Comments Add Comment

बैरागी काइँला किन हिँड्दैनन् मर्निङवाक ?

Avi subadi and bairagi kaila

५ असोज, काठमाडौं । उमेरले ज्येेष्ठ नागरिकसमेत रहेका बरिष्ठ साहित्यकार बैरागी काइँला चिकित्सकहरुले सल्लाह दिए पनि मर्निङवाक हिँड्दैनन् । उनी त्यसरी सडकमा नहिँड्नुको एउटै कारण हो ज्यानको सुरक्षा ।

सडकमा गाडी चालकहरुले ‘मर्लास्’ भनेर हप्काउने गरेकाले आफूलाई सडकमा निस्कन मन नलागेको काइँलाले बताए । चर्चित साहित्यकार काइँलाको यस्तो भनाइले राजधानीका सडकको अवस्था मात्रै होइन, हामो समाजले ज्येष्ठ नागरिकमाथि कस्तो व्यवहार गरिरहेको रहेछ भन्नेसमेत प्रष्ट पारेको छ ।

प्रज्ञाभवनमा जारी नेपाल लिटरेचर फेष्टिवलमा ‘कहाँ गए ती दिन’ नामक छलफलमा सहभागी हुँदै आइतबार कवि बैरागी काइँलाले भने- ‘मैले नजानेको काममध्ये एक्सरसाइज पनि एउटा हो । बिहान हिँड्नुपर्छ भन्ने डाक्टरले सुझाव दिएका छन् । तर, सडकमा धुलो धुवाँ छ । सडकमा हिँड्यो कि गाडी झण्डै ठोक्किएला झै गरेर आउँछ र ड्राइभरले उल्टै गाली गरेर पो हिँड्छ । मर्छस् भनेर पो हिँड्छ । आफैं तर्काएर जानु नि ।’

सडकमा हिँड्ने ज्येष्ठ नागरिकमाथि गाडी चालकहरुले गर्ने व्यवहारबारे काइँलाले मार्मिक ढंगले व्याख्या गरे । सबैले चिनेका, प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाकै हालत यस्तो छ भने अन्य ज्येष्ठ नागरिकका गुनासाहरु कति होलान् ?

‘एउटै जुनी काफी रहेनछ’

कार्यक्रमस्थलमा रहेका कनिष्ठ नागरिकहरुलाई आफ्नो अनुभूति र दिनचर्या सुनाउँदै सहत्यिकार काइँलाले आफूले ताकेको कुरा पूरा गर्न एउटै जीवन पर्याप्त नहुने मार्मित अभिव्यक्ति दिए । जीवनको दुःखी क्षणबारे सोधिएको प्रश्नमा उनले भने-‘दुःख त यसमा छ कि ताकेको कुरा पुगेन । चिताएको जस्तो गर्नलाइ यो एउटा जुनी काफी रहेनछ ।’

आफ्नो नाम बैरागी काइँला भए पनि जीवनमा धेरै खुसी र दुःखी भएको क्षण भने नभएको उनले बताए । १८/१९ वर्षपछि छोरी जन्मिएकोमा समयमा भने खुसी लागेको उनले सुनाए ।  ‘मेरो जीवन एकनासको भयो । सलल बगेको खोलाले कुनै भित्तो भत्काएन, एकनासले बग्यो,’ उनले भने ।

बाहिर हिँड्दा खानै समस्या

साहित्यिक कार्यक्रमहरुमा जाँदा आफूलाई खानेकुराको चिन्ताले सताउने गरेको उनले अनुभव सुनाए । ‘स्वास्थ्य ठीक छैन भनेर दुईवर्ष राजधानी बाहिर गइँन, अहिले ६ महिनामा ३० चोटि हिँडिसकेको छु,’ पाँचथर पुख्र्यौली घर भएका कवि बैरागीले भने-‘बाहिर हिँड्दा समस्या भनेको खाने कुराकै हो । पेट दुखी बस्छ, डाक्टरले भनेपछि माछामासु त्यागियो, फूलकोपी नखाऊ बन्दा खाऊ भन्यो, डाक्टरले लौका खाऊ भन्यो, दाल पनि मुङको खोस्टे मात्रै खाऊ भन्यो, युरिक एसिड भएपछि ।’

मान्छेको भीडमै एकान्त भेटिँदोरहेछ

आफूलाई टीबी लागेर सन् १९६० ताका नसिङ होममा बस्दा लेखेको पुरानो कविता सम्झँदै काइँलाले भने-‘मान्छेलाई हुलमा नै एक्लै हुन सजिलो हुँदोरहछ, एक्लै बसेर एक्लो भएको अनुभूति गर्नु त्राषद हुँदोरहेछ, मैले ‘एकान्तको अजिंगर’ कवितामा आफ्नो यही अनुभव लेखेको हुँ ।’

बिहानभरि घरमा मनमा अनेक कुरा खेलाएर बस्ने गरेको र त्यो निकै रमाइलो हुने गरेको काइँलाले बताए । उनले भने-‘लेख्न छोडेको धेरै भो । कलममा खिया लागिसक्यो । लेख्ने अभ्यासका लागि को आयो, कसले फोन गर्‍यो यस्तै घटनाक्रम टिप्ने गरेको छु ।’

सम्पत्तिका नाममा आफूले चारआना नकमाएको काइँलाले बताए । उनले भने-‘बाबुले जोडेको र दाइभाइमा बाँडेको अंश छ । पहिले विघामा थियो । अहिले त कठ्ठाबाट धुर होलाजस्तो छ ।’

कार्यक्रममा बैरागी काइँलासँगै अर्का चर्चित साहित्यकार अभि सुवेदीले पनि आफ्ना अनुभूति सुनाएका थिए । दुर्गालाल श्रेष्ठ र सत्यमोहन जोशी अनुपस्थित भएपछि अभि सुवेदीलाई बोलाइएको थियो ।

अभि सुवेदी अझै युवा हुनुको रहस्य

कार्यक्रममा अर्का वक्ता अभि सुवेदीले एकेडेमीको कुलपति बन्ने प्रस्ताव आएका बेला हुन्न भन्दा मज्जा आउने गरेको अनुभव सुनाए । उनले भने-‘कि म अलि मूर्ख हुँ कि ?’

बैरागी काइँदाको जीवन देख्दा इष्र्या लाग्दैन ? भन्ने कार्यक्रम सञ्चालक बसन्त बस्नेतको प्रश्नमा सुवेदीले भने-इष्र्या होइन प्रेरणा पो भयो । सत्यमोहन दाइलाई देखेर भने इख लाग्छ हौ । त्यसरी नै हिड्नु, ९५ वर्षको उमेरमा । त्यस्तो चाँही हुन पाए हुन्थ्यो भन्ने इख चाँहि छ ।’

जीवनका सिँढीहरु चढ्ने क्रममा सबैभन्दा खुसी र दुःखी भएको क्षणबारे सोधिएको प्रश्नमा सुवेदीले ठट्यौली पारामा जवाफ दिए- ‘पहिलाको घरमा मलाई भर्‍याङ अप्ठ्यारो भएपछि त्यस्तो भएको थियो । यो भर्‍याङबाट म कुन दिन लड्छु भन्ने हुन्थ्यो’ उनले भने-‘अहिले बनाएको घरमा पहिलो ध्यान भर्‍याङमा गयो । मेरा जीवनका संघर्षका सिँढीहरु यस्ता धेरै छन् ।’
जीवनमा निकै संघर्ष गर्नु परेको भन्दै सुवेदीले आफ्नाले दुःख दिएको अनुभव सुनाए । पीएचडी पढ्न बेलायत गएका बेला मार्गरेट थ्याचर प्रधानमन्त्री भएपछि छात्रवृत्ति काटिदिएको र स्टबेरी टिप्नेदेखि गाई दुहुनेसम्मको काम गरेको उनले बताए । उनले भने-एक दिन त भोकले झण्डै मरेँ ।’

‘अभि दाइ, तपाई यो उमेरमा पनि यति फूर्तिलो र युवा हुनुको रहस्य के हो ?’ साहित्यकार खगेन्द्र संग्रौलाले सोधेको प्रश्नमा अभिले भने-‘म साह्रै दुःखी भएर पनि हिँड्दिन हौ, म योगाहरु चाहीँ संधै गर्छु, त्यतिले मात्रै यस्तो भएको होइन होला, मन पनि स्वतन्त्र राख्छु ।

चिनियाँ साहित्यकार लुसुनले ‘वृद्ध कुममाथि वृद्ध टाउको’ भनेको प्रशंग उल्लेख गर्दै साहित्यकार संग्रौलाले मानिसहरु युवा उमेरमै बूढाजस्ता देखिने गर पनि अभि सुवेदीमा युवापन रहेको टिप्पणी गरेका थिए ।

बलात्कारको प्रशंग

कार्यक्रमका एक प्रौढ सहभागीले पछिल्लो समय वृद्धहरुले नै आफन्तलाई बलात्कार गरेका घटना आएको प्रशंग कोट्याउँदै यसको कारण मागेका थिए । तर, जवाफमा थोरै रिसाउँदै प्रोफेसर सुवेदीले भने- ‘तपाई पनि बृद्ध नै हुनुहुँदोरहेछ, तपाईको मनमा यो प्रश्न किन आयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment