Comments Add Comment

४० वर्ष पुग्नु भो ? माछामासु खान बन्द गर्नुहोस् !

डा. सुन्दरमणि दीक्षित

दसैंका बेला मासुको खपत अत्यधीक हुन्छ । तर, डा. सुन्दरमणि दीक्षितको कडा सुझाव छ- ‘मासु नखानोस् । आन्द्राको क्यान्सर मासुबाटै हुन्छ, कोलस्टोर बढ्ने मासुबाटै हो, हार्ट एट्याक कोलस्टोरबाटै बढ्छ, ब्रेनको अट्याक त्यसैबाट हुन्छ । मासुले मान्छेको दिमाग पनि उल्टोपाल्टो पारिदिन्छ ।’

Sundar mani
डा. साब, मान्छेको शरीर र रोगको सम्बन्धबारे कुरा गरौं, के ग्याष्ट्रिक नेपालीको राष्ट्रिय रोग हो ? उहिलेका मान्छेलाई पनि यसैगरी ग्याष्ट्रिक हुन्थ्यो कि ?

– ग्याष्ट्राइटिस भन्ने कुरा त जब निमोनिया हुन्छ, निमोनाइटिस भनेजस्तै हो । यो ग्याष्ट्राइटिस भन्ने कुरा त जमानादेखि भएको कुरा हो ।

म सानो थिएँ, हाम्री आमालाई ग्याष्ट्राइटिस भयो । ग्याष्ट्राइटिसबाट अल्सर भयो भनेर आमाले यत्रो डिब्बाको औषधि खाएको त मलाई थाहा छ । डिब्बाका डिब्बा औषधि उहाँले उस जमानामा खानुहुन्थ्यो ।

पछि मैले एमबीबीएस गर्न थालेपछि हामीले त्योबेलामा मेडिकल कलेजमा कतिसम्म गथ्र्यौं भने ग्याष्ट्रिक निको नहुने बिरामी, हामीसँग औषधि थिएन । नाकबाट पाइप हालेर पेटमा दूध तुपुतुपु चुहाएर त्यहाँ रहेको एसिडलाई हामी माथ्र्यौं । त्यसरी हामी निको पाथ्र्यौं ।

अहिले साइन्सले ग्याष्ट्राइटिसको कारण पनि दियो र त्यसको जड पत्ता लगाइदियो । अब हामीलाई थाहा भो, ग्याष्ट्राइज औषधिले गर्छ, नराम्रो खानपानले गर्छ ।

एउटा ब्याक्टेरिया छ, हेलिको ब्याक्टर पाइलाेरी भन्ने । त्यो ब्याक्टेरियाले ग्याष्ट्राइज गर्दोरहेछ । गरीब मुलुकमा अधिकांश यो होलिको ब्याक्टर पाइलाेरी भन्ने ब्याक्टेरियाले गर्छ । अब हामीलाई थाहा भो । अब हामीलाई औषधि गर्न सजिलो भो । तर, ग्याष्ट्राइटिस हजारौं वर्षदेखि आएको हो ।

उहिलेका मान्छेले ‘गानो गोला’ भनेको यसैलाई हो ?

– त्यो गानो गोला अलि फरक छ । आन्द्रा अलि बढ्ता चलेर अप्ठ्यारो हुँदा त्यहाँ भुक्लुक्क हुनेमात्रै हो । ग्याष्ट्राइटिससँग यसको सम्बन्ध छैन ।

चालीस वर्ष पुगेपछि मान्छेले सकेसम्म शाकाहारी हुनु नै राम्रो हुन्छ । किनभने क्यान्सर मासुबाट पनि हुन्छ । बोसेआन्द्राको क्यान्सर मासुबाट पनि  हुन्छ ।

के यसो भन्न सकिन्छ- पुराना रोगहरु मासिँदै जान्छन् र नयाँ-नयाँ रोगले जन्म लिँदै जान्छ ?

– एक जमानामा यौनसम्पर्कबाट आउने सिफ्लिस आजकल देखिँदैन । अहिले संसारभरि नै देखिन कम भएको छ । तर, हामीले पढ्दाखेरि के थाहा पाएका थियौं भने हेलम्बु एरियामा सिफ्लिस बढी हुन्छ । तर, त्यहाँका मान्छेलाई सिफ्लिसले भए पनि नछुने ।

जस्तो एचआइभी अफ्रिकामा कमन छ । त्यहाँ यसले धेरै असर पार्दैन । एचआइभी छ, एड्स हुँदैन । एड्स भनेको रोग, एचआइभी भनेको संक्रमणको भाइरस हो । त्यस्तै अहिले इबोलाको कुरा छ । इबोला भनेको वेष्ट अफ्रिकामा भयंकर चर्को भएको छ । तर, त्यहाँ त पहिल्यैदेखि भइराखेको छ नि । जस्तै हाम्रोमा थारुहरुले मलेरिया पचाउँछन् ।

मानिसको शरीरले ब्याक्टेरियालाई पचाउने क्षमता विकास गर्छ । त्यसैगरी ब्याक्टेरियाले पनि औषधिसँग त्यसलाई पचाइदिने क्षमता विकास गर्छ । यो त हाम्रो लाखौं वर्षदेखिको विकासको नियम हो ।

हामी किन बाँचिराखेका छौं ? मान्छेको ‘रेस’ मरेर गएको छैन । हाम्रो ह्युमन रेसले प्रकृतिको प्रकोपबाट अडान लिन सक्यो । अनेक किसिमका ब्याक्टेरियाको प्रकोपबाट आफूलाई बचाएर मानिस अगाडि बढेको न हो ।

हाम्रो शरीरले धेरै शक्तिहरुसँग लड्ने पनि गर्‍यो । आखिर यो विकास हो । तर, ब्याक्टेरिया पनि त्यत्तिकै बलियो भएर आयो । म जति बलियो हुन्छु, ऊ पनि त्यत्तिकै बलियो हुन्छ । यसले गर्दा रोग रहन्छ । यो निर्मूल हुने चान्सै छैन ।

मलेरियाकै कुरा गरौं न । प्रशस्त डीडीटी छर्केर हामीले लामखुट्टे मार्‍यौं । अब मलेरिया एकदम कम भो भनियो । तर, केही वर्ष बितेपछि लामखुट्टेले डीडीटी पचाइदियो । अब अहिले डीडीटीले मलेरिया मास्न सकिन्न । भनेपछि यो इभोल्युसन (विकास) हो । भगवानको यो सृष्टि छ नि, यसमा हरेकलाई बाँच्ने अधिकार दिइएको छ । त्यसैले ग्याष्ट्रिक पनि हजारौं वर्षदेखि हामीसँग छ । खाली अहिले आएर यसको कारण पहिचान भएको छ । भोलि अर्को थपिन पनि सक्छ र औषधि अर्कै चाहिन पनि सक्छ ।

उहिलेका मानिस प्राकृतिक खाद्यमा निर्भर थिए, अहिले जंकफुडले गर्दा मानिस कमजोर बन्दै गएको हो ?

– यो त पक्कै हो । रोगको प्रक्रियामा हामी दुईवटा कुराको खुब ख्याल गर्छौं । एउटा हो जेनेटिक्स । मैले बाजे बराजुबाट लिएर आएको एउटा हुन्छ । सबै रोग जेनेटिकले मात्रै गर्दैन, बाँकी वातावरणले गर्छ । वातावरणमा किटाणुदेखि लिएर तपाईको रहन-सहन, जीवनशैली, खानपिन सबै कुराहरु आउँछन् ।

Sundar-mani

आज संसारको सबैभन्दा ठूलो समस्या दुईवटा छन् । एउटा खान नपाउने ग्रुप छ । अफ्रिकामा हेर्नोस् दशा कस्तो छ । खानै छैन । अर्कातिर यति बढ्ता खाना खान थाले कि दुबैलाई समस्या परेको छ ।

एकातिर खान नपाएर कुपोषण भएर हरेक ब्याक्टेरिया संक्रमण भएर मान्छे भुतुभुतु मरिराखेको छ । अर्कोतिर बढ्ता खाएर ‘मोर्डन’ रोगहरु, डायविटिज, हर्ट एट्याक, हाइपर टेन्सन, प्यारालाइसिस, क्यान्सर यी सबै खराब पोषणका कारण आइराखेका छन् । हाम्रो लाइफ स्टायल छैन । हामी व्यायाम गर्दैनौं ।

पछिल्लो समय नेपालमा क्यान्सर बढेको हो ?

– संसारमा क्यान्सर बढेको छ । यसमा जेनेटिक कारण त छ, नै, यसमा वातावरणको पनि असर छ । पोलुसन हो । ओजनको लेयरको कुरा छ यहाँ । आज वातावरणले कति मान्छेलाई क्यान्सर भएको छ । पोलुसनले कति मान्छेलाई रोग लागिरहेको छ ?

अलिकति व्यक्तिगत प्रशंगतिर जाऔं, तपाई भेजिटेरियन हो कि ननभेजिटेरियन ?

– म पहिले पूरै ननभेजिटेरियन थिएँ । पछि म भयंकर भेजिटेरियन हुँ । पढियो क्रिश्चियन स्कुलमा । बंगालमा पढियो । त्यहाँ त खाने माछा नै हो । पछि मुम्बई आएपछि शुद्ध शाकाहारी डाक्टरसँग पढियो । अहिले म पूरै पूरै शाकाहारी भएको छु । मैले मेरी आमा स्वर्गवास भएपछि सबैलाई भेजिटेरियन हौ भन्ने गरेको छु । आमा स्वर्गे भएको आज ३० वर्ष हुन लाग्यो ।

मासु खाँदाचाँहि के घाटा हुन्छ ?

– चालीस वर्ष पुगेपछि मान्छेले सकेसम्म शाकाहारी हुनु नै राम्रो हुन्छ । किनभने क्यान्सर मासुबाट पनि  हुन्छ । बोसेआन्द्राको क्यान्सर मासुबाट पनि हुन्छ ।

कोलस्टोर बढ्ने मासुबाट पनि हो । हार्ट एट्याक कोलस्टोरबाट बढ्छ । ब्रेनको अट्याक त्यसैबाट हुन्छ । त्यसैले मान्छेले सकेसम्म मासु खानै हुँदैन ।

तपाईलाई एउटा कुरा बताऔं । मैले एमबीबीएस पढ्दा किताबमा के लेखिएको थियो भने फस्ट क्लास प्रोटिन भनेको माछामासुमा पाइने प्रोटिन हो र सेकेन्ड क्लास प्रोटिन भेजिटेबल हो । आज त्यो पर्लक्कै फर्किएर संसारभरि के भएको छ भने फस्ट क्लास प्रोटिन भनेको भेजिटेवलबाट पाइने प्रोटिन हो र मासुबाट पाइने प्रोटिन सेकेन्ड र थर्ड क्लास प्रोटिन हो ।

भेजिटेवलको प्रोटिनले क्यान्सर गर्दैन । कोलस्टोर बढाउँदैन । हृदयाघात बढाउँदैन । त्यसले शरीरलाई स्वस्थ्य राख्छ । मासुले युरिक एसिड बढाउँछ । कोलस्टोर बढाउँछ । ब्लड प्रेसर बढाउँछ, हृदयाघात बढाउँछ । मान्छेको दिमाग पनि उल्टोपाल्टो गरिदिन्छ । क्यान्सर बढाउँछ ।

अर्कोतर्फ हेर्न हो भने एउटा जनावरलाई पालेर मासु बनाउनका लागि कति अनाज चाहिन्छ ? यो स्टडी भइसक्यो । मान्छेले जति जति कम मासु खान्छन्, उति हाम्रा लागि उत्पादन बढी हुन्छ । हामी जति शाकाहारी हुँदै गयौं, पृथ्वीको आयु उति लम्बिन्छ ।

त्यो एउटा जन्तु खाएर कतिजनालाई पुग्छ ? त्यो जन्तुले त हामीले पाँच वर्षमा खाने अनाज एकै महिनामा खाइदिन्छ । त्यसैले हामी शाकाहारी हुनैपर्छ । उपाय नै छैन हामीलाई । सुन्छु, समुद्रमा पनि माछाको संख्या धेरै घटिसक्यो ।

पहिले पहिले हामीले खाने मकै भटमास, रायोको साग र ढिँडो होइन र ? गुन्द्रुक होइन र ? हाज संसारभरि मकै भटमास, फाइबर, गुन्द्रुक यी सबैभन्दा बेस्ट पौष्टिक आहार हुन् भनेर आइसक्यो । अनि हाम वीर गोर्खाली किन नहुने ? अब हामी बर्गर, डोनट, पिज्जा, चाऊचाऊमा गइसक्यौं । अब कसरी हामी वीर हुन सक्छौं ?

मान्छेले खानपान विचार पुर्‍याउनुपर्ने कुरा के-के हुन् डा सा’प ?

अहिले डाक्टरीमा दुई-तीनवटा शब्द खुब महत्वपूर्ण छन् : एउटा हो लाइफ स्टायल म्यानेजमेन्ट अर्थात जीवनशैलीको व्यवस्थापन । अर्को बढी, माइन्ड, मेडिसन ।

बडी, माइन्ड, मेडिसिन भनेको के हो भने शरीरको मात्रै औषधि गरेर नहुँदोरहेछ । स्वस्थ्य शरीर, स्वस्थ्य मन । स्वस्थ्य मन, स्वस्थ्य शरीर । दुईवटै सन्तुलनमा चलेन भने, खराब मन भयो भने शरीर पनि खराब हुन्छ । कमजोर शरीर भयो भने मन पनि कमजोर हुन्छ । जस्तो, अहिले हाम्रो प्रधानमन्त्रीको स्थिति त्यही छ ।

कति डाक्टरले लगानी गरेर आफ्नो हस्पिटल बनाए । अब त्यो पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टर पाइँदैन, नसै पाइँदैन, दिनभरि टेन्सन हुन्छ

अहिले त्यही बडी, माइन्ड मेडिसिनकै कारण योगको यत्रो प्रचार भएको छ । ध्यानको यत्रो प्रचार भइरहेको छ । हाम्रो हिन्दू र वौद्ध धर्मले पहिल्यैदेखि भनेको कुरा हो नि यो । ध्यान गर । बिहान टाइममा उठ । टाइममा सुत । सन्तुलित भोजन गर । बढ्ता यो नखाऊ, बढता त्यो नखाऊ । भगवानको आरती गर । योग गर । यो त हाम्रो संस्कतिमा आएको कुरा हो । हामीले यो सप्पै मास्यौं । हामी पश्चिमी संस्कारमा गयौं । अब पश्चिमले भनिरहेको छ, ओहो, मेडिटेसन इज गुड । योगा इज गुड भन्न थालिसक्यो उसले । अब हामीले पनि यसलाई राम्रा भनेर आउँछौं क्या । हामीमा अलिकति दास मानसिकता छ । पश्चिमाहरुले भने ठीक, हाम्रा ऋषिमुनिहरुले भनेको बेठीक ।

अर्को कुरा हो लाइफ स्टायल । तपाई डाक्टर, प्रोफेसर, किसान, बस ड्राइभर वा जे हुनुहुन्छ, तपाईको लाइफ स्टायल महत्वपूर्ण छ । कसरी काम गर्नुहुन्छ, कति सुत्नुहुन्छ, कसरी उठ्नुहुन्छ, के खानुहुन्छ । रक्सी बढ्ता खानुहुन्छ कि, चुरोट बढ्ता खानुहुन्छ कि । खैनी सूर्ती खानुहुन्छ कि ? पाँचवटा श्रीमतीहरु राखेर हिँड्नुहुन्छ कि ? तपाई बेश्यालयमा जानुहुन्छ कि ? यो सबै कुरामा आफ्नो लाइफ स्टायललाई म्यानेज गर्नुपर्छ ।

यसभित्र पर्ने अर्को ठूलो कुरा हो टाइम म्यानेजमेन्ट । हाम्रा ऋषिमुनिहरुले ब्रह्म मुहूर्तमा उठ भने । बिहान सूर्य उदाउनुभन्दा डेढघण्टा अगाडि उठ । ब्रह्म मुहूर्त भनेको शान्त वातावरणमा तिमी आफ्नो पाठपूजा सब गर अनि काम गर्न थाल । त्यो समयमा तपाई धेरै काम गर्न सक्नुहुन्छ । दिमाग फ्रेस हुन्छ ।

बेलुका साँझ परेपछि प्रकृतिको नियमै छ, चराचुरुङ्गी गुँडमा जान्छन् । जनावरहरु आफ्नो दुलोमा पस्छन् । मान्छेले पनि दिनभरिको टेन्सन र स्ट्रेसलाई ‘अनवाइन्ड’ गर्ने टाइम हो ।

पहिले घडीमा दम दिने चलन थियो, बढ्ता दम दियो भने टडङ्ग गरेर स्पि्रङ भाँचिन्थ्यो । मान्छेको पनि त्यही हो । मान्छेहरु बिहानदेखि उठेर टाइम म्यानेज गर्दैनन् । अनि यता हतार, उता हतार गर्छन् । तीनवटा मिटिङमा दौडिएको छ, काम केही हुनेवाला छैन । खाने टाइम छैन, सुत्ने टाइम छैन । अनि के हुन्छ ? बेलुका पनि हामी आफ्नो काम बन्द गर्दैनौं ।

दिनभरि त समय खेर फाल्यौं फाल्यौं, राति पनि १२/१ बजेसम्म काम गर्छौं । कत्ति न काम गरेको भन्ठान्छौं, तर काम केही पनि हुँदैन । हाइ हाइ गर्दै, थाकेको मन, थाकेको शरीरले काम गरेपछि मान्छेको स्पि्रङ पनि घडीको जस्तै टुट्छ । अनि उसलाई हाइपर टेन्सन हुन्छ, ब्लड प्रेसर हुन्छ । सुगर हुन्छ । हार्ट एट्याक हुन्छ प्यारालाइसिस हुन्छ अनि फुतुफुतु मर्छ ।

हाम्रा ऋषिमुनिले के भनेका छन् भने साँझको टाइममा ध्यान गर । शायद सूर्यास्तको टाइम तिम्रा लागि ‘अनवाइन्ड’ गर्ने समय हो । दिनभरिको टेन्सनलाई, टाइट भएको स्पि्रङ्गलाई ‘अनवाइन्ड’ गर्ने टाइम हो ।

लाइफ इस्टायल म्यानेजमेन्टमा खानाको म्यानेजमेन्ट, समयको म्यानेजमेन्ट लगायत सबै कुराहरु आउँछ क्या । त्यसैले बडी, माइन्ड, मेडिसिनमा लाइफस्टायल म्यानेजमेन्ट र अन्तिममा आउँछ होलिस्टक हेल्थ ।

के हो यो हेलिस्टिक हेल्थ भनेको ?

अहिले हामीकहाँ मुटु विशेषज्ञ छाती विशेषज्ञ डाक्टरहरु छन् । तपाई मुटुरोग विशेषज्ञकहाँ जानुभयो भने ऊ मुटुमा मात्रै केन्दि्रत हुन्छ, उसले अरु केहीमा पनि वास्ता गर्दैन र जान्दा पनि जान्दैन । तपाईलाई खोकी लाग्यो भने तपाई छाती रोग विशेषज्ञकोमा जाने कि, मुटुको जाने कि ग्याष्ट्रोमा जाने ? तपाईलाई थाहा छैन ।

यसले के भैदियो भने तपाई मुटु, तपाई छाती, तपाई पेट, तपाई ग्याष्ट्रिक, यो हिसाबले डाक्टरले हेरिदिन थाले । हेर्न पर्ने के हो भने होलिस्टिकली, बिरामीलाई समग्रमा हेर्नुपर्ने हो । तपाईको शरीरमा के छ, मनमा के छ, सबै हेर्नुपर्छ ।

मकहाँ टेन्सन भएका व्यापारीहरु आउँछन्, उनीहरुलाई ब्लड प्रेसर छ, सुगर छ । म उनीहरुलाई औषधि लेखिदिन्छु । उनीहरुका कुरा सुन्छु, उनीहरु भन्छन्, मेरो लगानी फसेको छ, रातभर निद्रा आउँदैन । रातमा नसुतेपछि त मान्छेलाई ब्लडप्रेसर भइहाल्छ नि ।

त्यसैले हामीले होलिस्टिक हेल्थमा जानुपर्छ । बडी, माइन्ड र स्पिरिट । त्यसमा हामी गएनौं भने बिरामीलाई टेस्टहरु असाध्यै महंगो पर्छ । मैले पाँच मीनेट बढ्ता बिरामीसँग कुरा गर्दिएँ भने उसको आधा रोग खत्तम हुन्छ ।

यसो गर्दा बिरामीलाई खर्च बढी पर्दैन । म मेरा विद्यार्थीलाई पढाउँदा के भन्छु भने तिमीहरु विरामीलाई पाँच मिनेट समय देऊ र उसको पाँच हजार रुपैयाँ बचाइदेऊ । अहिले त १० हजार बचाइदेऊ भने पनि हुन्छ । मेरो भनाइ के हो भने डाक्टरहरुले बिरामीसँग अलि बढ्ता अन्तरक्रिया गरिदेऊ । मैले पढेको जर्नलमा लेखिएको छ, डाक्टरले बिरामीलाई कमसेकम छोइदेऊ ।

अहिले त के सम्म गर्छन्, बिरामीको डाटा हेर्छन् । हामीले बिरामी छुनुपर्छ । जाँच्नुपर्छ । आजको दिनमा संसारभरि ९० प्रतिशत बिरामीहरुले राम्रो उपचार पाएका छैनन् ।

नेपालमा डाक्टरले बिरामीसँग झर्कोफर्को गरेको सुनिन्छ नि ? नर्सले फर्लोरेन्स नाइटिङगेलको आदर्श बिर्सिसके….

Sundar-mani-1– यो समस्या बढेको छ । उही त हो नि लाइफ स्टायल म्यानेजमेन्ट । कुरा के भनेदेखि सबैलाई पैसा चाहिएको छ । कति डाक्टरले लगानी गरेर आफ्नो हस्पिटल बनाए । अब त्यो पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टर पाइँदैन, नर्स पाइँदैन, दिनभरि टेन्सन हुन्छ ।

उपकरणहरु ल्याउनुपर्‍यो, एउटा उपकरणको ७० लाख, ८० लाख, २ करोड, ३ करोडसम्म पर्छ । उपकरण ल्याउँछन् र ग्राण्ड हस्पिटल भन्छन्, सेन्टर अफ एक्सलेन्स भन्छन्, तर बिरामीको चाप त आउँदैन । नआएपछि के हुन्छ ?

त्यो डाक्टर, जसको दिमाग बिरामीमा जानुपर्ने र स्वच्छ मन हुनुपर्नेमा उसको दिमागमा जुनबेला पनि पैसा कसरी उठाऔं, पैसा तिरौं मात्रै होइन, म आफैं पनि पैसा कसरी कमाऔं भन्नेतिर जान्छ । मेरो घरमा स्विमिङ पुल छ कि छैन, मेरो कतिवडा पजेरो मोटर छ, हेर्नुपर्‍यो । छिमेकीभन्दा म धनी छु कि छैन हेर्नुपर्‍यो । मेरो श्रीमतीको यति गहना छ कि छैन, म विदेशको टि्रप कति लगाउँछु । यो सबै सिको भयो ।

डाक्टरले पनि नेताको देखासिकी गरेका हुन् ?

– पोलिटिसियनले यसै गर्छ । व्यापारीले गर्छ । मैले पनि गर्नुपर्‍यो भन्ने डाक्टरमा पनि आयो । डाक्टरले असाध्यै बढ्ता लागनी गरे । लगानी उठाउनैपर्‍यो । अर्कोतिर उनीहरुभित्र सेवाको भावना धेरै घट्यो र पैसा कमाउनेतिर लागे ।

यसमा डाक्टरको मात्रै दोष छैन । सोसाइटी जस्तो, डाक्टर उस्तै । सोसाइटी जस्तो, पोलिटिसियन उस्तै । र, पोलिटिसियन र डाक्टर जस्तो, सोसाइटी पनि उस्तै । यो त परस्पर कुरा हो ।

तर, म डाक्टर भएर बिरामीलाई राम्रोसँग हेरें, उसको मैले घाँटी रेटिँन र उसलाई मैले धेरै खर्च गराइँन भने सोसाइटी पनि त एक कान, दुई कान राम्रो हुन्छ नि ।

बिरामीचाँहि कस्ता-कस्ता भेटिन्छन् ?

– बिरामीहरु पनि कहिलेकाहिँ झगडै गर्छन् । उपचार गर्दागर्दै विरामी मर्न सक्छन् । डाक्टरले मार्छु त भन्दैन नि । बिरामी मर्नेवित्तिकै पैसा नतिर्नका लागि ढुंगामुढा गर्दिने । हस्पिटलै ध्वस्त पारिदिने । यो विकृति जुन छ, यो परस्परै छ ।

तर, यति हुँदाहुँदै पनि अज्ञानी जनतालाई नभनौं । डाक्टरहरु पढेलेखेका, सबैभन्दा माथिल्लो वर्गका हुन् । कुनै पनि डाक्टर खान नपाउने छैनन् । उसका बाबुआमाले राम्रोसँग खान लाउन दिएको मान्छे नै डाक्टर बनेको हुन्छ । गरीवको त ठाउँ नै छैन ।

डाक्टर खाए लाएको परिवारबाट आएको छ, झन खाए लाएको बनेको छ । पढेलेख्या छ, ऊ सबैभन्दा सम्वेदनशील हुनुपर्‍यो । सभ्य हुनुपर्‍यो । उसले मैले खाइरहेको छु, मेरो मोटर छ, म सम्पत्ति नभएको भए डाक्टर हुने नै थिइँन भन्ने सोच्नुपर्‍यो । चेपाङले त डाक्टर बन्न सक्दैन नि । डाक्टरले अब समाजलाई के दिऔं भन्ने सोच्नुपर्‍यो । राष्ट्रलाई के दिऔं भन्ने सोच्नुपर्‍यो । आफ्नो मात्रै स्वार्थ हेर्न भएन ।

तपाई डाक्टर नै किन बन्नुभएको ? डाक्टर बन्ने सोचाइ कसरी आयो ?

– सन् १९४५ तिर मेरी आमाको अप्रेसन गर्नुपर्‍यो कोलकातामा । त्यहाँ डक्टर ललितमोहन ब्यानर्जी भन्ने डाक्टर हुनुहुन्थ्यो । त्यसबेला उहाँ भारतको सबभन्दा नामूद सर्जन हुनुहुन्थ्यो । उहाँ नेपाली पनि पोख्त बोल्नुहुन्थ्यो । उहाँ नेपालमा आएर राजपरिवारमा चक्कु पनि चलाएको मान्छे हो । त्यसबेला नेपालका प्रतिष्ठित व्यक्तिहरुले कोलकाता गएर उहाँसँगै अप्रेसन गराउँथे ।

नेपालमा ठुल्ठुला डाक्टरहरु पोलिटिक्समा गए । म त पोलिटिक्समा हैन, समाजसेवामा गएको हुँ । पोलिटिक्समा जानेहरु विस्तारै पत्रु हुँदै आखिर पानीमा बिलाएर गए नि त

मेरा बाबा मदनसमशेर जरसा’बको प्राइभेट सेक्रेटरी हुनुहुन्थ्यो । त्यही नाताबाट चिठी लिएर कोलाकाता गएर आमाको अप्रेसन भयो । म त्यतिबेला सानो रहेंछु । आमालाई एक तलामाथि राखेको थियो वार्डमा । म तल ढोकामा खेलिरहेको रहेंछु । त्यहाँबाट सर्जन डा. ब्यानर्जीले मलाई बोकेर एक तलामाथि जानुहुँदोरहेछ । नेपाली बोल्ने भएपछि माया त बस्दोरहेछ । उहाँले के भन्नुहुँदोरहेछ भने ‘तिमी डाक्टर बन्नुपर्छ ।’ त्यो मेरो दिमागमा घुसेछ ।

तपाई नागरिक आन्दोलनको अगुवा पनि हुनुहुन्छ, डाक्टरी पढाइले कस्तो असर पारेको छ ?

– मलाई पक्का विश्वास छ कि म डाक्टर नभएको भए अर्थोक केही पनि हुन सक्ने थिइँन । शायद म साधु हुन्थें होला । डाक्टर नभएको भए अरु उपाय नै थिएन मसँग । डाक्टरी पेशाबाहेक मेरालागि अरु केही हुनै सक्दैन ।

म तपाईलाई एउटा ठूलो साइन्टिसले भनेको कुरो सुनाउँछु । यो भिरच्युले भनेका हुन्, ‘डाक्टरी पेशा एउटा सोसियल साइन्स हो, राजनीति एउटा विस्तृत अर्थमा डाक्टरीभन्दा अर्थोक केही होइन ।

हामी बिरामीको नजिक पुग्छौं, टेस्टहरु गर्छौं एनालाइसिस गछौर्ं र समस्याको समाधान गर्छौं । राजनीति गर्नेहरुले राष्ट्र अथवा समाजको समस्या के हो भनेर रिसर्च र टेष्ट गर्छन् र समाज वा राष्ट्रलाई स्वस्थ्य राख्छन् । म कुनै पनि मानिसलाई रोगी देख्न सक्दिँन र उपचार गर्छु । राष्ट्रभित्र पनि अन्धकार देखियो भने हाम्रो दायित्व नै बन्छ कि केही गरौं । यस्तो भावना भित्रैबाट उम्लिएर आउँछ ।

रोगी मान्छेजस्तै रोगी समाज र देश देखेपछि तपाईलाई त्यसको पनि सामाजिक उपचार गरौं गरौंजस्तो लाग्दोरहेछ हैन ?

– मकहाँ कति पोलिटिसियनहरु आउनुभएको छ । मेरो पार्टीमा लाग् भन्दै आउनुभएको छ । उहाँहरु कसरी भन्नुहुन्छ थाहा छ ? डा. सा’प तपाईले रोगीहरुलाई धेरै सेवा गुर्न भो । अब देश नै रोगी भएको छ, तपाईले केही गर्नोस्, हाम्रो पार्टीमा आउनोस् भनेर मलाई भन्नुभएको छ ।

Sundar-mani-2

जवाफ के दिनुहुन्छ ?

– मेरो स्ट्रेन्थ, मैले पढेको मेरो विद्या, मेरो बुद्धि, मेरो अनुभवले म डाक्टरी मात्रै हुँ । मेरो यो अनुभवबाट केही दिन सक्छु भने म दिन्छु, तर, मेरो स्टाटस मैले छोडेर अन्यत्र गएँ भने मेरो यो शक्ति क्षीण हुन्छ । तान्त्रिक विद्यामा शक्ति प्रयोग गर्दै गएपछि त्यो क्षीण हुन्छ । मेरो पनि समाजमा धेरै पेशागत लगानी छ । यो लगानी मै खर्चमात्रै गरें भने मान्छेले मलाई दुई दिन सुन्लान्, तीन दिन सुन्लान्, मेरो पछि पनि लाग्लान् । तर, मेरो शक्ति विस्तारै क्षीण भएर जान्छ । अनि मान्छेले के भन्न थाल्छन् भने ए त्यो सुन्दरमणि ? त्यसले एक जमानामा औषधि गथ्र्याे भन्न थाल्छन् ।

त्यसैले मेरो पेशा र जगलाई छाडेर यताउति जानुहुँदैन । म जे गर्छु, त्यही भावनाले अघि बढें भने दिमाग पनि फ्रेस हुन्छ । समाजको पनि के गल्ती भएको छ भने ट्याक्कै भन्न सक्छु र हल पनि दिन सक्छु । तर, मैले सबै छाडेर त्यतातिर गएँ भने म पत्रु हुन्छु ।

नेपालमा ठुल्ठुला डाक्टरहरु पोलिटिक्समा गए । म त पोलिटिक्समा हैन, समाजसेवामा गएको हुँ । पोलिटिक्समा जानेहरु विस्तारै पत्रु हुँदै आखिर पानीमा बिलाएर गए नि त ।

कसलाई भन्न खोज्नुभएको ? डा. उपेन्द्र देवकोटा ?

– उपेन्द्र धेरै तलका भए । उनी हैनन् । डा. तुल्सी गिरी । उनी मेडिकल डाक्टर हुन् । त्यत्रो प्रधानमन्त्रीसम्म भएको, त्यत्रो राजकाज हाँकेको, वीपी कोइरालाको दाहिने हातै भएको मान्छे, तर उनको शक्ति क्षीण हुँदै गएर अब ह्वेर इज तुल्सी गिरी ?

हामीले त रोग पहिचान गर्ने हो, सुझाव दिने हो । हामीजस्तो पेशा गर्ने मान्छेले कुनै पनि पार्टीको अचानोमा आफ्नो टाउको राख्नुहुँदैन । हामी आफ्नो पेशामा बफादार हुनुपर्छ । यसो गर्न सक्यौं भनेमात्रै सही अर्थमा समाज सेवा गरेको ठहर्छ ।

प्रस्तुती-अरुण बराल/सुरेश भुसाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment