Comments Add Comment

चरी मारिएपछि कांग्रेसका डन सल्बलाए

min-krishna-maharjan

५ असोज, काठमाडौं । नेकपा एमालेनिकटका डनहरु दिनेश अधिकारी चरीको इन्काउन्टरका मृत्यु हुुनुका साथै रमेश बाहुन पक्राउ परेपछि उपत्यकामा कांग्रेसआवद्ध डनहरुको चलखेल एकाएक बढेको छ ।

प्रहरीले कांग्रेसको आडमा गुण्डागर्दी गर्ने केही डनहरुको लिष्ट उतार्दै उपत्यकाको सुरक्षामा उनीहरु चुनौती बनेको ठहर गरेको छ ।

पछिल्लो समयमा मीनकृष्ण महर्जन, कुमार घैंटे, समिरमान बस्नेत, भगवान लामालगायत व्यक्तिहरु सक्रिय भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले गुण्डा संरक्षण गर्ने कांग्रेस नेता र सभासदहरुको लिष्टसमेत उतारेको छ । जसमा उपसभापति रामचन्द्र पौडेलदेखि मन्त्री प्रकाशमान सिंह, खुमबहादुर खड्कालगायत छन् ।

राजधानीका कतिपय डनहरुले कांग्रेस नेता अर्जुननरसिंह केसी र गगन थापाको नाममा समेत धन्दा चलाउने गरेको प्रहरी स्रोतले जनाएको छ ।

त्यस्तै कांग्रेस सभासद शंकर भण्डारी, जगदीशनरसिंह केसी, तीर्थ लामा, राजु थापालगायतले गुण्डा संरक्षण गरेर व्यवसाय सञ्चालन गर्ने गरेको प्रहरीको आरोप छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले गुण्डा नाइकेहरुलाई प्रहरीले निगरानीमा राखेको र कतिपय फरार रहेकाले खोजी भइरहेको बताए ।

कार्कीले भने-‘राजधानीमा गुण्डागर्दी धेरै कम भइसकेको छ, हामीले गुण्डाहरुको लिष्ट उतारेर कारवाही थालेका छौं । जसको आडमा उनीहरु चलेका भए पनि गैरकानुनी कामबाट उन्मुक्ति पाउँदैनन् ।

minमीनकृष्ण सबैभन्दा ठूला

कांग्रेस महासमिति सदस्य समेत रहेका ललितपुरका डन मीनकृष्ण महर्जनले निर्माण व्यवसायी महासंघका पदाधिकारीसँगै मिलेर अरु व्यवसायीसँग पैसा असुल्ने गरेको उजुरी प्रहरीसमक्ष पुगेको छ ।

महर्जनले निर्माण व्यवसायी महासंघ ललितपुरका अध्यक्ष सानोकान्छा मोक्तानसँग मिलेर ललितपुर जिल्लामा एकछत्र राज गरिरहेको उजुरीमा उल्लेख छ । मोक्तान पनि कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारी हुन् ।

अहिले प्रहरीका लागि सबैभन्दा ठूलो चुनौति बनेका मीनकृष्ण महर्जनले कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र पूर्वगृहमन्त्री खुमवहादुर खड्काको आडमा अवैध असुली धन्दा चलाएको प्रहरी स्रोतले जनाएको छ ।

महर्जनले चरीलाई इन्काउन्टर गर्न र रमेश बाहुनलाई पक्राउ गर्न आफूले ठूलो धनराशी खर्च गरेको भन्दै ठेकेदारहरुलाई धम्क्याउने गरेको स्रोतले जनाएको छ । ‘बिगतमा महर्जनले केही प्रहरी अफिसरलाई पैसा दिने गरेको पनि पाइयो’ स्रोतले भन्यो ।

महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्माले मीनकृष्ण महर्जन, कुमार घैंटेलगायतका गुण्डा नाइकहरुको गतिविधि निगरानी गर्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

kumar-ghaiteघैंटे बिदेशिए

प्रहरीले निगरानी बढाएपछि कुमार घैंटे भने विदेशिएका छन् । उनले केही दिनअघिसम्म कांग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापा र जगदीशनगरसिंह केसी लगायतको नाम लिँदै ठेकेदारहरुलाई धम्क्याएको प्रहरी स्रोतले जनाएको छ ।

घैंटेले गजुरमुखी निर्माण सेवा नामक कम्पनीलाई ठेक्का मिलाउन अन्य ठेकेदारहरुलाई धम्क्याउने गरेको पाइएको छ । गजुरमुखी निर्माण सेवा कांग्रेस सभासद जगदीशनरसिंह केसी लगायतको स्वामित्वमा छ ।

चरीका बिरोधी सल्बलाए

चरीको इन्काउन्टरपछि चरी विरोधी गुण्डा समूहका मीनकृष्ण, घैंटे, समीरमान बस्नेत लगायत एकाएक बलियो बन्न थालेपछि प्रहरीले उनीहरुका गतिविधिमा निगरानी बढाएको हो ।

फाइल फोटो
फाइल फोटो

चरी र बाहुन ठेगान लागेपछि एमालेनिकट अन्य डनहरु भने तितर- बितर भएको प्रहरी स्रोतले जनाएको छ ।
उनीहरुलाई एमालेका नेताहरुले संरक्षण दिन छाडेपछि केहीले सामान्य जीवनमा फर्किन पाउँ भन्दै प्रहरीलाई सन्देश पठाउन थालेका छन् ।

प्रहरीले चक्रे मिलनका गतिविधिमाथि पनि निगरानी बढाएको छ । एक प्रहरी अधिकारीले भने-कुमार घैंटे विदेश भागेपछि अहिले प्रहरीका लागि मुख्य चुनौती मीनकृष्ण महर्जन नै हो र त्यसपछि समिरमान बस्नेत, सन्जिव लामा स्याल लगायतका सानातिना फ्याउरे गुण्डाहरु पनि उपत्यकाका चुनौती हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment