Comments Add Comment

आमिर खान काठमाडौं आउँदा कहाँ हराए नेपाली कलाकार ?

Aamir-in-kapilbastu-1

विजय आवाज

यसैसाता नेपाल आएका चर्चित भारतीय अभिनेता आमिर खानसँग कपिलवस्तुका जनतालेे झूल र साइकल मागे । यूनिसेफको पोषणदूत भएर नेपाल आएका आमिरले नेपालीमाझ समाजसेवाको सन्देश दिए । भारतमा समेत यस्तै कुरा बोल्दै आएका खानले नेपालमा आएर आमाको दूधको महत्व, बालबालिका खानेकुराको बिषयमा बोले । तर, त्यतिबेला नेपाली सिने कलाकाहरुको अत्तोपत्तो देखिएन ।

एउटा बलिउड स्टार नेपालमा आएर गाउँ-गाउँमा पुग्दा नेपाली सिनेमा र कलाकार भने कुनै भीडमा हराएजस्तै देखिए । हामी के सिक्दैछौं, हामी के गर्दैछौं ? हाम्रो आफ्नो पहिचान खै त ? प्रश्न यतिबेला नेपाली नायक नायिकातिर सोझिएका छन् । पर्दामा खेल्ने कलाकारले समाजलाई केही योगदान अवश्यै दिन सक्छ । तर, हाम्रा नेपाली कलाकारहरुले यतातिर खासै ध्यान दिएका छैनन् ।

यूनिसेफले अभिनेता खानलाई दक्षिण एसियाका लागि पोषण राजदुत बनाउँदै गर्दा सामाजिक कार्यमा नेपाली सिनेकर्मीहरुको उपस्थिति शून्य देखियो ।

अभिनेता खानले न त कपिलवस्तुवासीलाई साइकल बाँडे, न त झूल नै । तर, उनले मन बाँडे । विचार बाँडे । यसैले उनी आज नेपालमा थप चर्चामा छन् । एउटा सिने कलाकारले समाज सेवा गर्न सक्दोरहेछ र गर्न हुँदोरहेछ भन्ने सन्देश दिएका छन् खानले ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले आमिरसँग मिलेर सुनौला १००० दिनको सुरुवात गरे । यतिबेला कहाँ सुतेको थियो नेपाली सिनेमा ? अनि कहाँ सुतेका थिए, सेलिब्रेटी भन्दै मिडियामा देखिने हाम्रा कलाकार ?

एउटा विदेशी कलाकारसँग नेपालीले झूल र साइकल माग्दा नेपाली सिनेमानगरी र कलाकारले पक्कै पनि लाजले शीर निहुर्‍याएको हुनुपर्छ ।

नेपाली दर्शकमा बलिउड फोबिया छ । बलिउड सिनेमा र त्यहाँका कलाकारको क्रेजले हामीलाई सधै ओझेलमा पारेको छ । यसैमाथि हामी सानातिना राजनीति र पर्दाभित्रको मात्रको सुपरस्टार बन्न खोज्दा यो फोबियाले हामीलाई नै पोल्छ र सताउँछ ।

प्रश्न आमिर खान नेपाल आएर के गरे भन्ने होइन । प्रश्न नेपाली कलाकारले समाजसँग राखेको अनावश्यक दुरीको हो ।

एउटा बलिउड स्टारले नेपाली जनताका लागि केही कुरा बोल्न र गर्न सक्छ भने हामी किन सक्दैनौं ? हामी किन सधैं व्यक्तिगत स्टारको घमण्ड मनभित्र पालेर कुवाको भ्यागुतो भैरहेका छाैं ?

सेलिब्रेटी बन्न मोदीले नेपाली नेतालाई सिकाउनुपर्ने, समाजसेवा र चेतनाका कुरा गर्न भारतकै कलाकारले सिकाउनु पर्ने ? यो कस्तो गति हो हाम्रो ?

विषादि मिसिएका पदार्थको प्रमोशनमा पैसाको लोभमा फसेर जनतालाई झुक्याउन सफल छन् हाम्रा कलाकार । पैसाकै लागि महोत्सव र मेलामा पुगेर कम्मर हल्लाउन सफल छौं हामी । तर, तिनै जनताको पीर मर्का र पीडा बुझन् किन पछि पर्‍याैं, एकपटक सोच्नै पर्ने बेला आएको छ ।

फिल्म खेल्न सजिलो छ नेपालमा । तर, अभिनेता, अभिनेत्री बन्न सहज छैन । बलिउड नायक आमिर खानले एक पत्रकार सम्मेलनमा भनेको कुरा सम्झन लायक छ, एक अभिनेता मनोरञ्जन र पर्दामा मात्र सीमित रहँदैन । उसले समाज परिवर्तनका लागि अहम् भूमिका खेलेको हुन्छ ।

के साँच्चै नेपाली कलाकारले समाज परिवर्तनका लागि आफ्नो तर्फबाट भूमिका खेलेका छन् कि छैनन् ? एकपटक सबैले सोच्ने पो हो कि ? नेपाली कलाकारहरुले आमिर खानबाट केही न केही सिक्ने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment