Comments Add Comment

नाच्ने तेरियालाई सबैको साथ, बचाउने कुर्मीको पुर्पुरोमा हात

६ असोज, काठमाडौं । संरक्षण पुरस्कार २०१४ थाप्न रुपन्देहीबाट काठमाडौं आइपुगेका अर्जुन कुर्मीले नेपालमा प्राकृतिक सम्पदा र वन्यजन्तु संरक्षणमा लागेका मान्छेलाई समाजले कतिसम्म उपेक्षा गरिरहेको छ भन्ने तीतो पोखे ।

Arjun-kurmiकुर्मीले उदाहरण दिए, रुपन्देहीकै चेली तेरिया मगरको । तेरियाले भारतीय एक टेलिभिजनमा नाचेर अवार्ड जितिन् । तेरियाका लागि भोट माग्न र उनको आगमनमा जुलुस निकाल्न लाखौं नेपालीले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गरे, नेपाली मिडियाले तेरियाको प्रचारमा कुनै कञ्जुस्याइ गरेनन् ।

तर, अर्जुन कुर्मीले आफ्नो मनमा तम्तम्याएर बसेको तीतो अहिलेसम्म पोख्न पाएका रहेछन् । सोमवार विश्व वन्यजन्तु कोषसहितका संस्थाले आयोजना गरेको संरक्षण पुरस्कार वितरण समारोहमा उनले आफ्नै पुर्पूरोमा हात राख्दै मनको तीतो पोखे ।

‘वास्तवमा तेरिया मेरै जिल्लाकी चेली हुन्, उनले एउटा भारतीय टिभीमा डान्स गर्दा हाम्रो युवापुस्ताले सामाजिक सञ्जालमा फोटो राखेर भोट आतंक मच्चाए’ कुर्मीले भने-‘तर त्यही जिल्लाको एउटा मधेसी युवाले संरक्षणको क्षेत्रमा काम गरेर लाखौंको भविष्य बचाएवापत अवार्ड पाउँदा मेरो फोटो कसैले फेसबुकमा राखेर बधाइ दिँएनन्’ ।

कुर्मीको एक युवा पाँच वृक्ष अभियान

कुर्मीले ग्रीन युथ अफ लुम्बिनीमार्फत ‘एक युवा पाँच वृक्ष’को अभियान चलाए । उनले अहिलेसम्म युवा परिचालन गरेर १५ सय सालका वृक्ष रोपेर प्रकृति संरक्षणमा अतुलनीय योगदान गरेको भन्दै यस वर्षको म्याथ्यु पि्रस एबम् येसी छोडेन युवा संरक्षण पुरस्कार पाएका छन् ।

मधेशका युवा विदेश पलायनका साथै निराश जीवन बिताइरहेका बेला कुर्मीले वनजंगल र वन्यजन्तु संरक्षण नगरे मान्छेको अस्थित्व समाप्त हुन्छ भन्दै अभियान चलाउँदा आज सयौं मधेशी युवा उनको पछि लागेका छन् । कुर्मीले अनलाइनखबरसँग भने-‘तर हाम्रो देशको युवा पुस्ता फेसबुकमा मेस्सी र महेन्द्रसिंह धोनीको प्रचार गर्छ, नेपालमा आउँदा तेरियासम्म र्झछ, तर मानव जीवन जोगाउने र संरक्षणको क्षेत्रमा काम गर्नेमाथि चासो राख्दैन ।

फेसबुक र ट्वीटरमा एक दिन भने पनि संरक्षणका कुरा गरौं भन्ने सन्देश यी मधेसी युवाले दिन चाहेका छन् । ‘वन,जंगल, जलस्रोत र वन्यजन्तु जोगाउन हरेक युवा जागरुक नहुने हो भने हाम्रो अस्थित्व संकटमा छ’ उनले भने ।

कडा कानून नल्याए वन मासिन्छ

सोही कार्यक्रममा यस वर्षको अब्राहम संरक्षण पुरस्कार पाएका नेपाली सेनाका प्रमुख सेनानी चक्रवहादुर शाहले सरकारले कडा कानुन र नीति नल्याउने हो भने वन्यजन्तु संरक्षण चुनौतिपूर्ण बन्दै गएको बताए ।शाहले भने-अहिलेको कानुनले एउटा व्यक्ति केही वर्षपछि छुटिहाल्छ फेरि उसले चोरी शिकारी थाल्छ । हामी एक महिना धु्रबे हात्तीको पछि लाग्यौं, चोरी शिकारीले मध्यरातमा राप्ती नदी तरेर गैंडा मार्छ ।

यस वर्षको अब्राहम संरक्षण पुरस्कार प्रमुख सेनानी शाह र संरक्षणविद पुष्कलवहादुर बमले पाएका छन् । त्यस्तै अब्राहक संरक्षण पुरस्कार संस्थागततर्फ कैलालीको मोहनास्थित सामुदायिक वन र रुपन्देहीको शंकरनगर वन विहार तथा रिसर्च सेन्टरले पाएको छ ।

त्यस्तै यस वर्षको युवा संरक्षण नेतृत्व पुरस्कार ग्रीन युथ अब लुम्बिनीका महासचिव अर्जुन कुर्मीले पाएका छन् । विश्व वन्यजन्तु कोष संरक्षण मिडिया पुरस्कार नया पत्रिकाका संवाददाता सागर पण्डितले पाएका छन् ।

सो अवसरमा विश्व वन्य जन्तु कोष नेपालका कार्यक्रम निर्देशक डा. घनश्याम गुरुङले युवापुस्ता प्रकृति संरक्षणको क्षेत्रमा जागरुक बन्दै जाँदा नेपालमा वन र वन्यजन्तुको संरक्षणमा उत्साहजनक अवस्था सिर्जना हुँदै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment