Comments Add Comment

दसैंको जोसमा होस पुर्‍याउनुपर्ने चार दर्जन टिप्स

कृष्णहरि बास्कोटा, पूर्वसचिव

नेपालीको महान पर्व दसैंमा सबैलाई केही न केही गर्ने जोस जागृत हुन्छ । तर, प्रत्येक काम गर्दा होस पुर्‍याउन नसके त्यसको क्षति आफैंले बेहोर्नुपर्छ । त्यसैले दसैंमा होस पुर्‍याउनुपर्ने कुराहरु धेरै छन् ।

Dashain-tikaदसैंमा होस पुर्‍याउनुपर्ने कुरा

दसैंमा खुब खान मन लाग्छ । अपच हुने गरी खाएमा बिरामी भइन्छ । दसैंमा नयाँ कपडा किन्न मन लाग्छ, मूल्य नबुझी हतारिएर खरिद गर्दा ठगिइन्छ । टिकट बुकिङ्ग नगरी घर जाने तरखरले बसपार्क पुग्दा मूढामा बसेर यात्रा गर्नुपर्छ । नबुझी सिङमा रातो रंग लागेको खसी किन्दा अष्टमी नवमीको मार हान्नुपूर्व नै रोगले खसी मर्न सक्छ ।

दसैंमा प्रहरी पनि विदामा घर गएका होलान् भन्ने ठानेर मदिरा सेवन गरी सवारी चलाउँदा टीका थाप्नु पर्ने दिन मापासे कारवाहीमा मामाघर पुग्न सकिन्छ । दसैंको जोसमा जुवा खेलेमा वा हार-जीतको तास खेलेमा पक्राउ परिन्छ ।

अर्कालाई वा छिमेकीलाई डिष्टर्व हुने गरी हो-हल्ला गरेमा वा ठूलो स्वरमा लाउडस्पिकर बजाएमा हेलो सरकारमा उजुरी परी सार्वजनिक प्रतिष्ठामा आँच आउन सक्छ ।

दसैंको विदा भनी राम्ररी ढोका झ्याल बन्द नगरी दिनदिनै घरबाट गायव हुँदा घरमा चोरी हुन सक्छ ।
यिनै कारणहरुले गर्दा दसैंलाई मर्यादित ढंगले पूर्ण होस राखेर जोशका साथ उल्लासमय वातावरणमा मनाउनुपर्छ ।

बजारमा सामान किन्दा हुन सक्ने मिसावट

बजारमा मिसावटको व्यापकता छ । यसर्थ सामान खरिद गर्दा जागरुक उपभोक्ता भएर मार्केटिङ्ग गर्नुपर्छ । मुख्य मिसावट हुने वस्तु र क्षेत्रको जानकारी राख्नुपर्छ ।

खसीको मासुमा बाख्रीको मासु मिसाइन्छ । यसर्थ आफ्नो हैसियतअनुसार राजखानी रहेको भागबाट मासु दिन पसलेसँग अनुरोध गर्नुपर्छ र त्यसमा अन्य चौटा थप्न दिनु हुँदैन ।

गाई भैसीको घिऊमा डाल्डा, आलु, पिँडालु मिसाइन्छ । यसर्थ, विश्वासिलो पसलबाट वा ब्राण्डेड, प्याकेजिङ्ग घिऊ खरिद गर्नुपर्छ ।

महमा चिनीको चास्नी मिसाइन्छ । यसर्थ, उत्पादककहाँ नै गएर घरेलु मह खरिद गर्नुपर्छ वा व्राण्डेड र प्याकेजिङ्ग मह नै खरिद गर्नु पर्छ ।

जीरा, धनियाँ लगायतको धुलो मसला खरिद गर्दा ढुटो लगायतको फोहोर खाइने संभावना वढी हुन्छ । यसर्थ विश्वासिलो ब्राण्ड खरिद गर्नुपर्छ वा गेडा जिरा, धनियाँ, मरिच, खुर्सानी, गरम मसला खरिद गरी निफनेर सफा पारी मिलमा लगेर पिस्नु पर्छ ।

महंगो चामलमा सस्तो चामल मिसाइन्छ । विशेषगरी लङ्ग ग्रेनको चामल र मसिनो चालममा बढी मिसावट हुने गर्दछ । यसर्थ विश्वासिलो ब्राण्डको बोरा नै खरिद गर्नुपर्छ । खुल्ला चामल खरिद गर्दा होस पुर्‍याउनुपर्छ ।

फलफूल पसलेले सस्तो र महंगो स्याउ, अनार, सुन्तला मिसाएर राखेका हुन्छन् । यसर्थ अग्रभागका ग्राहकलाई लोम्याउन राखिएका दाना वा चाख्न दिएको दानाको रंगअनुसार रातो वा फिक्का गुलावी वा कफी कलर र ईंट्टा कलरको दाना छान्नुपर्छ । यसरी फलफूल छान्दा कति परिमाणमा खरिद गर्ने हो, त्यतिमात्रै छान्नु पर्छ धेरै छान्दा पसलेले मिसाएको दाना चिन्छ र ती झोलामै रहन दिन्छन् । सक्कली दाना झोलाबाट झिकिदिन्छ ।

खुवामा पीठो मिसाइन्छ । यसर्थ अपरिचित स्थान र व्यक्तिसँग खुवा किन्दा विचार गर्नु पर्छ ।
गाई भैंसीको दूधमा पाउडर मिसाइन्छ । घरमा चार माना दुध दिने गाई पालेका ग्वालाले दिनहुँ ४० लिटर दुध पोकामा बेच्ने गर्दछन् । यसर्थ बिक्री गर्ने मानिस विश्वस्नीय छैनन् भने डेरीको प्याकेट दुध नै खरिद गर्नु उत्तम हुन्छ ।

ठण्डा बरफमा इनामेल हालिन्छ । यसर्थ आफ्ना केटाकेटीलाई बाटोमा बिक्री गर्न राखेको पाँच/दश रुपैयाँको ठण्डा बरफ नखानु भनी सिकाउनुपर्छ ।

परवरलाई हरियो रंगमा डुबाइन्छ । यसैगरी गोलभेडालाई पनि केमिकल राखेको पानीमा डुवाइन्छ । यसरी अत्यधिक हरियो देखिएको परवर र अत्यन्त लाल दाना देखिएका गोलभेडा किन्दा होसियारी अपनाउनु पर्छ ।

मासको दालमा पोलिस लगाइएको हुन्छ । यस्तो दाल हातमा लिँदा दाल दाल ठोक्किएर बज्न थाल्छन् । रहरको दालमा पनि पोलिस गरिन्छ । यसर्थ पोलिस नगरेको दाल नै शरीरका लागि लाभदायक हुन्छ ।
जिम्बुमा घाँस लगायतका झार-पात मिसाइएको हुन्छ । यसर्थ विश्वासिलो पसलबाट खरिद गर्नुपर्छ ।
ताजा मम भनेर फ्रोजन मम बिक्री गर्ने रेष्टुरा पनि प्रशस्त छन् । फ्रोजन मम नै खाने हो भने घरमा ल्याएर पकाएर खाँदा सस्तो पर्छ र स्वाद अनुसारको अचार बनाउन सकिन्छ ।

चियापत्तीमा महंगोमा सस्तो मिसाइन्छ । प्रयोग भैसकेको चियापत्तीबाट पुनरुत्पादन हुने शंका पनि गरिएको छ । यसर्थ खुल्ला चियापत्ती खरिद गर्दा विश्वसनीय पसलबाट खरिद गर्नु पर्छ । अन्यथा ब्राण्डेड प्याकेजिङ्ग नै किन्नु वेश हुन्छ ।

सबै चिज मिसाइएको गरम मसलाको प्याकेट, सबै गेडागुडी मिसाएको क्वाँटी, सबै प्रकारका मिठाई मिसाएको प्याकेट, सबै मसला मिसाइएको काजु र किसमिसको प्याकेट किन्नु भन्दा आफ्नो हैसियत अनुसार यी वस्तु छुट्टा-छुट्टै खरिद गरी आफूले घरमा ल्याएर सफा गरी मिसाउनु बढी लाभप्रद छ । अन्यथा मूल्य र गुणस्तर दुवैमा सम्झौता गर्नु पर्ने हुन्छ ।

फाइल तस्वीर
फाइल तस्वीर

मिसावट जान्ने तरिका पनि छ !

कैयौं वस्तुमा हुने मिसावट पहिचान गर्ने केही खास विधि पनि छन् । जीवनमा सामान्य कुरामा मात्रै ख्याल पुर्‍याउँदा पनि कैयौं मिसावटबाट जोगिन सकिन्छ ।

बासी मासु बेच्ने पसलेले ग्राहकले मासुको खराव गन्धबारे चाल नपाउन् भनी पसलमा अगरवत्ती धुप बालेको हुन्छ ।

आफूले किनेको पटक-पटक मासु फ्रिजमा राख्ने र झिक्ने गर्दा पनि यसमा दुर्गन्ध र संक्रमण फैलिन्छ । यसर्थ घरको फ्रिजमा मासु राख्दा पनि प्रत्येक छाकको लागि छुट्टाछुट्टै प्याकेट वनाउनु पर्छ ।

पाउडर हालेर फलफूल पकाइएको हुन्छ । यस्तो केरा समाउने बित्तिकै समूहबाट छुट्टनिे अवस्थामा छ वा केराको माथिल्लो भागमा पाउडर जस्तो देखिन्छ वा कालो भएको छ भने पकाउने पाउडर हालेको भन्ने बुझिन्छ ।

खाने तेलमा मिसावट भएको छ भने तेल तताउँदा अस्वभाविक खार आउँछ, भान्छा कोठा पनि दुर्गन्धित हुन्छ ।

सफा सिसाको गिलासमा पानी राखी एक चम्चा मह घोली एकै छिनपछि हेर्दा शुद्ध मह भए पानीमा घुल्छ, चिनी मिसाएको भए गिलासको पिँधमा केही वस्तु निथ्रेको जस्तो देखिन्छ ।

शुद्ध बेसार हालेर पकाएको दाल वा तरकारी खाएपछि हात धुँदा हात सफा हुन्छ । रंग हालेको बेसार भए दुई-तीन पटक सावुन लगाउँदा पनि हात पहेलै हुन्छ ।

यही कुराबाट अविर केशरीको मिसावट पनि जान्न सकिन्छ । निधारमै घोटी-घोटी साबुन लगाउनु पर्ने अविर-केशरी मिसावटयुक्त हो भनी बुझ्नुपर्छ ।

शुद्ध खुर्सानीको धुलोलाई गिलासको पानीमा घोल्दा कुनै प्रतिक्रिया दिँदैन । इट्टाको धुलो वा रंग मिसाएको खुर्सानीको धुलोले पानीलाई रातो रंगमा परिणत गरिदिन्छ ।

राम्रो दूधबाट तयार गरिएका मिठाइका परिकारहरु मुखभित्र राख्ने वित्तिक्कै पग्लिन थाल्छन् । एक प्रकारले गुणस्तरीय चकलेट खाएझै हुन्छ । पीठो मिसाएर बनाएका मिठाईलाई राम्ररी चपाउनुपर्छ र यसले पेट दुखाउछ ।

खसीको मासुमा बाख्री, भेडा, च्याङ्ग्रा र राँगाको मासु मिसाइएको छ भने कुनै चौटा पाक्ने र कुनै चौटा नपाक्ने हुन्छ ।

कैयौ मिठाइ पसलेले चिनीको सट्टा स्याकरिन प्रयोग गर्छन् । खुवामा पीठो मिसाउँछन् । बिगि्रएका सबै मिठाईलाई धुलो-पीठो बनाएर गुँदपाक बनाउँछन् । मिठाइमा अखाद्य रंग राखी अस्वभाविक रंगका मिठाइ बनाउँछन् । यसर्थ विश्वासिलो पसलबाट मात्रै मिठाइ खरिद गर्नु पर्छ ।

अधिकांश वस्तुमा सहजै मिसावट जान्न सकिन्न । यसर्थ घरमै ताजा खानेकुरा पकाएर खानु बढी श्रेष्यकर हुन्छ ।

हरियो तरकारीमा विषादी हालेको हुन सक्छ । ढलजस्तो खोलाको पानीमा पखालेको हुन सक्तछ । यसर्थ आईपिएम पद्दति लागु भएका स्थानमा फलेका तरकारी र अर्गानिक खेतीका तरकारी खरिद गर्नु पर्छ । यस्तो गर्न संभव नभए घरमा ल्याएर सफा गर्ने र केही दिन बासी तुल्याएर खाँदा केही हदमा भए पनि हानिकारक विषादिको दुष्प्रभाव न्युन हुन्छ ।

जेष्ठ नागरिकलाई के उपहार दिने ?

दसैंमा हजुरबा, हजुरआमा, वा, आमा र सोसरहका मान्यजनलाई सधैं बाटोमा बेच्न राखेको टोकरीको फलफूल उपहार दिने गर्नुभएको छ ? कि पसलमा पाइने मसलाको प्याकेट दिने गर्नुभएको छ ? कि मिठाइ पसलबाट एक प्याकेट मिठाइ किनेर दिने गर्नुभएको छ ? कि वर्षेनी नयाँ कपडा दिने गर्नुभएको छ ? सधै यही उपहार पाउदा उहाँहरु पनि दिक्क हुनु भएको होला, यस पटक नौलो उपहार दिनुहोस् न ल ! हजुरबा-हजुरआमाका लागि कोसेली दिने मेरा प्रस्ताव निम्न छन् :

जाडो महिनामा तातो चिया वा दूध पिउन नेपाल लेखिएको कप उपहार दिउँ ।
सधै लोसेडिङ्ग हुने भएकाले सानो तर टिकाउ हुने, सिरानमुनी राख्न मिल्ने टर्च लाईट उपहार दिउँ ।
बा, आमा, हजुरबा, हजुरआमाको ओछ्यान नयाँ देखाउन तन्ना उपहार दिउँ ।

जाडो महिनामा कठांग्रिएका हात र खुट्टा सेकाउन हर्ट ब्याग उपहार दिउँ ।
बा, आमा, हजुरवा, हजुरआमा छुट्टै कोठामा बस्नुहुन्छ भने र बोलाउन कठिनाइ छ भने रिमोट कन्ट्रोलले चल्ने घण्टी उपहार दिउँ । ता कि उहाँहरुलाई चाहेका बखत परिवारका सदस्यलाई बोलाउन सजिलो होस् ।
पानी तातो राख्न र सजिलै खन्याएर खान मिल्ने थर्मस उपहार दिउँ ।

लौरो टेक्नुपर्ने उमेर र अवस्था छ भने लौरो किनिदिउँ । छाताले लौरो र धाम-पानी दुबै छेक्ने काम गर्ने हुँदा टेक्न मिल्ने छाता उपहार दिउँ ।

दसैं जाडोको मुखमा पर्ने हुँदा हल्का ब्लाङकेट उपहार दिउँ, ता कि न्यानोसहित सञ्झना रहोस् ।
घरमा छैन भने एउटा कोठा तताउने हिटर उपहार दिउँ ।

सोधेर जे आवश्यकता छ, सोही उपहार दिउँ ।

वयस्कलाई उपहार दिनु पर्दैन

सामान्यतः उत्पादनशील उमेरका र स्वआर्जन गर्ने मान्यजनलाई दसैंमा उपहार दिनुपर्दैन । उहाँहरुसँग आर्शिवाद लिने हो । तथापि केही विशेष व्यक्तिलाई उपहार नदिई रहन सक्नुहुन्न भने निम्न उपहार दिन सिफारिस गर्दछुः

बजारमा निकै राम्रा नेपाली किताव उपलब्ध छन्, किताब उपहार दिउँ ।

सानो चिटिक्क परेको स्ट्याण्डसहितको नेपाली झण्डा उपहार दिउँ । धेरै नेपालीको घरमा नेपाली झण्डा भएझै लाग्दैन । कानुन र सोचमा कमी छ ।

नेपालको विशिष्ट पहिचान सगरमाथा, लुम्विनी, जनकपुरधाम, पशुपति, हिमाल, हरियो पहाड, उर्वरभूमि तराई झल्किने पोष्टर वा वस्तु उपहार दिउँ ।

जीवनका लागि उपयोगी कुनै महापुरुषको भनाइ रहेको पोष्टर उपहार दिउँ ।

कुनै एउटा पत्रिकाको वाषिर्क वा अर्ध-वाषिर्क ग्राहक खरिद गरेर सो को रसिद उपहारमा दिन सकिन्छ ।

दक्षिणा : ज्येष्ठ नागरिक र केटाकेटीलाई

दसैंमा सामान्य दक्षिणा दिनुपर्छ । यस्तो दक्षिणा जेष्ठ नागरिक र केटाकेटीलाई मात्रै दिने अभियान उपर बहस भैरहेको छ । ज्वाइँ, भाञ्जालगायतलाई पनि आर्शिवाद दिने हो, दक्षिणा दिने होइन ।

एकैपटक चलीआएको परम्परा तोड्न अप्ठ्यारो होला । यसैले दक्षिणास्वरुप दस, बीस रुपैयाँ लिनेदिने गर्नुपर्छ । यसमा तडक-भडक गर्नुहुँदैन । यस्ता कुरालाई खिसि-चिपि्र गर्नुको साटो समाज परिवर्तनको अभियानमा अभियान्ता बनौं ।

भेटघाटको प्रसंग

दसैंमा लामो छुट्टी हुन्छ । यसैले आफूले भेट्नुपर्ने मानिसको लिष्ट बनाएर भेटघाट गर्नुपर्छ । कुनै पनि व्यवसायमा रहेका व्यक्तिले सो क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई भेट्नुपर्छ । लामो समयदेखि भेट्न नपाएका साथीसँग भेट्नुपर्छ । बिदेशबाट कोही नातेदार वा साथी-भाइ नेपाल आएका छन् भने भेटघाटको समय मिलाउनुपर्छ ।

स्कुलको समयका साथी, क्याम्पस पढ्दाका दौंतरी वा पुरानो कार्यालयका साथीहरुसँग समूहमा भेट्दाको मज्जा बेग्लै हुन्छ ।

घुमफिर कार्यक्रमः

दसैंमा नौलो ठाउँको घुमफिरमा निस्किनुपर्छ । काठमाडौंमा बस्नेले फुलचोकी वा सुन्दरीजल वा नगरकोट क्षेत्रको एकदिने पदयात्रा गरेर रमाउन सकिन्छ । दुई तीन दिन परिवारसहित लङ्ग ड्राईभ वा लङ्ग टुरले पनि बेग्लै मज्जा दिन्छ । यही मौकामा नेपालभित्र रहेका शक्तिपीठ र प्रसिद्ध स्थानमा जानु उत्तम हुन्छ । तिनमा खोटाङ्गको हलेसी महादेव, दोलखाको भीमसेन, बाराको गढीमाई, छिन्नमस्ता, गोरखाको मनकामना र गोरखनाथ, वाल्मिकी आश्रम, देवीघाट, देवघाट, त्रिवेणी, प्युठानको स्वर्गद्वारी, मुस्ताङ्गको मुक्तिनाथ र रसुवाको गोसाइँकुण्ड पुग्न सकिन्छ । यसैगरी रिडी, रेसुङ्गा, दामोदर कुण्ड, पाल्पाको भैरवस्थान र ऋषिकेश, सुर्खेतको काँक्रेबिहार, अछामको वैद्यनाथ, बढीमालिका लगायतका स्थानको भ्रमणमा निस्कन सकिन्छ ।

हाकिमको घरमा टीका थाप्न जानुपर्दैन

दसैंमा मान्यवरहरुबाट टीका लगाउने हो । नातामा आफुभन्दा माथिको हातबाट टीका लगाईन्छ । जन्म दिने बा आमाका हातबाट टीका थाप्नै पर्छ ।

मुलुकका राष्ट्रपति महोदय कहाँ पुगेर टिका थाप्न सकिन्छ । अन्य आफ्ना हाकिम कहाँ चाकडीस्वरुप टीका थाप्न जानुपर्दैन । यस्तो प्रचलन कतै बाँकी छ भने पनि रद्द गर्नुपर्छ । तर, कार्यालय परिवार बसेर एकापसमा टीका लगाउन, भोज खान र रमाइलो गर्न कुनै बाधा छैन । विशेष गरी सेना र प्रहरीले ब्यारेकमा आपसी प्रेमका साथ दसैं मनाउँछन्, यसलाई चाकडी भनिदैन ।

आफ्नो पेसाको उच्च व्यक्तिको हातबाट टीका लगाउनु वेश हुन्छ । साहित्यकारहरु राष्ट्रकवि माधव घिमिरेकहाँ जानु उचित हुने ठान्दछु । संस्कृतिविद्हरु सत्यमोहन जोशीकहाँ पुग्नु पर्छ । हुतराम वैद्य हुनु भएको भए वागमती सफाइका अभियन्ताहरु उहाँकोमा टीका लगाउन जानु बेश हुन्थ्यो ।

यसैगरी पत्रकारहरु आफ्ना वरिष्ठकहाँ, निजामती कर्मचारीहरु पनि आफ्ना निकै जेष्ठ निवृत्त आग्रजकहाँ पुग्दा बेसै हुने ठान्दछु । यसरी समाजका विभिन्न विधा र पक्षका शीर्षव्यक्तिको हातबाट दसैंको टीका लगाउनु उत्तम हुनेछ ।

खानपीनमा सतर्कताः

दसैंमा जथाभावी खाने प्रचलन ठीक होईन । क्रमशः काटमार कम गर्नुपर्छ । सानो परिवारले सिंङ्गै खसी खाने आँट गर्नुहुँदैन । दैनिक पसलबाट ताजा मासु किनेर ल्याई खाँदा भएको ईज्जत कतै जाँदैन ।

दसैंमा दूध, दही, हरियो तरकारी, फलफूल खाने प्रचलनलाई बढावा दिनुपर्छ । सरकारी संयोजनमा खुलेका सुपथ मूल्यका पसलमा दसैंका लागि छुटमा खाद्यान्नका विविध सामाग्रीहरु उपलब्ध छन् । सोही स्थानमा गएर खरिद गर्नु पर्छ ।

घर परिवारसँंग रमाउने

दसैंमा घर परिवारसँग रमाउनुपर्छ । एक दिन पुरै परिवार मिलेर रमाईलो स्वरुप घर, आँगन, वगैचा र आफ्नो घर अगाडिको सार्वजनिक सडक सफा गर्नुपर्छ । धर्म, संस्कृति परम्पराअनुसार तोकिएका दिनमा तोकिएको धार्मिक क्रियाकलाप गर्नुपर्छ । गच्छे र क्षमताअनुसार प्रत्येक दिन बिहान र बेलुकी तथा हरेक दिन फरक-फरक परिकार बनाई खानुपर्छ । पिङ्ग खेल्नुपर्छ । वर्षमा एक दिन भए पनि धर्ती छोड्नु पर्छ भन्ने कहावतको पालना गर्नुपर्छ ।

अपच हुने गरी खानु हुँदैन । तथापि पचाउने औषधि समयमै किनेर घरमा राख्नुपर्छ । चोरी हुने, आगलागी हुने, चंगा उडाउँदा छतबाट लडिनेजस्ता सम्भावित दुर्घटनाबाट बच्नुपर्छ ।

घरमा मंगल धुन बजाउनुपर्छ । प्रत्येक घरमा डमरु र घण्टी बजेको हुनुपर्छ । घर सफा र झिलिमिली पार्नुपर्छ । यसरी परिवार नै मिलेर रमाएर ०७१ सालको वडा दसैंलाई स्मरणीय तुल्याउनुपर्छ । विजया दशमी २०७१ को पावन उपलक्षमा सबैमा मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment