Comments Add Comment

विकास माग्नेलाई गोली हान्दैछ सरकार

अरुण बराल

सिंहदरबारमा कांग्रेस र एमालेको मिलिजुली सरकार छ । कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीको कुर्सीमा छन् । एमालेका उपाध्यक्ष वामदेव गौतम गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् ।

आफूलाई लोकतन्त्रको सबैभन्दा ठूलो मसिहा दाबी गर्ने यी दुबै दलको हालीमुहाली रहेको सरकारले यतिबेला मिलिजुलीरुपमै चरम भ्रष्टाचार गरिरहेको छ । नेताहरु सरकारी खर्चमा उपचारका लागि पालैपालो कहिले अमेरिका त कहिले बैंकक पुगिरहेका छन् । बालुवाटारबाट धमाधम दसैं खर्च बाँडिँदैछ । यता जनतालाई भने विकासको माग गर्दा लाठी र गोली बर्साउन थालिएको छ ।

सुकुम्वासी आयोगका नाममा एमालेले देशैभरिका आफ्ना कार्यकर्तालाई सरकारी तलब खुवाइरहेको छ । राजनीतिक नियुक्तिहरुमा कांग्रेसका कार्यकर्तालाई दसैं आएको छ । जनताले देश लुट्न म्यान्डेट दिएको ठानेर कांग्रेस र एमालेका नेताहरु निर्वाधरुपमा राष्ट्रको ढुकुटीमा ब्रह्मलुट मच्चाइरहेका छन् । गाउँमा वन, बाटो र स्थानीय निकायमा प्रहरी र सत्तापक्षका नेता मिलेर लुट मच्चाइरहेका छन् ।

बारा जिल्लामा ‘बाटो मर्मत गरिदिनुपर्‍यो हजुर’ भनेर आन्दोलन गर्ने क्रममा शनिबार हरिहरपुर-७ का युवा जयनारायण पटेललाई लोकतान्त्रिक सरकारले गोली हानेर मारेको छ । कैयौंलाई घाइते बनाएको छ । शाही सरकारलेजस्तै कैयौंका टाउकामा लाठी बर्साएर घाइते बनाएको छ ।

शान्तिपूर्ण रुपमा आवाज उठाउँदा ठाडा कान नलगाउने ‘लोकतान्त्रिक सरकार’का गृहमन्त्री वामदेव गौतमको नेतृत्वमा रहेको प्रहरी प्रशासनले बाटो मर्मतको माग गर्ने स्थानीयवासीलाई बल प्रयोग गर्दा तनाव भड्किएको छ ।

स्थानीयहरुका अनुसार सिम्रौनगढ-कलैया बाटो मर्मत गरियोस् भन्दै स्थानीय जनताले केही दिनदेखि आन्दोलन गरेका थिए । यसक्रममा स्थानीयको आवाज कसैले नसुनेपछि उनीहरुले शुक्रबार त्यहाँ यातायात बन्दको आयोजना गरेका थिए ।

अरुलाई लोकतन्त्रको पाठ पढाउने कांग्रेस र एमालेको कथित लोकतान्त्रिक सरकारले स्थानीयसँग सम्वाद र छलफल गरेर समस्या सुल्झाउनुपर्नेमा पञ्चायतकालीन शैली अपनाउँदै बल प्रयोग गरेर बाटो खुलाउने प्रयास गर्दा शुक्रबारदेखि हरिहरपुरमा स्थिति तनावग्रस्त भएको हो ।

विकास माग्दा लाठी खानुपरेपछि आक्रोशित बनेका जनताले शुक्रबार प्रहरीचौकीमा आगजनी गरे । शनिबार पनि उनीहरु प्रहरीमाथि जाइलागे । सरकारी रवैयाका कारण जनतामा थप आक्रोश उत्पन्न भयो । जनताको आक्रोशलाई दबाउन प्रहरीले सम्वाद र छलफलको विधि होइन कि लाठी र गोलीको भाषा प्रयोग गर्‍यो ।

कोइराला सरकारको लाचार, भ्रष्ट एवं जनताप्रति पटक्कै जवाफदेही नहुने चरित्रकै कारण बारा निवासी जनतामा आक्रोश दन्किएको छ । स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीय शनिबार अपरान्ह प्रशासनले कर्फ्यू लगाएको छ ।

घटनाले उब्जाएको प्रश्न

बाराका नेपाली जनताले बाटो मर्मत गरियोस् भनेर सरकारसँग माग गर्नु के नाजायज कार्य थियो ? लोकतन्त्र र गणतन्त्रमा उनीहरुलाई राम्रो उद्देश्यका लागि चक्काजाम गर्नर् र हडताल गर्न संविधानले अधिकारी दिएको थिएन ?

सिम्रौनगढ- कलैया सडकमा अहिलेसम्म कति नेताहरुले भ्रष्टाचार गरेर बाटोको हालत दयनीय बन्न पुगेको थियो ? यसतर्फ कुनै छानविन वा जाँचबुझ नगरी वामदेव गौतमको गृहप्रशासनले जनतामा लाठी र गोली बर्साएर वातारणलाई मात्रै भड्काएको छैन, ०६२/०६३ को जनआन्दोलनपछि जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रकै ठाडो उपहास गरेको छ ।

बाराको घटनामा सरकारको रबैया खेदजनक एवं निन्दनीय छ । जनताका समस्या र आवाजमाथि एकरत्ति ध्यान नदिनु, जायज माग राखेर आन्दोलन गर्नेमाथि दमन गर्नु र सिंहदरबारमा बसेर बैधानिक ढंगले देश लुट्नु कांग्रेस-एमाले संयुक्त सरकारको विशेषता बनेको छ ।

पञ्चायत ढलेपछि चप्पल लगाएर काठमाडौं छिरेका नेताहरु लोकतन्त्रका मसिहा एवं अरबपति भएका छन् । अहिले तिनै नेता सिंगै देश जलिरहँदा सिंहदरबारमा बसेर मुरली बजाइरहेका छन् । गाउँमा जनता विकास नपाएर तड्पिइरहेका छन् ।

तराईको गर्मीमा बसोबास गर्ने गरीब जनताले स्वास्थ्य सेवा पाएका छैनन् । विदेशबाट आउने पाहुनासँग उनीहरु झूल र साइकल माग्न विवश छन् । नेताहरु सामान्य विराम लाग्दा विदेशमा उपचार गर्न जान्छन् । उनीहरुले आफ्नो छोरोछोरीलाई अमेरिका र र युरोपमा बसोबास गराएका छन् । उनीहरु हेलिकोप्टर चढेर नदी हेर्न हिँड्छन् ।

यही स्थितिमा अब देश कहिलेसम्म चल्छ ? जनतामा असैह्य बन्न थालेको पीडा बारामा जस्तै कुनै पनि दिन देशैभरि बिस्फोट हुने खतरा छ । शनिबार बारामा यसको झिल्को देखापरेको छ । जनतामा सहनुको हद सकिन थालेको छ । तैपनि नेताले कुरा बुझेका छैनन् ।

गलत तत्वले फाइदा उठाउने खतरा

मुलुक संक्रमणमा जकडिएका बेला जनताको जीवनस्तर कष्टकर बनिरहेको छ । यस विपरीत नेताहरु चरम भ्रष्टाचार र कमिसनतन्त्रमा रुमलिएका छन् । यो स्थितिमा गलत तत्वले फाइदा उठाउने र जनतालाई भड्काउने खतरा हुन्छ ।

विभिन्नखालमा विखण्डनवादी, पुनरुत्थानवादी एवं साम्प्रदायिक तत्वहरुले खेल्न खोजिरहेका बेलामा सरकार र प्रहरी प्रशासनले संयमित एवं जनउत्तरदायी हुनुपर्नेमा जथाभावी बल प्रयोग गर्ने नीति अवलम्बन गर्दा गलत तत्वले फाइदा उठाउन सक्छन् भन्नेतर्फ वामदेव गृह प्रशासन पटक्कै जिम्मेवार देखिएको छैन ।

आफूले जनताप्रतिको कुनै जिम्मेवारी निर्वाह नगर्नुर् अनि जनतालाई अतिवादीले भड्काए भनेर गुनासो गर्नु सरकारको लाचार एवं हास्यास्पद तर्क हो ।
विकासको माग गर्ने जनतालाई अराजकतावादी देख्नु सिंहदरबारको दृष्टिदोष हो । छोराछोरीले आफ्नो माग पूरा गर्न केही उद्दण्ड व्यवहार गरे भन्दैमा बुबा आमाले उनीहरुको घाँटी छिनाउने नीति लिनु हुँदैन ।

अब सरकारले के गर्ला ?

शनिबार बारामा गोली चलिरहेका बेला सिरहाको भेडिया गाविसबाट कमला नदीको बहाव हेर्न पुगेका गृहमन्त्री बामदेव गौतमले अब बाराका स्थानीय जनताको आवाज लोकतान्त्रिक तरिकाले सुन्छन् या बाटो बनाईपाउँ भन्ने जनतामाथि गोली चलेवापत नैतिकताका आधारमा राजीनामा गर्छन् ? हेर्न बाँकी छ ।

प्रधानमन्त्रीको सल्लाहकार भएँ भन्दै फेसबुकमा स्टाटस लेखी हिँड्ने र देशको ढुकुटीबाट तलब खाने गि्रनकार्ड होल्डरहरुले देश जलेका बेला सुशील कोइरालाको डुंगा कसरी हाँक्छन् ? यो पनि हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment