comment

विप्लव कामरेड, पश्चिमाञ्चल बन्द फिर्ता लिनोस् !

समाचार टिप्पणी

४ असोज, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव विप्लवले छुट्टाछुट्टै वक्तव्य निकालेर आन्दोलनको घोषणा गरेका छन् । अध्यक्ष वैद्यले पीडीए सम्झौताको विरोधमा असोज ७ गतेदेखि देशव्यापी विरोध कार्यक्रम गर्ने वक्तव्य निकालेका छन् भने पश्चिम कमाण्डको इञ्चार्ज रहेका विप्लवले पश्चिमाञ्चल बन्दको घोषणा गरेका छन् ।

biplovदसैंका बेलामा बन्द हडतालको आयोजना गर्दा जनतालाई सास्ती हुन्छ भनेकुरा माओवादी नेता विप्लवलाई राम्रोसित थाहा छ । उनले आफ्नो वक्तव्यमै यसलाई स्वीकार गर्दै भनेका छन्-‘दशैंको पूर्वसन्ध्यामा हुने यस बन्दले जनतालाई आवत-जावतमा केही असजिलो पार्नेप्रति क्षमा माग्दै देशकै भविष्य र जनताको विरुद्धमा भएको यो अक्षम्य सम्झौताप्रति दशैंको कारणले चुप लाग्न नहुने भएकाले यातायात, कलकारखाना, शिक्षण संस्था, बजार व्यवसाय बन्द गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

देशको भविश्य बर्बाद हुन लागेको भन्दै बन्द र हडताल गरेर जनतालाई थप मारमा पार्नेर् यो तरिका परम्परागत एवं जनघाती प्रमाणित भइसकेको छ । सबैले यातायात, शिक्षण संस्था र कारखाना बन्द गरिदिँदैमा देशको भविश्य सुध्रन्छ ? यसको जवाफ नदिई विप्लवले घोषणा गरेको बन्दले माओवादीप्रति जनताको आस्थामा अभिवृद्धि हुनुको साटो झनै घट्ने निश्चित छ ।

विप्लव आफैंले वक्तव्यमा स्वीकार गरेका छन् कि दसैंको पूर्वसन्ध्यामा आयोजना गरिएको यस्तो बन्दका कारण जनतालाई सास्ती हुनेछ ।

सरकारले भारतसँग गरेको पीडिए सम्झौतामा नेपालको राष्ट्रिय हितमा नकारात्मक प्रभाव पर्ने तर्क वैद्य माओवादीका नेताले मात्रै होइन, कांग्रेसका पूर्वजलस्रोत सचिव लक्ष्मण घिमिरे, एमालेका उपाध्यक्ष भीम रावल र एमाओवादीका नेताहरु एवं जलस्रोतविदले समेत बताइरहेको अवस्था छ । यो स्थितिमा बन्द र हडतालको घोषणाले आन्दोलनकारीलाई जनताको समर्थन आउने छैन, बरु भएको समर्थन पनि घट्ने छ ।

माओवादी नेतामा जनताप्रति संवेदनशीलता छ भने पश्चिमाञ्चल बन्दको कार्यक्रम फिर्ता लिएर जनतालाई सास्ती नहुने गरी आन्दोलन गर्नु उपयुक्त हुने देखिन्छ । यसो नगरिए जनताको ध्यान बन्द र हडतालको विरोधपट्टी जानेछ र माओवादीले उठाउँदै आएको राष्ट्रियताको एजेन्डा ओझेलमा पर्नेछ ।

विप्लवले जुन पश्चिमाञ्चल बन्दको घोषणा गरेका छन्, त्यो विरोधको अतिवादी एवं जनविरोधी कार्यशैली हो । यसलाई जतिसक्दो छिटो फिर्ता लिन आवश्यक देखिन्छ ।

संघर्षको जडसूत्रवादी कार्यशैली

संविधानसभाको चुनाव बहिस्कार गरेको नेकपा- माओवादी यतिबेला आफ्नै जडसूत्रवादी कार्यशैलीका कारण जनताबाट कट्दै र एक्लिँदै जान थालेको छ । ६ महिना अघिदेखि गोलमेच सम्मेलनको गोलचक्करमा अल्ममिलएको माओवादी यतिबेला ‘न गरी खानु न मरी जानु’को अवस्थामा छ ।

नेतालाई सामान्य आलोचना गरेको स्थितिमा पार्टीका केन्द्रीय सदस्य अनिल शर्मामाथि कारवाही गरिएको अवस्था छ । सानो समूहमा आपसमा मिल्न नसक्ने नेताहरुले एकपछि अर्को गर्दै आफूलाई सीमान्तीकृत बनाउँदै लगिरहेका छन् ।

राष्ट्रियताजस्तो सम्वेदनशील विषयमा जनताको समर्थन लिन सकिने अवस्थामा पनि विप्लवको विप्लववादी कार्यशैलीले जनतालाई चिढ्याउने गरी बन्दको आयोजना गर्नुले वैद्य माओवादीले जनमुखी कार्यशैली अपनाउने अपेक्षा क्षीण बन्न थालेको छ ।

आन्दोलन र बन्द हडताल कर्मकाण्ड वा सोह्रश्राद्ध जस्तै बन्न थालेकोछ । विप्लव कामरेड पश्चिमाञ्चल बन्दको कार्यक्रम फिर्ता लिनोस् । तपाईकै पार्टी अध्यक्षले प्रेस वक्तव्यमा भनेजस्तै शान्तिपूर्णरुमा पीडीए सम्झौताको विरोधमा जनतालाई आह्वान गर्न सक्नुहुन्छ । जनतालाई दुख नदिनोस् । जनताको विश्वास जित्नोस् । जनता बन्द हडतालको पक्षमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment