ध्रुव भट्टराई (पाथिभराबाट फर्केर)
३० असोज, बिराटनगर । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थल मानिन्छ । हिमालको फेदमा लेक लाग्ने ठाउँमा भएकाले पाथीभराको दर्शन गर्न त्यति सजिलो चाँहि छैन ।
यात्रा कठिन भएकै कारण धेरै मानिसले यो सुन्दरस्थलको अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन सहज हुन नसकेको हो ।
मन्दिरसम्म केबुलकार पुर्याउने चर्चा चले पनि अहिलेसम्म कुनै काम भएको छैन ।
ताप्लेजुंगको सदरमुकाम फुङलिङबाट १९.४ कि.मी. पूर्वोत्तरमा ३७९४ मीटर उचाइमा अवस्थित छ पाथीभरा । चारैतिर जंगलले घेरिएको पहाडको टुप्पोमा पाथीभरा माताको मन्दिर छ ।
अन्न भरिएको पाथीझैं आकृति बोकेको पहाडको टुप्पोमा रहेकाले यी देवीको नामलाई पाथीभरा देवी भनिएको किंवदन्ती छ ।
ताप्लेजुंगका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई मुक् तुबुङ भनेर चिन्दछन् । लिम्बूभाषामा मुक् र तु को अर्थ शक्ति वा बल, र बुङ को अर्थ बोट भन्ने जनाउँछ ।
पाथीभरा मन्दिर धार्मिक हिसाबले जति महत्व रहेको छ प्राकृतिक सन्दरता पनि त्यतिकै भरिपूर्ण छ । पाथीभरा मन्दिरबाट पूर्वी नेपालका पाँच हिमश्रृखलाको दृष्य अवलोक गर्न पनि सकिन्छ ।
मन्दिर क्षेत्रबाट कुम्भकर्ण (७७१०मी.), कञ्चनजङ्घा (८५८६) मकालु (८४६३), लोत्से (८५१६) र नोत्से (७८५५) हिमालको दृश्यावलोकनगर्न सकिन्छ ।
पाथीभरा मन्दिरलाई नेपालमा मात्रै होइन, भारतका हिन्दू धर्मालम्वीहरुको पनि आस्थाको केन्द्रका रुपमा लिइने गरिन्छ । पाथीभरा दर्शनका लागि बाह्य र आन्तरिक गरी वाषिर्क २ लाख भक्तजन आउने गरेका छन् ।
उत्पतिसम्बन्धी किम्बदन्तीहरु
पाथीभरा देवीको उत्पतिसम्बन्धी थुप्रै किम्बदन्ती तथा जनश्रुति छन् । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एक दिन अचानक अप्रत्यासित ढंगले देख्दादेख्दै ती गोठमा बथानका बथान भेडाहरु अलप भए ।
त्यस्तो अकल्पनीय घटनाले स्तब्ध एवं हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।
आत्मवोध प्राप्त गोठालाहरुले देवीको आकृति उत्पन्नस्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ठ भेडाको थुम्बा बली दिए । बली के दिनु थियो, ती हराएका सयकडौं भेडाहरु जस्ताको त्यस्तै पहिलाकै ठाउँमा देखा परे ।
त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ ।
पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ । तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् ।
देवीमा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुपथ्र्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ ।
पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग चढाउँछन् ।
पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् ।
पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।
पाथीभरा धाम कसरी जाने ?
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तेर्सेेसम्म यातायातको सुविधा छ । तेस्रेबाट छातेढुगां हुँदै करिव ३ घण्टा पैदलयात्रासँगै बास बस्ने ठाउँ ठूलोफेदी पुगिन्छ । ठूलोफेदीको होटलमा एकरातको बसाइपछि बिहान सबेरै उठेर लेकाली अंगेरी, गोब्रेसल्लो, धुपी, गुराँस आदिको जंगल एवं मालिंगोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिँडेपछि पाथीभरादेवीको मन्दिर पुग्न सकिन्छ ।
पाथीभरा दर्शनका लागि हिँडेका दर्शनार्थीलाई बाटोमा बास बस्न पर्यो भने सानोफेदीमा पनि पर्याप्त मात्रामा होटल पाइन्छन् ।
ताप्लेजुङ सदरमुकामसँग झापाको बिर्तामोडबाट सीधा यातायात सम्पर्क रहेको छ । हवाइमार्गवाट जानका लागि ताप्लेजुङको सुकेटारसम्म हवाइसेवा पनि छ ।
चिसोबाट जोगिने सामाग्री आवश्यक
पाथीभरा निकै उचाइमा रहेकाले यहाँको तापमान प्राय शून्य (०) को हाराहारीमा रहने गर्छ । अतः तीर्थयात्री तथा पर्यटकहरुले लेक लाग्ने बिमारी हुनबाट जोगिन घरेलु उपचारको सामाग्रीजस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरु साथै लान जरुरी छ ।