Comments Add Comment

देवी दुर्गाको मूर्तिसहित शोभायात्रा

१५ असोज, काठमाडौं । मारवाडी सेवा समितिअन्तर्गतको शेरावाली सेवा सङ्घले देवी दुर्गाको मूर्तिसहित आज शोभायात्रा गरेको छ ।
सो सङ्घद्वारा प्रत्येक वर्ष बडादसैंको अवसरमा नौरथाको सप्तमीका दिन सो जात्रा निकालेर नगर परिक्रमा गराइन्छ ।

भद्रकालीबाट सुरु गरिएको शोभायात्रा नयाँ सडक, वसन्तपुर, हनुमानढोका हुँदै मारवाडी सेवा समितिको कार्यालयमा पुगेर समापन गरिएको थियो ।

देवी दुर्गाको मूर्तिलाई सो स्थानमा विराजमान गरी भोलि अष्टमीदेखि देवीको पूजा तथा कथा श्रवण गरिनेछ ।

सङ्घका अध्यक्ष कुमोद अग्रवालले देवी दुर्गाले असत्यमाथि विजय प्राप्त गरी दानवहरूबाट देवता तथा देवलोकको रक्षा गरेको सम्झनामा शोभायात्रा गरी देवीको पूजा गरिएको बताए ।

मारवाडी समुदायका महिलाहरूको समूहको रुपमा रहेको सो सङ्घले नवरात्रिको साँझसम्म सो पूजा जारी राख्ने र भण्डारा लगाउने कार्यक्रम रहेको छ ।
विशेष बाजागाजासहित निकालिएको शोभायात्रामा करिब एक हजार श्रद्धालुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment