Comments Add Comment

दसैं : जनजातिको हार र आर्यको जीत होइन

 प्रा.डा.बद्रीविशाल पोखरेल

Badrai Bisal Pokharelमानव जीवनको आरम्भिक अवस्थादेखि नै निजी वा सामुहिक जीवनका उपलब्धिमा खुसी अनुपलब्धिमा दुःखी हुने मानव जातिको स्वभाव हो । दसैं जस्ता चाडपर्व पनि मानव जीवनको प्राम्भिक कालदेखि सुरु, विकास र विस्तार हुँदै आएका हुन् । तर, दशैँलगायत पर्वका बारेमा अझैँ अतिवादी र अन्धवादी भ्रम विद्यमान छन् ।

यस विषयलाई नबुझेर, बढी बुझेर तथा सही सत्य कुरा उद्घाटन नगरेर बहिष्कारको नारामा अझै केही नेपाली बहकिएका देखिन्छन् ।
सामन्तवादी सत्ता राजतन्त्र वा यसको नायक राजाको घर बडा, पोशाक बडा, उनकी श्रीमती बडा, उनको बसोबास क्षेत्र बडा, उनले मान्ने चाडबाड बडा…त्यसैले यस बेला पनि दसैं चाहिँ बडा अनि छोटा छैट भनिरहँदा बुझ्नेलाई लाजमर्नु भएको छ । यो फेरि चैते दशैँलाई छोटा र असोज कात्तिकको दसैं बडा भनिएको भन्ने तर्क पनि सुन्नमा आएको छ । तर, त्यसको पुस्ट्याइँ गर्ने आधार देखिन्न ।
आर्यले अनार्यलाई सशस्त्र बलले समाप्त पारेर तिनको रगतको प्रतीक स्वरूप रातो टीका लगाएको भन्ने कुरामा कुनै तर्क छैन । दसैंलगायत पर्वमा धार्मिक व्याख्या समय क्रममा हुन गयो । यस क्रममा  अन्धवादी खास धार्मिक सम्प्रदायवादी व्याख्या मध्यकालमा मिसिन गएको देखिन्छ ।

दुर्गा भगवती, रामलाई आर्य र कथित उपल्लो जाति तथा महिषासुर र रावणलाई जनजाति वा कथित तल्लो जाति  भनिनुमा वस्तुगत आधार देखिन्न

दुर्गा भगवती, रामलाई आर्य र कथित उपल्लो जाति तथा महिषासुर र रावणलाई जनजाति वा कथित तल्लो जाति  भनिनुमा वस्तुगत आधार देखिन्न । दिति र अदिति नामका दुई दिदी बहिनीका सन्तानमध्ये एकथरि आदित्य वा देवता र अर्काथरि चाहिँ दैँत्य वा राक्षस भन्नु र चरम विभेद गरिएको विषयको व्याख्या देवासुर संग्राम मा प्रश्रतिले गरेकै छन् ।
रावण स्वयं आनुवंशिक हिसावमा उच्च भनिने जातिको सन्तान हो । चारित्रिक दोषका आधारमा आलोचना गरिने कुरा एउटा हो । यही विषयलाई अतिरञ्जना गरेर नेपाली एकतामा भाँजो हाल्ने कामको कुनै औचित्य छैन ।
विजया र दशमी दुई शब्दको प्रयोग यस अवसरमा गरिन्छ । दश दिनको अनुष्ठान गरेर आत्मबल प्राप्त गर्ने अनुष्ठानको अर्को नाम दशमी हो । यसखालको आत्मिक भौतिक शक्ति आर्जन गर्ने बहुप्रचारित अभियानपश्चात् अभियानको विजय प्राप्तिसित जोडेर विजया शब्द यस चाडका सन्दर्भमा समाविष्ट रहेको बुझिन्छ । यो शब्दको प्रयोग रामचन्द्र भगवान्ले रावण वध गरेर विजय गरेको कुरासित विशेष सम्बन्धित देखिन्छ ।
दसैं सुरुदेखि लामो काल पार गरेर विकसित दसैं अनेक कालखण्डमा प्रयोग, परिमार्जन र परिवर्तन हुँदै विकसित बनेको देखिन्छ ।
समय क्रममा अमुक जातिको  विजय र अमुक जातिको पराजयसित  जोडियो  । विजया शब्द नेपालको सन्दर्भमा आयातीत शब्द हो । जसरी नेपाली तिहारलाई दीपावली भन्न थालियो ।
खासमा नेपालीको मौलिक पर्वको नाम दसैं र तिहार मात्र हो ।  सबै नेपाली रमाउने,आत्मीयता बढाउने र मान्यजनबाट आशिष लिने तथा गच्छेअनुसार मीठो मसिनो खाने पर्व  दशैँ हो । बरु यसलाई समावेशी संस्कृतिका रूपमा प्रारम्भ र विकसित गर्ने हो भने नेपालका सबै भाषाभाषी र संस्कृतिका आदि मातृशक्तिको नयाँ चण्डी लेख्ने र यसलाई पाठपारायण गर्ने परम्परा सुरु गर्नुपर्छ ।
सबै सांस्कृतिक मातृसत्तात्मक परम्परालाई स्मरण गर्ने,सम्मान र आराधना गर्ने काम सुरु गर्नुपर्छ । अब पनि सांस्कृतिक सबालमा सचेत नबने हो भने प्राप्त उपलब्धिको जगेर्ना असम्भव हुन्छ ।
सामन्तवादी धरातलमा उभ्भिएर गणतन्त्रको सुरक्षा र सम्बर्धन हुनै सक्तैन । अहिले पनि हाम्रो लोकतान्त्रिक नेतृत्वमा सामन्तवादी,हैकमवादी,अहंवादी तथा अहंकारवादी चरित्र विद्यमान रहेको छ । शस्त्रबल,बहुबल र बालहठका कारण संविधान निर्माणमा समस्या सिर्जना भइरहेको छ । यही चरित्र हावी हुँदा अभूतपूर्व जन र धनको सर्वनाश भयो । अझै पनि यस्ता धाक र धम्की दिएको देखिन्छ । देश जनताको अहितको मूल कारण यही बनेको छ ।
शिकार, फलफूल, कन्दमूल आदि  हासिल गर्न कबिला समुदायका बीच रक्तपात युद्धसम्म हुने गरेको थाहा पाइन्छ ।  । यसमा  विजय हासिल गर्ने कबिला समूहले  रक्ताम्मे भएका कबिलाको रगतको टीका लगाएर  खुसियाली सँगै रातो टीका प्रचलित भएको मानिन्छ ।
ज्ामरा सर्वप्राचीन अन्न जौ मानिन्छ । यसको उत्पादन  परीक्षण आदि किसानले आˆना झुप्रा, ओडार र झुपडीमा गरे । परीक्षण उत्पादन गर्दा सफल भयो र जौ भरर उमि्रएपछि खुसियालीमा कृषियुगको प्रारम्भिक दिनमा किसानले जमरा कानमा सिउरिएसँगै यसको प्रयोग सुरु भएको मानिन्छ ।

फागु पर्वलाई पहाडे र मधिसे भनेर विभाजन गरेर मनाउने प्रथा आजका दिनसम्म रहिरहनु लज्जाजनक देखिन्छ

हरेक चाडबाडमा  पछौटे चिन्तन मनग्गे पाइन्छ । यसलाई हटाएर पर्वलाई समयानुकूल बनाएर सबै नेपालीका बीच एकताको भावना जागृत गराउने काममा लाग्नु पर्ने हो तर अहिले पनि यसमा राम्ररी ध्यान गएजस्तो लागेको छैन ।
समग्र र सही व्याख्या विश्लेषण गरिएको पाइंँदैन । हुँदाहुँदा फागु पर्वलाई पहाडे र मधिसे भनेर विभाजन गरेर मनाउने प्रथा आजका दिनसम्म रहिरहनु लज्जाजनक देखिन्छ । यस्ता संवेदनशील विषयमा विषयगत र अन्य सचेत बौद्धिक समुदाय अन्यमनष्क भावमा रहेको अलि चित्त बुझेको छैन । यस्ता विषयको खोज, प्रचार र प्रशारण गर्ने कुरामा खासै ध्यान गएको देखिन्न ।
देशको प्रमुख नेतृत्वमा सांस्कृतिक चिन्तनको अभावमा पनि समस्या अल्भिmएको देखिन्छ । राज्यको माथिल्लो निकायले सकारात्मक विचार प्रवाहित गरे समाजमा त्यसको सकारात्मक प्रभाव फैलिन्थ्यो । भारतका प्रधानमन्त्रीको एउटा सकारात्मक  सार्वजनिक भाषणले देश व्यापी मात्र होइन, विश्वव्यापी लहर सिर्जना गरेको पाइन्छ । तर, हाम्रा कतिपय नेता र कथित मानव अधिकारवादी नेताको चरित्र संन्दिग्ध लाग्न थालेको छ । तिनका विचार र व्यवहारमा देश र जनताको भक्ति भावना रत्तिभर छेन कि जस्तो महसुस हुन थालेको छ ।
कुनै पनि देश र जनताको शासन व्यवस्थालाई सुदृढ बनाउन तदनुसारको संस्कृतिलाई संरक्षित तथा विकसित गर्नु जरुरी हुन्छ ।

संसारका सबै मानवीय चाडपर्व श्रमकार्यले गलित मानव जीवनमा पुनर्जीवन ल्याउने हर्ष, उत्साह तथा खुसीका पर्व हुन् । वसन्त ऋतु प्राकृतिक खुसियालीको पर्व हो भने शिशिर दुःख कष्ट र वेदनाको हो ।
दुःख-सुख प्राकृतिक जीवन-चक्र हो । यस्ता खासखास अवसरमा हर्ष र विस्मातको अवस्था प्रकृति प्रदत्त हो । यो नैसर्गिक पक्ष हो । मानव जीवनमा यावत् चाडपर्व प्रकृति र प्राकृतिक अनुकूलतासित सम्बन्धित रहेका छन् ।
असार-साउन जस्ता मानो खाएर मरी उब्जाउने समयमा मानिस सुख सयलपूर्वक बस्दैन र बस्न सक्तैन । कठोर श्रममय जीवनलाई अनुकूलतामा परिणत गर्न समूह गायन लगायतका अनेक रौसै काम मानिसले गरेको देखिन्छ । तर, यसले श्रमलाई बाधा दिने होइन बरु उज्र्ाा भर्ने काम गरेका देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment