Comments Add Comment

नातिनीको एल्बम बिमोचनमा रोए प्रचण्ड

prachanda-and-smita
आफ्नी नातिनी स्मिता दाहालको दोश्रो एल्बम ‘स्मिता २’को बिमोचन गर्न पुगेका एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का आँखा एकाएक रसाए । नातिनीलाई शुभकामना दिदै गर्दा दाहालले जनयुद्धमा आफूले ‘हाँस्दा हाँस्दै रोएको र रुँदा रुँदै हाँसेको’ भनाई राखेको संझदै आजको माहोल पनि यस्तै रहेको बताए ।

केही समयअघि  निधन भएकी प्रचण्डकी छोरी ज्ञानु दाहाललाई समर्पित गर्दै स्मिताले एल्बम बजारमा ल्याएकी थिइन् । यसैले पनि प्रचण्ड र उनकी पत्नी सिता दाहाल बारम्बार भक्कानिए । प्रचण्डले आफू गाली र ताली दुबै पाउँने क्षेत्रमा रहेको बताउँदै भने-‘ नातिनी स्मिता ताली मात्र पाउँने क्षेत्रमा छिन् । यसैले चाडै नै प्रचण्डकी नातिनीबाट उनको परिचय गायिकामा बदलिनेछ ।’

राजनीति र संगीतको समन्वय निक्कै भएको भन्दै प्रचण्डले नातिनी स्मितामा सानैबाट गाउने क्षमता भएको बताए । उनले आफू भन्दा पनि धर्मपत्नी सिता दाहाल निक्कै राम्रो गायिका भएको बताउँदा कार्यक्रम हल हाँसोले गुञ्जिएको थियो ।

एल्बम बिमोचन समारोहमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, एकिकृत नेकपा माओवादीका उपाध्यक्षद्धय डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।smita-album-bimochan

कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका नेता मोहन वैद्यले स्मिताको गीतमा प्रगतीशिल गीत पनि सुन्न पाउँने आशा राखे । उनले स्मिताको जन्म जनयुद्धको थलोबाट भएको भन्दै पार्टीलाई अगाडि बढाउन प्रगतीशिल गीतको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले कार्यक्रममा रमाइलो गर्दै भने-‘प्रचण्डजी यसै त मख्ख पर्ने मान्छे, झन् नातिनीको एल्बम बजारमा आउँदा झनै मख्ख पर्नु भएको छ ।’ उनले नेपालमा थुप्रै बालप्रतिभाहरु भएपनि राज्यले चिन्न नसकेको स्विकार गरे ।

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सबै प्रतिभाहरुलाई आफूहरुले सहयोग गर्न पाउँ भन्दै स्मितालाई शुभकामना दिए । कार्यक्रममा नेता डाक्टर बाबुराम भट्टराई भने अर्को कार्यक्रममा जानुछ भन्दै मन्तव्य नराखी हिडेका  थिए ।

स्मिताको ‘स्मिता २’ एल्बममा ५ वटा गीत समावेश छन् । डाक्टर कृष्णहरी बराल, डाक्टर भोला रिजाल, आनन्द अधिकारी, चेतन सापकोटा, रेमशराज भट्टराइको एल्बमका गीतमा शब्द छ । एल्बममा समावेश गीतमा सुरेश गैरे, बसन्त सापकोटा, शिखर सन्तोष, चेतन सापकोटा र रमेशराज भट्टराइले संगीत भरेका छन् । कार्यक्रममा गायिका दाहालले २ वटा गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन् । यो एल्बममा ‘बिगार्दैन कसैको केही’, ‘आँखा किन झुक्न थाल्यो’, ‘दिलको आँखीझ्याल’, ‘पराइको भयौ तिमी’, ‘पि्रय तिम्रो हृदयमा’ बोलका गीतहरु छन् ।prachanda smita-thapa

कार्यक्रममा एकिकृत नेकपा माओवादीकी नेत्री हिसिला यमी, नेता अग्नी सापकोटा, गीतकार डाक्टर कृष्णहरी बराल, नायक भूवन केसी, गायक दिप श्रेष्ठ, गायिका कुन्ती मोक्तान, गायक रामकृष्ण ढकालको उपस्थिती थियो । गायक रामकृष्ण ढकालले स्मिताको स्वरबाट आफू प्रभावित भएको भन्दै उनीसँग यूगल गीत गाउने बताए । यस्तै, नायक भूवन केसीले स्मितालाई चलचित्रमा गीत गाउन आग्रह गरे । भाइव्यस क्रियशनले बजारमा ल्याएको एल्बममा समावेश एक गीतको म्यूजिक भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment