Comments Add Comment

अनुभूति : अष्ट्रेलियामा घाइते भएको साढे तीन महिना

सानु घिमिरे

“आर यु स्टिल इन लाइट ड्युटी ?” मेरो लत्रक्क परेको शरीर र उदास अनुहार देखेर सिस्टर सुले आश्चर्य हुँदै सोधिन् ।
“आई जस्ट वान्ट माइ नर्मल लाइफ ब्याक” – मेरो आँखा डम्म भरियो । उनको अगाडिको कुर्सीमा थ्याच्च बसें ।sanu-ghimire
चिन्ता नगर भन्दै उनले हत्तपत्त नर्सेस स्टेसनको ढोका बन्द गरिन् ।

प्राइभेसी भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ, तथापि यो नर्सिंगहोममा सबैलाई मेरो दाहिने काँध घाइते भएको थाहा छ ।
तीन महिनाभन्दा धेरै भयो होइन ? के हुँदैछ ? उनी सम्हालिएर सकेसम्म मायालु पाराले सोध्न थालिन् । त्यसो त यिनले जसरी सोधे पनि मलाई मायालु पाराले नै सोधे जस्तो लाग्छ ।

शुक्रबारको शिफ्ट बिजी हुन्छ। हप्ताको अन्तिम दिन भएकाले प्राय सबै थकित हुन्छन् । म पनि त्यो दिन निकै गलिसकेकी थिएँ । एउटी १८ बर्ष देखि लगातार काम गर्दै आएकी निकै छुच्ची स्टाफले मलाई रुखो स्वरमै डिमेंसिया भएकी बुढीलाई उठाउन जाउँ भनिन्। मैले आज तिनी अन्सेटल छिन्, छोडी दिउँ भनें । तर, ती स्टाफले मानिनन्। उनका रुखा डायलगहरु बर्षिन थालेपछि भैगो त भन्दै म पछि लागें ।

दुइजना भएर ती बुढी आमैलाई उठाउन खोज्दा बुढी आमै मेरो दाहिने शरीरमाथि गर्लम्मै खसिन् । म चिच्याएँ । मेरो साथीले आँखा तरिन्, दुखाइ भन्दा भय र दिग्दारी धेरै थियो, मैले फेरि हात दिएँ ।

त्यसपछि लन्च टाइम भयो , बिजी भएँ …आफ्नो लन्च ब्रेकमा जादाँ भने मलाई मेरो काँध बेस्सरी दुखेको थाहा भयो ।

घटना भएको करीब साढे एकघण्टा भएको थियो । रिपोर्ट गर्नु पर्छ भन्ने मलाई थाहा थियो, त्यो म्यान्डेटरी ट्रेनीन्गमै सिकाइएको थियो, तर झट्ट बुद्धि आएन । मैले कसैलाइ केही भन्नै भ्याएकी थिइँन । कुन्नि कताबाट अनौठो साइकी कनेक्सन भएर होला, रिसेप्सनिस्ट मेरो छेउ आएर भनिन् – तिम्रो काँध दुख्यो अ’रे ? जाउ आरएनलाइ तुरुन्त रिपोर्ट गर ।

निकै अधिकारसहित उनले भनेपछि मैले भने – हो मलाई दुखेको छ, तर मैले कसैलाई भनेकै छैन, तिम्ले कसरी थाहा पायौ ?
“मैले भर्खरै सुनें ।“

“तिमीसँग मेरो बल्ल भेट हुँदैछ ।“

मेरो टाउको सुमसुम्याएर उनले म तिम्रो पूर्वजन्मको आमा होला नि त भनेर गइन् ।

मैले आरएनलाइ गएर भनें । आरएनले बोसलाई रिपोर्ट गरिन् । बोस आएर कुर्सीमा नहल्ली बस, फ्लोरमा नजाउ भनिन् । इन्ज्युरी हेर्ने प्रमुख आएर सबै घटनाको विवरण लिइन्, कागजातहरु भरिन् । त्यसपछि पेनकिलर खान दिएर हटप्याक लगाउन दिईन् । प्राय : रुखो कम्प्लेन सुनाउन मात्र बोलाउने मान्छेले यति दयालु /मायालु व्यवहार गरेको देखेर म मनमनै छक्क परें । सायद यसैलाई प्रोफेस्नलिज्म भन्छन् । साँझमा डाक्टरकोमा गएँ, डाक्टरले २ हप्ता रेस्ट लेखिदिए । अनि एक्स रे, अल्ट्रा साउण्ड, इन्जेक्सन, फिजियोको सिलसिला शुरु भयो ।

हरेकपल्ट डाक्टरले रिफर गरेपछि इन्स्युरेंसले एप्रुभ गर्नुपर्थ्यो । त्यो एप्रुबल आउन भने कम्तिमा दुइ हप्ता लाग्ने रहेछ ।
यता दुखाइले मेरो स्लीपलेस नाइट शुरु भयो ।

“धेरै काम गर्थिस्, रेस्ट नै भयो “
“अब ध्यान गरेर मस्त भएर बस “
“अब तिम्रो उपन्यास पुरा गर न, लेख्ने टाइम पायौ नि “
“ल अब आर्टिकल लेख्न थाल “

साथिभाइ शुभचिन्तकका सुझाबहरु आशलाग्दै थिए ।

हेर्दाहेर्दै म एक्टिभ मेडिटेसन गर्न नसक्ने भएँ, एकै छिन लर्यांङ-लुरूङ गरें भने एकाएक दुखेर रुन थाल्थें । पेनकिलर भन्ने चिजसंग गाढा साइनो जोडियो । ल्यापटपमा एकैछिन् टाइप गरेपछि औंलाहरु, हात र काँध सबै दुख्न थाले ।

नुहाउन मन लाग्न छोड्यो । कपाल कोर्न मन लाग्दैनथ्यो । आँखीभौं, अपर लिप्स जथाभाबी पलाउन थाले ।

मेरो अवस्था सम्पूर्ण कोणबाट बुझ्ने र सम्झिन प्रयास गर्ने एकजना डाक्टर थियो , अर्को मेरो श्रीमान् बिशाल ।

सधै ठट्टा गरिरहने मेरो चर्को स्वर बन्द हुनथाल्यो । बिशालले केही भन्दा पनि अब जवाफ फर्काउन छोडें । बरु एक्कासी आसुँ चुहिन्थ्यो र अर्को कोठामा हिडिदिन्थें । सबै कुरासँग दिक्क लाग्न थाल्यो । बोलें भने म कम्प्लेन बक्सजस्तो कम्प्लेन गरिरहन्थें, नभए बोल्दिन थिएँ ।

ध्यान गर्न बस्थें ….एकोहोरो आँसु झरिरहन्थ्यो । ओशोको प्रवचन सुन्दा मन अलिक दह्रो भएजस्तो लाग्थ्यो । म शरीर मात्र होइन भन्ने लाग्थ्यो । तर, मसँग एकोहोरो दुखिरहेको शरीरमात्र साक्षात थियो ।

यहीबेला तीज आयो । बिशालले नै मलाई फ्रेश हुन्छे भनेर होला सबैतिर जाउँ भन्न थाले । म पनि सकेसम्म राम्री भएर तीजको पार्टीमा जान थालें । हरेक पार्टीमा जान तयार भएपछि मलाई लाग्थ्यो – मलाई केही भएकै छैन । म सुन्दर छु । मेरो शरीर सुन्दर छ । मन सुन्दर छ । आत्मा पवित्र छ । म एक्ली पनि छैन । मेरो चिनजान, साथीभाइ, इस्टमित्र धेरै छन् । यसरी अलिकति आत्मविश्वास जस्तो थपिन्थ्यो ।
तर, हरेक पार्टीबाट फर्किएपछि म रातभरि काँध दुखेर रोइरहन्थें ।

पार्टीमा साथीहरु मप्रति सहानुभूति देखाउँथे । प्रत्येक सहानुभूतिले मेरो आत्मविश्वाशलाई हल्लाइदिन्थ्यो ।
मैले डाक्टरलाई सोंधे – म क्रोनिक बिरामी हो ? अब मेरो जिन्दगी सकियो ? मैले नर्मल लाइफ बाँच्न पाउँछु कि पाउँदिन ?
डाक्टरले मलाई हौसला दिइरहन्थ्यो ..तिमी एकदमै नर्मल छौ, रमाइलो गर । तर, काँध र हात धेरै नह्ल्लाउनु ।
दाहिने हात नउठाएर के काम हुन सक्छ ? हात र मवीचको मौन द्वन्द अझै पनि चलिरहेको छ ।

प्रशासनिक र आर्थिक झन्झट

म सिस्टम भएको देशमा बसिरहेकी छु । यहाँ पेपरवोर्क धेरै हुँदोरहेछ । हरेक कुरामा डकुमेन्ट बुझाउनुपर्ने रहेछ । इन्स्युरेंसले पे गर्ने भएपछि लोडिंगसहित आउने तलब मज्जैले घट्यो । उचित पेपर बुझाउन नजानेर घटेको तलबको पनि आधा आउन थाल्यो । ट्याक्सी, औषधी आदि कुरामा खर्च गरेपछि बिल सम्हाल्न नसक्दा सबै क्लेम गर्न कहिल्यै सकिँन ।

कहाँ जाने ? कसलाई सोध्ने ? कसले मद्दत गर्छ ? कोसँग शेयर गर्ने ? कोसँग नगर्ने ? नजान्दा आफू लाटी र निकै अज्ञानी भएको महसुस गरें ।
घरमै पनि ती कागजातहरु सुरक्षित राख्न छुट्टै ब्याग, फोल्डर र ड्रवर छुट्याएकी छु । तर, पनि किन हो, खोजेको बेला भेट्दै भेट्दिँन ।

मेन्टल टेन्सन

कहिले बोससँग, कहिले इन्ज्युरी अफिसरसँग, कहिले इन्स्युरेन्स, कहिले स्पेसलिस्ट, कहिले इमेजिंग ….अपोंईन्टमेन्ट लिँदा लिँदा आजित भएकी छु ।

एक दिन बोसले एउटा सानो कुरामा असन्तुष्टि जनाउँदा मैले प्रतिकारमा एक शब्द बोल्न सकिँन । बरु दिनभरि नै रोएर बसें । पहिले इन्ज्युरी भैसकेका दिदीहरुलाई फोन गरें …इन्ज्युरी अफिसरलाई रुँदैरुँदै इमेल लेखें । वकिललाई फोन गरें ।

आजकाल दस मिनेट लाग्ने ट्रेन स्टेसन जान आधा घण्टा लाग्छ । हस्यांग फस्यांग गर्दै स्टेसन पुग्दा थुप्रैपल्ट ट्रेन छुटेको छ । ट्रेनमा सामान छुट्न थालेको छ । भान्साका सिसाका गिलासहरु, सुप खाने कचौराहरु हातबाट झरेर फुट्न थालेका छन् ।

प्रत्येक पल्ट भेट्दा डाक्टर उल्टै आतिएको देख्छु । यो पछि यो, यो पछि यो । उ उपचारको सिलसिला सुनाउँछ, त्यही पनि तिमीलाई सन्चो भएन भने म सक्दिँन, अर्को डाक्टरकोमा पठाइदिन्छु । उ सधैं यस्तै भन्छ ।

त्यही पनि अर्कोपल्ट भेट्न जाँदा उसँग अर्को प्लान हुन्छ । कहिले कसलाई सुपरभाइज गर्न ल्याउँछ, कहिले स्पेसलिस्टकोमा रिफर गर्दिन्छ । उसलाई मेरो र उसको करिअर दुवैको चिन्ता होला ।

मलाई चाहिँ के थाहा छ भने मेरो दुखाइ कम भयो भने म बिस्तारै आफूलाई म्यानेज गर्न सिक्नेछु । मैलेबाहेक कसैले मलाई राम्रोसँग मद्दत गर्न सक्दैन । यो इन्ज्युरी कहिल्यै पूरै निको हुने छैन, तर मेरो इम्युन्लाई यसले कुनै प्रभाब पार्दैन अर्थात साधारण भाषामा मलाई मरिहाल्ने रोग लागेको होइन ।

डाक्टरलाइ पनि यो थाहा छ, त्यही पनि उसले जाने जति सबै प्रयास गर्नु उसको पेसाको धर्म हो ।

सामाजिक काम

अब सक्दिँन, भयो, म बिरामी छु भन्दाभन्दै पनि यो अवधिमा समुदायका चारवटा मिटिंग र चारवटा महत्वपूर्ण कार्यक्रमहरु व्यवस्थापन र संयोजनकै तहमा बसेर गर्न पनि भ्याएकी रहिछु ।

समुदायमा पहिले अति सक्रिय हुनाले प्राय सबैको मुखबाट म हराएको भन्ने नै गुनासो सुन्छु । घरबाट निस्किने बेलामा विशालको डायलग सुनिन थालेको छ – “ घरमा चाहिँ मरें मरें भन्नु छ, बाहिर चाहिँ केको फुर्ति हो ? काहिँ नभाको समाज सेवा “।

अन्तिममा

लगातार काम गरिरहने युवाहरु विशेष गरी विदेशमा शारीरिक श्रम गर्ने साथीहरुलाइ मेरो अनुभवले केही फाइदा भयो भने म यो लेखको सान्दर्भिकता सम्झिनेछु । केही सुझावहरु बुँदागत गर्ने प्रयास पनि गरेकी छु ।

१. काम गर्दा हतार– हतार आत्तिएर नगरौं ।

२. म्यानुअल ह्यान्डलिंगलाई फलो गरौं ।

३. आफूलाई गलत लागेको कुरा प्रतिकार गर्न सिकौ वा सोझै सुपरभाइजरलाइ कम्प्लेन गर्ने गरौं ।

४. आफ्नो कानूनी अधिकारको बारेमा राम्रोसंग बुझौ ।

५. यो देश मानव अधिकार र व्यक्तिगत सुरक्षाको कुरामा निकै उच्च छ । आफ्नो सुरक्षालाई ध्यान दिउँ ।

६. कम्युनिकेशन महत्वपुर्ण हुँदो रहेछ । बोल्न जाने पनि नजाने पनि आफ्नो धारणा बिस्तारै आदान प्रदान गर्ने गरौं ।

७. शरीर र स्वास्थ्यभन्दा ठूलो कुरा केही होइन रहेछ । पैसा कमाउने चक्करमा शरीरले नथेग्नेगरी कहिल्यै काम नगरौं ।

८. घरमा एकअर्कालाई सहयोग गरौं । बिशेष गरी नेपाली श्रीमानहरुले आफूजत्तिकै बाहिर काम गर्ने श्रीमतीलाई घरमा एक्लै पेलाएर पाप नगरौं । पछि बिरामी भएपछि दोब्बर स्याहार गर्नुभन्दा पहिले नै आधि आधि काम बाँडेर गरौं ।

मैले यहाँ काम गर्ने संस्था निकै कुरामा राम्रो छ । स्टाफलाई दिइने सुविधाहरु पनि राम्रा छन् । स्टाफको सुरक्षामा बिशेष ध्यान दिइन्छ । म अहिले घाइते हुदाँ इन्स्युरेंसले सबै कभर गरिरहेको छ । तर, हामी स्वयमले आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने रहेछ । दुर्घटनाबाट बच्न जरुरी रहेछ । एकपल्ट घाइते भएर कमजोर शरीर भएपछि मलाई यी सबै कुरा ज्ञात भएको छ – “आई जस्ट वान्ट माइ नर्मल लाइफ ब्याक “।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment