Comments Add Comment

गृहमन्त्रीका श्रीमती र छोरा आफ्नै खर्चमा चीन गएको दाबी

२९ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमको चीन भ्रमण टोलीमा सहभागी गौतमपत्नी तुलसा र छोरा हरिशको सहभागिताले राज्यकोषमा कुनै भार नपर्ने दाबी गौतमको स्वकीय सचिवालयले गरेको छ ।

गौतमको चीन भ्रमण टोलीमा श्रीमती र छोरासमेत सामेल गरिएको समाचारमा प्रतिक्रिया दिँदै स्वकीय सचिवालयको तर्फबाट प्रेस संयोजक विश्वमणि सुवेदीले विज्ञप्ति जारी गरी यस्तो दाबी गरेका हुन् ।

गृहमन्त्रीका श्रीमती र छोरा व्यक्तिगत खर्चमा गएको अपुष्ट दाबी विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा भनिएको छ -उहाँहरुको सहभागिताबाट राज्यकोषलाई कुनै किसिमको भार पारिएको छैन । उहाँहरुको भ्रमण प्रबन्ध व्यक्तिगत तवरबाट गरिएको छ ।

गृहमन्त्रीको स्वकीय सचिवालयको विज्ञप्तिमा राज्यकोषलाई कुनै भार नपर्ने गरी नितान्तै गृहमन्त्रीको सहयोगका निम्तिमात्रै पारिवारिक सदस्य सहभागी भएको दाबी गरिएको छ ।

गौतमको भ्रमण दलमा एमालेका उपमहासचिव बिष्णु पौडेल र योजनाविद डा. केशव खड्का पनि सहभागी छन् ।

भ्रमण दलमा गृहमन्त्रालय, शान्तिसुरक्षा महाशाखाका प्रमुख, गृहप्रवक्ता (सहसचिव) लक्ष्मीप्रसाद ढकाल, गृहकै कानुन महाशाखाका सहसचिव धनराज ज्ञवाली, परराष्ट्र मन्त्रालयका सहसचिव खगनाथ अधिकारी, प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरी, सशस्त्र प्रहरी नायव महानिरीक्षक पुष्पराम केसी, गृह मन्त्रालयका उपसचिव शेषनारायण पौडेल समेत छन् ।

बुधबार बिहान बेइजिङ प्रस्थान गरेको टोली कात्तिक ४ गते स्वदेश फर्किने छ । चीन सरकारको निमन्त्रणमा गौतम त्यसतर्फ गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment