Comments Add Comment

प्रचण्डको मधेस नीति : तराईमा मधेसीको मात्रै बहुमत नबनाऔं

prachanda  (3)

अरुण बराल

२८ असोज, काठमाडौं । मधेसी दलसँग मोर्चा बनाएर पहिचानसहितको संविधानमा जोड दिइरहेका एमाओवादी अध्यक्ष प्रचण्डले तराईमा मधेसी समुदायको मात्रै बहुमत हुने गरी प्रदेश बनाउँदा मुलुक विखण्डनतिर जाने खतरा औंंल्याएका छन् ।

थारु भनेर थारुको मात्रै प्रदेश बनाउनुभयो भने त्यसले एकतातिर लाँदैन, विखण्डनतिर, विभाजनतिर जाने टेन्डेन्सी हुन्छ

मधेसमा पहाडिया, थारु र मुस्लिमलाई समेत मिलाएर कसैको पनि बहुमत नपुग्ने गरी बहुपहिचानयुक्त प्रदेश बनाउँदा मात्रै राष्ट्रिय एकता हुन सक्ने प्रचण्डको विश्लेषण छ । ‘लिम्बूवान भनेपछि त्यहाँ लिम्बूहरुको बहुमत हुँदैन । प्रचण्डले मंगलबार आफ्नै निवासमा भेला भएका पत्रकारसँग भने- ‘तराईमा पनि हामीले त्यही नीति लिनुपर्छ । विचार गर्नुहोला, हाम्रो कुनै पनि प्रदेश एउटा जाति र भाषाविशेषको बहुमत हुनेवाला छैन ।’

प्रचण्डले आफ्नो मधेस नीति प्रष्ट्याउँदै भने- ‘सबै प्रदेशहरु जातीय बहुपहिचानवाला प्रदेशै हुनेछन्, एउटैको बहुमत कहीँ पनि हुँदैन । पहाडमा सबै प्रदेशहरु बहुजातीय प्रदेश हुन्छन् भने तराईमा मात्रै त्यस्तो किन नगर्ने भन्ने हाम्रो तर्क छ ।’

मधेसीलाई अल्पमतमा पार्ने तरिका

मधेसी समुदायलाई मात्रै बहुमतमा आउन नदिने तरिका सुझाउँदै प्रचण्डले भने- ‘हाम्रो भनाइ के हो भने त्यो समुदायसँग पहाड पनि मिलाइदिनुपर्छ भन्ने हो क्या । त्यसलाई पनि बहुजातीय, बहुभाषिकै बनाउनुपर्ने हुन्छ । यसलाई बहु सेन्टिमेन्ट भन्न पनि सक्नुहुन्छ, बहुमनोविज्ञान भन्न पनि सकिन्छ ।’

मधेस प्रदेशलाई बहुपहिचानयुक्त बनाउने थप दृष्टिान्त दिँदै प्रचण्डले भने- ‘जस्तो झापा, मोरङ, सुनसरीलाई र चुरेको तल्लो ढलोलाई पनि मधेसमा हाल्यो भने त्यहाँ मधेसी सेन्टिमेन्ट भएको जनमत भएको ठाउँमा कसैको पनि बहुमत हुँदैन । त्यहाँ एउटा भाषाविशेष या जातिविशेषको बहुमत हुँदैन ।’

मधेसमा एउटा समुदायको मात्रै बहुमत भएन भने राष्ट्रिय एकता हुने प्रचण्डको तर्क छ । ‘कसैको पनि बहुमत नभए यसको परिणाम के हुन्छ भने एकतामा जान्छ’ उनले भने, ‘कसैलाई मुख्यमन्त्री बन्नुपर्‍यो भने उसले थारुको पनि विश्वास लिनुपर्‍यो, मुस्लिमको पनि लिनुपर्‍यो, पहाडियाको पनि लिनुपर्‍यो र मधेसीको पनि लिनुपर्‍यो ।’

त्यसैगरी पहाडिया मनोविज्ञानको कोही नेता मुख्यमन्त्री हुने हो भने उसले मधेसीलाई पनि विश्वासमा लिनुपर्ने, थारुलाई पनि लिनुपर्ने र मुस्लिमलाई पनि लिनुपर्ने प्रचण्डले बताए ।

‘यहीँ नेवा प्रदेशमा नेवारले मुख्यमन्त्री हुनका लागि गैरनेवारको पनि विश्वास नलिइकन हुँदैन । लिम्बुवानमा कोही लिम्बु मुख्यमन्त्री हुन चाह्यो भने उसले गैरलिम्बुलाई पनि विश्वासमा लिएर मात्रै हुन सक्छ, प्रचण्डले भने- ‘मैले यो विषयमा कांग्रेस र एमालेका साथीहरुसँग पनि छलफल गरिरहेको छु, तपाईहरुले माथि र तल-पहाड र मधेस) मा भेद गर्न भएन । माथि पनि कसैको बहुमत हुँदैन, तल पनि त्यही बनाउनुपर्‍यो ।’

‘एउटैको बहुमत भए विखण्डनतिर जान्छ’

एमाओवादी अध्यक्ष प्रचण्डले मधेसमा एउटै जातिको बाहुल्य हुने प्रदेश बनाउँदा विखण्डनतिर जाने तर्क दोहोर्‍याए । कांग्रेस र एमालेले तराईमा मधेसी समुदायको मात्रै बहुमत पुग्ने गरी प्रदेश बनाउन खोजेको प्रचण्डको आरोप छ ।

दक्षिणतिरका छिमेकीहरुको चाँहि तराईमा कस्तो भएर जान्छ भन्नेमा अलि बढी चासो र चिन्ता देखिन्छ

‘तपाईले एउटा भाषाको मात्रै एउटा प्रदेश बनाइदिनुभयो र त्यसैको बहुमत भयो भने त्योचाँहि अहिले हामीले सोचेको संघीयताको मोडेलसँग मेल खाँदैन,’ प्रचण्डले भने-‘त्यसले कहीँ न कहीँ त्यो प्रदेशमा फरक फिलिङ ल्याउँछ । झापा, मोरङ र सुनसरी यदि मधेसमा जोडिएन या मधेसलाई झापा, मोरङ र सुनसरीसँग जोडिएन या थारुलाई जोडिएन र मिथिलालाई मात्रै प्रदेश बनाइदिऔं भने त्यसबाट आउने मनोविज्ञान भनेको कहीँ न कहीँ केन्द्रले विस्तारै हामीलाई अलि भिन्न गर्‍यो भन्नेतिर र एकखालको एक्सट्रिमतिर जाने खतरा पैदा हुन्छ ।’

प्रचण्डले थपे- ‘सबैको बहुजातीय बहुभाषिक प्रदेशहरु हुँदा नाम मधेस भए पनि कसैको पनि बहुमत नहुँदा नै राष्ट्रिय एकता कायम हुन्छ । थारु भनेर थारुको मात्रै प्रदेश बनाउनुभयो भने त्यसले एकतातिर लाँदैन, विखण्डनतिर, विभाजनतिर जाने टेन्डेन्सी हुन्छ ।’

पूर्वको झापा, मोरङ र सुनसरीलाई मधेसमा मिसाउँदा मधेसी समुदायको मात्रै बहुमत नपुग्ने र राष्ट्रिय एकता हुने तर्क गरेका प्रचण्डले कैलाली र कञ्चनपुरको हकमा पनि त्यस्तै हुने बताए ।

‘कैलाली कञ्चनपुरलाई किन सेती महाकालीतिर लाने ? कैलाली कञ्चनपुरमा पहाडियाहरु आएर बसेका छन्, तिनलाई नै थारुहरुसँग मिसाएर एकता गर्नेतिर कांग्रेस एमालेका साथीहरु किन सोच्नुहुन्न ?’ प्रचण्डले भने, ‘यता नवलपरासीदेखि जोड्दाखेरि मधेसी पनि हुन्छन्, थारुहरु पनि हुन्छन् । पहाडिया पनि हुन्छन् र सबै मिलेर सरकार बन्नेतिर जान्छ । तर, ऐतिहासिक हिसावले अवधको पनि र थारुको पनि पहिचानचाँहि आउनुपर्‍यो । अवध-थारुवान-लुम्बिनी भने हुन्छ, यसलाई अलग्याउनेतिर किन लैजाने भन्ने हाम्रो भनाइ हो ।’

मधेसी समुदायको ‘टेन्डेन्सी’ फरक छ

एमाओवादी अध्यक्ष प्रचण्डले पहाडियाको भन्दा मधेसी समुदायको मनोविज्ञान फरक रहेको बताए ।
‘तराईमा मधेसी समुदाय पहाडको जस्तो होइन । त्यहाँ अलि फरक चिज छ । त्यसो त मिथिला, भोजपुरी, अवधी भनेर भाषा फरक छ, तर मधेसी सेन्टिमेन्ट एउटै छ । चाहे त्यो बारा, पर्सा रौतहट होस् या जनकपुर सिरहा हुन् या कपिलवस्तु नवलपरासी होस्, मधेसी सेन्टिमेन्ट एउटै छ,’ प्रचण्डले भने- ‘मधेसीहरुको कल्चरमा, मनोविज्ञानमा र भूगोलमा समानता छ । त्यो एउटै समुदायका रुपमा मधेस छ ।’

चीन र भारतको चासो

एमाओवादी अध्यक्ष प्रचण्डले उत्तरी छिमेकी चीनले पहाडमा थोरै प्रदेशहरु चाहेको बताए । त्यस्तै दक्षिणको छिमेकी भारतले तराईमा कति प्रदेश हुन्छन् भन्ने विषयमा चासो राखेको उनले बताए ।

‘छिमेकीहरुको मैले बुझ्दा प्रदेशहरुको संख्या धेरै भयो भने अलि अप्ठ्यारो हुन्छ कि भन्ने म देख्छु । तर, यो हामीले नै निर्णय गर्ने हो । उत्तरतिरको छिमेकीले उत्तरतिर साना-साना प्रदेश भए भने उनीहरुको सुरक्षा चासोलाई असर पर्छ कि भन्ने चिन्ता व्यक्त गरेको म पाउँछु,’ प्रचण्डले भने-‘दक्षिणतिरका छिमेकीहरुको चाँहि तराईमा कस्तो भएर जान्छ भन्नेमा अलि बढी चासो र चिन्ता देखिन्छ । तर, यति नै हुनुपर्छ भनेर उहाँहरुले भन्ने कुरा पनि भएन, हामीले मान्ने कुरा पनि भएन । हामी नेपालीले नै निर्णय गर्ने कुरा हो ।’

यो पनि पढ्नुहोस्

तीनदिनमै सहमति होलाजस्तो लाग्दैन : प्रचण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment