Comments Add Comment

डोटीमा बस दुर्घटना, मृत्यु हुनेको संख्या २५ पुग्यो

२० असोज, धनगढी । डोटीको जोरायलबाट धनगढी आउदै गरेको ना ३ख ५७०७ नम्बरको बस डोटीको छतिवन गाविस–५ कट्कटेमा दुर्घटना हुदा मृत्यु हुनेको संख्या २५ पुगेको छ । जोरायलबाट धनगढी तर्फ आउने कच्ची सडकबाट झण्डै तीन सय मीटर तल खसेर बस दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

स्थानीय लोकबहादुर थापाले दिएको जानकारी अनुसार अहिले सम्म बस दुर्घटनामा परि मृत्यु भएका २५ जनाको शव निकालिएकोमा १६ जनाको सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा अधिकांश सरस्वतीनगर गाविसका छन् । मृत्यु हुनेमा सरस्वतीनगर गाविस– १ माइत भएकी २५ वर्षीया कृष्ण मल्ल, सोही गाविस–६ का भूमिराज भण्डारी, सरस्वतीनगर–६ ककी २६ वर्षीया इन्द्रा मल्ल, सोही गाविस–२ का ४० वर्षीय राजेन्द्र शाही रहेका छन् ।

यस्तै, मृत्यु भएका मध्ये सरस्वतीनगर–५ की ३५ वर्षीया सकुन्तला मल्ल, सोही गाविस–५ का ५० वर्षीय सानबहादुर साउद, सोही गाविस–८ का ३० वर्षीय टेकराज भट्ट, वडा नम्बर–६ का ४५ वर्षीय कृष्णराज भण्डारी, वडा नम्बर–९ का २५ वर्षीय हरी कठायत र वडा नम्बर ८ का २४ वर्षीय पशुपति भट्टको सनाखत भएको छ ।

यसैगरी, डोटी सरस्वतीनगर गाविस–३ की २७ वर्षीया शान्ति मल्ल, वडा नम्बर–५ की डम्बरी जोशी, वडा नम्बर–६ का भूमिराज भण्डारी, डोटीकै लक्ष्मीनगर गाविस–५ का ३५ वर्षीय टेकेन्द्र गिरी, कैलालीका २८ वर्षीय भागीरथी बडुवाल, डडेलधुराका लक्ष्मण ठकुरीको मृत्यु भएको स्थानीय लोकबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार पाँचवटा गाडीमा घाइते ४० जनालाई उपचारका लागि पठाइएको छ । सोमवार दिउँसो तीन बजे भएको घटनाको उद्धार कार्य अझै सम्म पनि जारी रहेकोले थप विवरण आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयबाट घटनास्थलमा पुग्न झण्डै दुई घण्टा लाग्ने भएकाले समयमा घटनास्थल पुग्न नसकिदै क्षति धेरै भएको प्रहरीले जनाएको छ । घटनास्थल डोटीको बुर्डर बजारबाट झण्डै १८ किलोमिटर टाढा पर्दछ । बस दुर्घटनामा तीन दर्जन बढी घाइते भएका छन् । उद्धार गरिएका घाइतेहरुलाई अत्तरियातर्फ लगिएको छ भने अन्य घाइतेको उद्धार कार्य जारी रहेको छ । जिल्लास्थित प्रहरी, इलाका प्रहरी कार्यालय बुर्डर तथा नेपाली सेना र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् ।

भीरमा भएकाले उद्धार गर्न कठिनाई भएकाले स्थानीयले उद्धार गर्न नसकेको हो । डोटीको संकटेबाट कैलालीको धनगढी तर्फ आउदै गरेको बस छतिवन–५ कटकटेमा आइपुग्दा दुर्घटना परेको हो । अध्याँरो हुँदा समेत उद्धार कार्य नसकिएकोले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । जिल्लास्थित सुरक्षा निकायले उद्धारमा ढिलाई गर्दा घाइतेहरुको मृत्यु भएको भन्दै स्थानीयवासीले आक्रोश ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment