३० असोज, काठमाडौं । तस्वीरमा देखिएकी झापाको दमक निवासी ३८ वर्षीया सुनिता न्यौपाने (कट्टेल) भदौ २२ देखि बेपत्ता छिन् । १४ वर्षीया छोरी र ८ वर्षीया छोराकी आमासमेत रहेकी सुनिता जापान जान्छु भनेर भदौ २० गते झापाबाट काठमाडौं आएकी हुन् ।
कतारमा रहेका पति शिवराज कट्टेलसँग सुनिताको भदौ २२ गते टेलिफोनमा अन्तिमपटक सम्वाद भएको थियो । तत्काल जापान जान नमिलेकाले दुबई जान्छु भनेकी सुनिता त्यही दिनदेखि हराएकी हुन् ।
दमकबाट काठमाडौं आउँदा सुनिताले आफ्नो साथमा ६ लाख रुपैयाँ नगद र ६ तोला सुन बोकेकी थिइन् ।
झापामा टोलसुधार समिति, कीर्तन मण्डली आदिमा रहेर समाज सेवामा सहभागी हुँदै आएकी सुनिता असल स्वाभावकी महिला मानिन्थिन् । १० कक्षामा पढ्ने छोरीको विवाह गर्ने बेला हुन लागेको थियो । परिवारमा कुनै खटपट वा झगडा परेको थिएन ।
तीन वर्ष कतारमा बसेर नेपाल फर्केका पति विदा मनाएर भर्खरै कतार फर्केका थिए । उनी कतार गएको ८६ दिनमात्र भएका बेला यता सुनिता बेपत्ता बनेकी हुन् ।
आफ्ना साथी स-परिवार जापानमा भएकाले सुनितालाई पनि जापान पठाउने घरसल्लाह भएको थियो ।
दमकमै रहेको दाहाल फार्मेसीमा काम गरेर सुनिताले मासिक ७/८ हजार कमाइरहेकी थिइन् । फार्मेसी सञ्चालकका अनुसार आर्थिक हिसाबले समेत उनी इमान्दार मानिन्थिन् ।
अचम्मै भयो
पत्नी हराएको थाहा भएपछि कतारमा रहेका पति शिवराज दसैंका बेला हतार-हतार नेपाल फर्किए । अहिले उनी पन्तीको खोजीमा कहिले झापा त कहिले काठमाडौंमा दौडधूप गरिरहेका छन् । छोराछोरी र गाउँलेहरु अचम्ममा परेका छन् ।
कतारस्थित काम गर्ने कम्पनीमा पुगेको ८६ दिनमै विदा नमिलेकाले शिवराज पत्नीलाई क्यान्सर भएको बाहना बनाई नेपाल फर्केका हुन् ।
नेपाल फर्किएपछि शिवराज हराएकी पत्नी खोज्दै महानगरीय प्रहरी परिसर हनुमानढोका पुगे । नेपाल बार एशोसिएसनका उपाध्यक्ष अभिवक्ता टीकाराम भट्टराईले जिल्लाबासीको नाताले शिवराजको समस्या समाधान गरिदिन काठमाडौंका प्रहरी प्रमुख पुस्कर कार्कीलाई फोन गरे । एसएसपी कार्कीले समस्या सल्टाइदिन मातहतलाई तत्काल निर्देशन दिए ।
प्रहरीले सुनिताको मोबाइलमा सम्पर्क गर्दा दसैंको फूलपातिको दिन कीर्तिपुरमा रहेको पत्तो लाग्यो । तर, भवानी पौडेल नाम गरेको युवकले फोन उठाएर भन्यो, मैले उसलाई बिहे गरिसकें, ऊ मेरी श्रीमती हो, जे गर्न मन सक्छौ, गरे हुन्छ ।
तर, भवानी पौडेल काठमाडौंबाट भागेर लगत्तै झापा पुगेको प्रहरीले पत्तो लगायो । झापा पुगेर सुनिताको तस्वीर देखाउँदै यो महिलालाई चिन्छौ भनेर सोध्दा भवानीले उल्टै प्रहरीलाई हप्कायो, यो मेरी श्रीमतीको फोटो तिमीहरुले कहाँबाट ल्यायौ ?
किन छाडिए भवानी ?
झापाको धरमपुर घर भई कीर्तिपुरमा डिग्री पढिरहेको बताउने २६ वर्षीय भवानी पौडेल ‘मन्त्री’ ले दमक प्रहरीमा आइपुग्दा आफू फसेको बताउन थाल्यो । ‘मैले २२ वर्षकी केटी भनेर बिहे गरेको, त्यो त ३८ वर्षकी पो रहिछे, त्यसलाई छाडिसकें, त्यो इण्डियातिर गइ होला,’ उसको यस्तो वयान सुनेपछि प्रहरीले काठमाडौंबाटै यो केस हेर्नु भन्दै झापामा उजुरी दर्ता गर्न मानेन । पीडित शिवराम फेरि काठमाडौं आए ।
सुनितासँग बिहे गरेको बताउने भवानीलाई प्रहरीले छाडिसकेको छ । सुनिताको अहिलेसम्म पत्तो छैन । प्रहरीले शरीर बन्धकमा उजुरी नै दर्ता गर्न मानेको छैन ।
‘सुनितासँग आफूले बिहे गरेको भवानीले स्वीकार्दा पनि उनलाई नदेखाई प्रहरीले यसरी छाड्न हुन्छ ?’ पीडित शिवराज अनलाइनखबरसँग भन्छन्, ‘उनलाई बन्धक बनाएर राखिएको छ कि ? वा ज्यानै मारियो कि ? मान्छे त देखाउनुपर्यो नि । विहे नै गरेका हुन् भने मैले छाडिदिन तयार छु, तर ज्यान त सुकुशल छ भन्ने कन्फर्म हुनुपर्यो नि ।’
सुनितालाई अर्कैसँग बिहे गर्ने विचार पलाएको भए आफूले आपत्ति नजनाउने शिवराजले बताए । तर, सुनिताले २६ वर्षको केटासँग बिहे गरेकोमा आफूलाई र उनलाई चिन्ने छिमेकीलाई समेत विश्वास नलागेको शिवराजले अनलाइनखबरसँग बताए ।
प्रहरीसँग पीडितको गुनासो
‘प्रहरीले सिरियस लिइदिएन । मान्छे बेपत्ता भएको केसमा अपराधीसम्म पुगेर पनि प्रहरीले छाडिदियो,’ कतारबाट आत्तिँदै स्वदेश आइपुगेका कट्टेलले न्याय नपाएको गुनासो गर्दै भने,’ महानगरीय प्रहरी परिसर, अपराध महाशाखाका एसएसपी पुष्कर सर (पुस्कर कार्की)ले सिरियसली हेर्नु भनेर मातहतलाई आदेश गर्नुभएको थियो, तर सुनिताको स्थिति पत्ता लगाउन प्रहरीले चासो देखाएन ।’
अपराध महाशाखाले भवानी पौडेललार्इ पक्राउ गरी महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाएको थियो । तर, हनुमानढोकाले जानकारी नदिइ रिहा गरेको कट्टेलको गुनासो छ ।
कट्टेलले रहस्य प्रकट गरे-‘सुनिताको साथमा रहेको सम्पत्तिका लागि त्यो केटाले बिहेको नाटक गरेर कतै लुकाएको पो छ कि ? धरमपुरको मान्छेले दमककी ३८ वर्षीया प्रौढ महिलालाई २२ वर्षकी केटी ठानेर कसरी बिहे गर्छ ? यसमा पक्कै केही रहस्य छ ।’ उनले थपे- ‘सुनितालाई बिहे गरेको हुँ भन्ने ठिटोलाई हराएको मान्छे नै नदेखाई प्रहरीले छाड्दा आशंका पैदा भएको छ, बिहे नै गरेका भए मेरो आपत्ति थिएन, तर उनको ज्यान तलमाथि नहोस् ।’