Comments Add Comment

पर्सि पानी पर्छ कि घाम लाग्छ ? आजै थाहा हुन्छ

५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अबदेखि तीन दिनपछिको जलवायु परिवर्तनको प्रक्षेपण गर्ने प्रविधि विकास गर्न लागेको छ ।

मौसम पुर्वानुमान महाशाखाको दाबी बेला-बेलामा गलत हुने गरे पनि अब तीन दिनपछिको मौसम तीनअघि नै जानकारी गराउने प्रविधि विकास भएको विभागले जनाएको छ ।

असोजको मध्यमास लागिसक्दा पनि अहिले देशका विभिन्न भागमा असार साउनमा जस्तै झरी परिरहेको छ । दशैंका बेलामा समेत पानी पर्ने कतिपयले दाबी गरिरहेका छन् । तर, नेपालको मौसम विज्ञान विभाग भने यसबारे सही आँकलन गर्न सक्ने स्थितिमा छैन ।

विभागद्वारा आइतबार काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उपमहानिर्देशक सरजुकुमार वैद्यले अहिले यो प्रविधि परीक्षणका क्रममा रहेको बताए । बैद्यले भने-‘अहिले हामीले सामान्य जानकारीमात्र दिने गरेका छौं, अब यो पुरानो प्रविधि परिवर्तन गरेर ३ दिनसम्मको मौसम पुर्वानुमान गर्ने प्रविधि विकास गरेका छौं, केही दिनमै यो प्रबिधि प्रयोगमा आउनेछ ।’ 

नयाँ प्रविधि प्रयोगमा आएपछि तीन दिनपछि पानी पर्ने वा घाम लाग्ने जानकारी दिन सकिने उनले बताए । कति पानी पर्छ भन्नेसम्मको जानकारी यो प्रविधिबाट दिन सकिने उनले बताए ।  विश्वका अन्य देशमा एक घण्टापछि पानी पर्ने वा घाम लाग्ने सूचना मोबाइलमै प्रवाह हुने गरे पनि नेपालमा भने मौसमको पुर्वानुमान नै हावादारी हुने गरेको गुनासोलाई अधिकारीहरुले पनि स्वीकार गरे ।

उनीहरुले अब बिस्तारै नयाँ प्रविधिहरुको प्रयोग गरेर मौसमको सही सूचना सर्वसधारणमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । वैद्यले भने- ‘बिस्तारै हामी सामान्य सूचना मात्र होइन, मौसम परिवर्तनको विश्लेषणात्मक जानकारी पनि दिने प्रयास गर्नेछौं ।’  जनशक्तिको कमी र साधन स्रोत पनि नभएकाले मौसम विभागले आक्रामक ढंगले काम गर्न नसकेको विभागका अधिकारीहरुले बताए ।

विभागका प्रवक्ता शिव नेपालले भने-‘विभागमा काम गर्ने हाइड्रोलोजिष्ट र मेट्रोलोजिष्टहरुलाई क्षमता अभिवृद्धि तालिम दिन बजेट छैन, दरबन्दी थप गर्न बजेट छैन, भएका कर्मचारीलाई पिसाब फेर्ने फुर्सदसमेत छैन ।’

वैद्यले अर्थ मन्त्रालयलाई मौसम विभागको कामको बारे बुझाउनै नसकिएको दुःखेसो गरे । ‘अर्थ मन्त्रालयलाई बुझाउनै गाह्रो छ, बल्लतल्ल अहिलेचाहिँ क्षमता अभिवृद्धि तालिमका लागि बजेट ल्याएका छौं’ उनले भने ।

मौसमको सही अनुमान नगर्दा कस्तो परिणाम आउँछ भन्ने उदाहरण एमालेको नवौं महाधिवशेनमा देखिइसकेको छ । गत असार १९ गते एमालेको महाधिवेशन उदघाटनका दिन पानी पर्ने मौसम विज्ञान विभागको अनुमान थियो । त्यही अनुमानका आधारमा खुल्ला ठाउँमा महाधिवेशन आयोजना गरिएन र भित्र छिर्न नपाचएका कार्यकर्ताले मञ्च भत्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment