Comments Add Comment

घनश्याम दाइ, यस्तो पो आएछ गाउँमा गणतन्त्र !

अरुण बराल

यसपालिको दसैंविदामा काठमाडौंबाट मोरङको केराबारी पुगेर एक साता बिताउँदा नेपालका स्थानीय निकायमा के-कस्ता काम भइरहेका छन् र हाम्रो देश कता जाँदैछ भन्ने अनुमान लगाउने मौका मिल्यो । काठमाडौं फर्कनासाथ बारामा बाटो माग्ने स्थानीयमाथि सरकारले गोली चलायो ।

Kerabariमोरङको उत्तरी भेगमा पर्ने केराबारी गाविस पहाड र तराईको सन्धिस्थल हो । पूर्व-पश्चिम राजमार्गबाट उत्तरतर्फ पर्ने यो गाविसमा पहाडेमूलका क्षेत्री बाहुन, जनजाति र दलितहरुको बाहुल्य छ । तराईमा पर्ने भए पनि यो गाविसमा मधेसी समुदाय व्यापार-व्यवसायबाहेक स्थायी बसोबास गर्दैनन् । थारु र मुस्लिम समुदायको हकमा पनि यही हो ।

गाविसमा मानववस्ती र जंगल बराबरीजस्तै छ । खदम र लाहोन्द्रा खोलाको ढुंगा वर्षेनी ठेक्का लाग्छ । यो गाविसको महत्वपूर्ण आम्दानी हो । डाँगी, भलुवा, केराबारी र देवीझोडामा गरी चारवटा हाइस्कुल एउटै गाविसमा छन् । निमावि र बोर्डिङ स्कुलहरुको संख्या त्योभन्दा धेरै छ ।

सरकारी दायित्वको स्वास्थ्यचौकी एउटा मात्रै छ, त्यसमा खासै मानिसहरु जाँदैनन् । एउटै गाविसमा १६ हजार बढी मतदाता छन् । वालवालिकाको संख्या कति होला, यसैबाट अनुमान लगाउन सकिन्छ ।

सरकारी दायित्वका प्रहरी चौकी, कृषि कार्यालय र स्वास्थ्य कार्यालयहरु केपी ओलीले भनेजस्तो घोर्लीबाख्राका घाँटीमा झुण्डिएका लूर्कामात्रै हुन् ।

भौगोलिक एवं सामाजिक पृष्ठभूमि 

धरानबाट पूर्वपट्टि सुनसरीको पानवारी र मोरङको याङसिला गाविस कटेपछि केराबारी गाविस पुगिन्छ । केराबारीबाट पूर्वपट्टि लेटाङ पर्छ भने दक्षिणतर्फ बेलबारी, इन्द्रपुरदेखि सुन्दरपुरसम्म यो गाविस फैलिएको छ । उत्तरतर्फ ६/७ घण्टा हिँड्यो भने पाटीगाउँ हुँदै धनकुटाको राजारानीसम्म पुग्न सकिन्छ ।

पहिले जंगलमात्रै रहेको यो भूमिमा प्रायः धनकुटा जिल्लाबाट विभिन्न समयमा बसाइँ झरेका मानिसहरु बसोबास गर्छन् । अचल भने खोटाङ, संखुवासभा, भोजपुरतिरका मानिसहरु पनि प्रशस्तै पाइन्छन् ।

लिम्बुका पछिल्ला राजा प्रेमबहादुर मावोहाङ धनकुटाको राजारानीबाट झरेर केराबारीमै बसोबास गर्थे । केराबारी बजारमा उनको घर अझैसम्म छ । त्यसो त लिम्बुहरुले आफ्नो लिम्बुवानको दक्षिणी सीमाना हयी केराबारी ९ नं वडाको भलुवा खेतलाई मान्दै आएका छन् । भलुवामा लिम्बुको भन्दा गुरुङहरुको बाहुल्य छ । समग्र गाविसमा भने क्षेत्री बाहुनको बाहुल्य छ ।

धरानको पानवारीदेखि मोरङको केराबारी, लेटाङ र मधुमल्ला हुँदै झापाको बाहुन डाँगीसम्मको भूभागको ‘नेचर’ एकैखालको छ । पूर्व-पश्चिराजमार्गबाट उत्तरतिर पहाडको फेदमा रहेको यो भूभाग तराई भए पनि पहाडिया बाहुल्य क्षेत्र हो ।

मधेसमा जंगल र पानीको अभाव भए पनि यो भूभागमा जल, जंगल र खेतीयोग्य जमीनको कुनै अभाव छैन । ढुंगा गिटी वालुवा आदिमा यो भेगले सम्पूर्ण जिल्लालाई धानेको छ ।

झापा, मोरङ र सुनसरीको एकैखाले विशेषता बोकेको भूगोलमा पर्ने केराबारी गाविसमा राज्य र जनताको सम्बन्ध कस्तो बनिरहेको छ भनेर हेर्ने हो भने समग्र मधेस र देशको तस्वीर झल्कन्छ ।

महेस आचार्य वनमन्त्री र वामदेव गौतम गृहमन्त्री हुनुअघिसम्म गाउँमा वन समितिले गरेको सिफारिसमा प्रहरी पसेको थिएन । समितिले चलाउञ्जेल वन जोगिएकै थियो । बरु सामुदायिक वन समितिहरु नहुँदा तराईको जंगल सखाप भएको थियो ।

प्रहरी घुस खाने, एमाले खुवाउने

गाउँमा राज्यको उपस्थिति भनेको प्रहरी मात्रै हो । उत्तरी मधेसको झापादेखि कैलालीसम्मका प्रहरीहरु धमाधम घुसै खाइरहेका छन् कि जस्तो लाग्छ केराबारीको दृश्य हेर्दा ।

सामुदायिक वन समितिहरुलाई महेश आचार्यको वन मन्त्रालयले मान्यता नदिने घोषणा गरेको रहेछ । कसैले घर बनाउन सुकेको काठ काट्नुपर्‍यो भने वन समितिले सानो चिर्कटो लेखेर दिँदोरहेछ । तर, वीचैमा प्रहरीले समात्दोरहेछ । त्यसपछि वन समितिका मानिसले प्रहरीलाई पैसा दिएर मिलाउँदा रहेछन् ।

महेस आचार्य वनमन्त्री र वामदेव गौतम गृहमन्त्री हुनुअघिसम्म गाउँमा वन समितिले गरेको सिफारिसमा प्रहरी पसेको थिएन । समितिले चलाउञ्जेल वन जोगिएकै थियो । बरु सामुदायिक वन समितिहरु नहुँदा तराईको जंगल सखाप भएको थियो ।

केराबारीको हकमा प्रहरीको काम वनबाट घुस खाने र वनसमितिको काम प्रहरीलाई घुसमा पल्काउने देखियो । स्थानीय निकायहरु जस्तै विद्यालय, वन, वचत आदिमा एमालेको पकड छ । तर, एमाले कार्यकर्ताहरुले राज्यलाई घुस दिने संस्कार सिकाइरहेका छन् । भ्रष्टाचार एमालेको पर्याय बनेको छ । प्ररहीलाई घुस नदिई व्यवहार चल्दैन भन्ने एमाले कार्यकर्ताको ठाडो दाबी छ ।

एमालेका उपमहासचिव घनश्याम भुसाल काठमाडौंमा बसेर नेपाली समाज कहाँ पुग्यो भनिरहेका छन्, तर गाउँमा गएर हेर्दा नेपाली समाज भ्रष्टाचारको दलदलमा फसेको छ, भुसालकै कार्यकर्ता प्रहरीलाई ५ हजार घुस दिन्छन् र १० हजार दिएको भनेर जनतालाई दोस्रोपटक उल्लु बनाउँछन् ।

कांग्रेस कार्यकर्ता घुसको लेनदेनमा एमालेको फड्के किनाराका साक्षी बनेका छन् । खोलो र जंगलमा सत्ता पक्षका कार्यकर्ताले प्रहरीसँग मिलेर दोहन गरिरहेका छन् । वन समितिको हिसाव किताव जनतालाई देखाइँदैन । कसैले खोज्यो भने प्रहरीलाई घुस खुवाएको पनि बिल हुन्छ र ? भन्दै सशस्त्रलाई यति दिइयो, जनपथ प्रहरीलाई यति दिइयो भन्ने मौखिक बिल सुनाइन्छ चिया पसलमा ।

गाउँमा एमाओवादी वा माओवादीका कार्यकर्ताको बिऊ मासिन थालेको छ । ०४७/०४८ सालमा जस्तै कांग्रेस र एमालेको मात्रै दबदबा छ, माओवादी सिला खोज्नुपर्ने अवस्थामा पुगेको छ । भएका माओवादी पनि प्रहरी, एमाले र कांग्रेसवीच भएको घुस लेनदेन टुलुटुलु हेरेर बसेका छन् । माओवादी गाउँगाउँबाट मासिन थालेको छ ।

गाउँको स्वास्थ्य

जंगलको छेउमा भए पनि केराबारीमा गर्मी बढेको छ । बिराटनगर वा दक्षिणी तराईका जनताले त बस्नै नसक्ने अवस्था छ । केराबारी -९ देवीझोडामा प्रत्येकका घरमा दबाइका बोतलहरु यताउति लडिरहेका भेटिन्छन् । कुनै एन्टिबोयोटिक औषधिका बोतल, कुनै खोकीका त कुनै भिटामिनका ।

गर्मी छ, बच्चाहरु आलस-तालस हुने नै भए । स्वरो आउँछ, खोकी लाग्छ । बुद्ध निमावि छेऊमा चौधरीले दबाइ दोकान थापेका छन् । उनी उपचार गर्न योग्य चिकित्सक हुन् कि हैन, कसैले सोधेको छैन । साइकल वा मोटरसाइकलमा हालेर बच्चालाई त्यहाँ लगिन्छ, उनले पनि झ्याम्म दबाइ लेखिदिन्छन्, यो गोली खुवाउनोस्, यो झोल खुवाउनोस् ।

सहरमा दूध पाइन्छ, तर, जंगलको छेऊको गाउँमा पाइँदैन । सागपात र दूध दही खानुपर्ने गाउँबासीहरु भिटामिनका क्याप्सुल खाएर बसेका छन् । बजारबाट टमाटर र साग किनेर गाउँमा लान्छन्

एउटा घरमा बच्चा लडेर निधारमा सानो चोट लागेको रहेछ । टेप टाँसिएको थियो निधारमा । उनका पिताले झोल दबाइ खुवाउँदै थिए । एन्टिबायोटिक किन नि ? उनले जवाफ दिए, डाक्टर (चौधरी)ले भनेको, घाऊ सुकाउन खुवाउनुपर्छ रे ।

सिंगै केराबारी गाउँ एन्टिबायोटिक खाइरहेको छ । दबाइ दोकानीले मारामार पैसा कमाइरहेको छ । जनताको पैसा औषधिमै सकिइरहेको छ । सरकारी स्वाथ्य चौकी बाँदरको पुच्छर लौरो न हतियार । यो अहिले केराबारीको मात्रै समस्या होइन, समग्र तराईको हो । पहाडमा त न औषधि पाइन्छ, न त्यति धेरै बिमारले सताउँछ । यो समस्या तराईमै बढी छ ।

अधिकांश मानिस अरबमा र शहरमा हुने भएकाले गाउँमा केटाकेटी र बूढाबूढीहरु मात्रै छन् । वस्तुभाऊ पाल्ने कोही छैन । घरमा नभए पनि बाहिरबाट दूध किनेर खाने ठाउँ छैन । सहरमा दूध पाइन्छ, तर, जंगलको छेऊको गाउँमा पाइँदैन । सागपात र दूध दही खानुपर्ने गाउँबासीहरु भिटामिनका क्याप्सुल खाएर बसेका छन् । बजारबाट टमाटर र साग किनेर गाउँमा लान्छन् ।

शिक्षाको कुरा गर्दा गाउँमा सरकारी स्कुलहरु छन् । तर, सरकारी स्कुलमा पढाउने मास्टरका छोराछोरी बोर्डिङमा पठाइन्छ । विद्यालय औपचारिकतामा मात्रै सीमित छ । विद्यालय पढाउने शिक्षकहरु छिमेकीसँग झगडा गर्छन् । मास्टरबाट समाजले न केही सिक्छ, न बालवालिकाले ।

संस्कृतिको हालत

दसैंको अवसरमा देवीझेडा स्कुलमा स्थानीय युवाले संस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । ५० हजारभन्दा बढी खर्च भयो । बेलबारी र गछियाबाट पैसा तिरेर नाच्ने टोली झिकाइएको थियो । वनसमिति र जनताबाट प्रत्यक्ष चन्दा उठाएर देखाइएको सांस्कृतिक कार्याक्रममा अंग्रेजी गीतमा डान्स हेरेपछि बूढापाकाले भने- ‘पैसा उठाएर त्यस्तो के डान्स देखाएको ? केटीहरुले काछीमात्रै लगाएर नाचे ।’

देवीझोडा त्यही गाउँ हो, जहाँ विगतमा अशोक विरही र डोलबहादुर थापाहरुले नाटक देखाउँदा गाउँ उचालिन्थ्यो । अहिले टमाटर पनि बेलबारीबाटै किनेर खाने । नाच पनि किनेरै हेर्ने, आफ्नो मौलिकता न अर्थतन्त्रमा रह्यो, न संस्कृतिमा ।

त्योभन्दा राम्रो नाच त युट्युवमै हेर्न पाइन्छ । तर, केराबारी सुगम ठाउँमा भए पनि डिजिटल दुनियासँग पहुँच राख्न सक्दैन । एनसेलको टावर छ, तर सरकारी टेलिकम मोवाइलमा राम्रोसँग टावर टिप्दैन । बेलबारीबाट मास्तिर लागेपछि थि्रजी निदाउँछ । विकास यस्तो छ । नेताहरुलाई थि्रजी के हो थाहा छैन । विद्यालयमा कम्युटर शिक्षा छैन ।

यो भूगोलमा प्रकृति कत्ति राम्रो छ । सुन्दर छ । वन छ । पानी छ । जनघनत्व छ । तर, मान्छेको मन अशान्त, अस्थिर र विषाक्त छ । यहाँका युवाहरु यही भूमिमा केही गरौं भन्ने सोच्दैनन् । अबरमा उँट चराउन जाने सोच्छन् ।

घनश्याम दाइ, कहिल्यै केरा खेती नगर्ने तर नामलेमात्रै ‘केराबारी’को पहिचान बनाएको यो गाउँतिर एकपटक विचरण गर्ने कि ?

गाउँमा भएका केही तन्देरी र लोग्ने मान्छेहरु घरघरमा भेला भएर बाह्रैमा तास खेल्छन् । महिलाहरु विहानदेखि मेहनत गर्छन् । गुनोसो गर्छन् । तर, तासेहरुले उल्टै श्रीमतीलाई हप्काउँछन् । गणतन्त्र आएपछि पनि गाउँका स्त्रीहरुलाई दुख थपिएको छ । विगतमा केराबारीको डाँगीतिरका पुरुषहरुमात्रै तास खेल्थे अहिले इबोला भाइरसजस्तै सबै वडामा यो रोग फैलिएको छ ।

विगतमा माओवादीले तास जुवा विरोधी अभियान चलाएको सुनिन्थ्यो अहिले माओवादीकै घर-घरमा तास खेलाइन्छ । तासका पत्तिहरु महिला उत्पीडनको कहालीलाग्दो हतियार बनेको छ गाउँमा । शायद यो समस्या र विकृति पनि केराबारीको मात्रै होइन, सिंगै नेपाली समाजको हो ।

अन्त्यमा घनश्याम दाइ, कहिल्यै केरा खेती नगर्ने तर नामलेमात्रै ‘केराबारी’को पहिचान बनाएको यो गाउँतिर एकपटक विचरण गर्ने कि ? त्यहाँ तपाईका एमाले कार्यकर्ता र सिंगो समाजलाई हेरेर तपाईलाई देश कता गइरहेको छ भनी पर्गेल्न सजिलो होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment