Comments Add Comment

सवारी जाम हुँदा जनतालार्इ फाइदै फाइदा

Sailesh-Bhattaraiशैलेश भट्टराई 

काठमाडौँका सडक बेलाबेलामा भीभीआइपीहरूको सवारीको स्वाद पाएर निक्कै गौरवान्वित हुने अवसर पाउँछन् ।

राणा काल र पञ्चायत कालमा काठमाडौँ उपत्यकामा जनसंख्या र सवारी साधनको चाप खासै धेरै थिएन । त्यसैले राजा महाराजाको सवारी भए पनि उपत्यकाका सडक र जनताहरू सवारीको लाभबाट खासै लाभान्वित हुन पाएका थिएनन् । अहिले भने काठमाडौँ सहरका सडक, सवारी साधन  र जनताले दिनदिनै जसो सवारी हेर्न पाउँछन् । संगसंगै त्यसको लाभ पनि उपभोग गर्न पाउँछन् ।  देशका अरु सहर र जनताले विरलै यस्तो सौभाग्य प्राप्त गर्दछन् ।

 भीभीआइपीको सवारीबाट उत्सर्जित जाम भनेको हाम्रा भीभीआईपीहरूको सुरक्षा शान-मानको भरपर्दो सूचक हो । जति ठूलो, भव्य, लामो, टिकाउ, आकर्षक र धेरै समयको जाम गराउन सक्यो सुरक्षा व्यवस्था पनि त्यति नै कडा र चुस्त दुरुस्त छ भनेर बुझ्नुपर्छ अनि वहाँहरूको व्यक्तित्व पनि त्यति नै उच्च, भव्य र महान् रहेछ भनेर बुझ्नुपर्छ । फलानाको सवारीमा यति घण्टा जाम भनेपछि इतिहासमा नाम लेखिने सूवर्ण अवसर पनि प्राप्त हुनसक्छ । अझ विश्वकै रेकर्ड ब्रेक भयो भने त गिनिज बुकमै नाम अंकित हुनसक्छ- व्यक्तिको पनि र देशको पनि । त्यसैले देशकै इज्जत राख्ने सम्भावना बोकेको सवारीको जमेर सपोर्ट गरौँ । दशैँ, तिहार, छठ जस्ता चाडवाडको मुखमा त झन् धेरै सवारी चलाउनु पर्छ किनभने कीर्तिमान भङ्ग गर्ने उपयुक्त समय नै यही हो ।

पुष्कर शाहले विश्व भ्रमण गरेर रेकर्ड बनाए जस्तै जामको रेकर्ड पनि नेपालबाट नै भयो भने झनै उत्तम । दुई विपरीत विश्व कीर्तिमान एउटै देशबाट ! क्या गजबको संयोग !

चार पाँच घण्टा सवारी साधन निरन्तर चल्दा काठमाडौँ उपत्यकामा कम्तिमा पनि दुइ तीनवटा सवारी दूर्घटना त पक्कै हुँदा हुन् । ती दुर्घटना पनि सवारीको कारणले टर्यो । कसकसको टर्यो भनेर थाहा पाउने संयन्त्र नभएर मात्रै हो नत्र भेटेरै बधाइ दिन हुन्थ्यो नयाँ जीवनको अथवा नयाँ सवारी साधनको ।

अहा कति गुणकारी महामहिमहरूको सवारी । कसैको ज्यान जोगाइदिने, कसैको सवारी साधन क्षति हुनबाट बचाउने, कसैको अङ्ग भङ्ग हुनबाट जोगाउने ।

अब एकछिन रोमान्टिक कुरा गरौँ । तपाईं कल्पना गर्नुस् कतै डेटिङमा गएर आउँदै हुनुहुन्छ, बसमा तपाईंहरू दुइजना आरामले सीटमा बसेर माया पीरतीका मीठा मीठा कुराहरू गरिरहनु भएको छ । झर्ने ठाउँ सम्झेर दुवैजना चिन्तित हुनुहुन्छ । यत्तिकैमा कसैको सवारीले सडक जाम भो भने तपाईंहरूको खुशीको बयानमा एउटा खण्डकाव्य नै लेखिन सक्छ । जसको सवारी हो, उसलाई तपाईं जिन्दगीमा कसैलाई नदिएको धन्यवाद दिनुहुन्छ । यो पनि अर्को राम्रो कुरा हो ।

यस्तो पोजेटिभ कुरा गर्न छोडेर बसमा उभिएका, खाँदिएका, ढेपिएका, चेपिएका, सामान बोकेका, गर्भवती महिला, रोगी मान्छे हेरेर सवारीले जाम पार्यो, दु:ख दियो भन्दै भीभीआइपीहरूको आलोचना गर्नु हुँदैन भन्ने पंक्तिकारको जबर्जस्त मान्यता रहेको छ। यस्तो आलोचनाले लोकतन्त्रको भविष्य नै भड्खालोमा पर्ने सम्भावना रहन्छ ।

पढन्ते विद्यार्थी जसको घरमा पढ्ने वातावरण फिटिक्कै छैन । उसले यस्तो जाममा बसको सीटमा बसेर मजाले पढ्ने अवसर पायो भने पनि सवारीकर्ता महामहिमलाई धन्यवाद नदिने कुरै छैन । अरुले के गर्छन् त्यसको कुरा नगरौं । सकारात्मक मात्रै सोचौं । अनि मात्र परिणाम सकारात्मक हुन्छ ।

कहिलेकाहीं बिभिन्न बहानाहरू गर्नु पर्ने हुन्छ । बहानाबाजहरूलाई सवारीको जाम उत्तम अस्त्र हुन्छ । किनभने सवारीले राष्ट्रिय अन्तराष्ट्रिय चर्चा र मान्यता पाएको हुन्छ । फलानाको सवारीको कारणले जाम परेर ढिला भयो, छुट्यो भन्यो भने त्यसले कम्तिमा हाम्रो देशको चार किल्लामा बैधानिकता पाउने प्रवल सम्भावना रहन्छ । जसले यसलाई वैधानिकता दिँदैन, बुझ्नुस् ऊ प्रतिगामी, पुनरुत्थानवादी,  निरङ्कुश, परिवर्तन विरोधी, राष्ट्रियता विरोधी, प्रजातन्त्र विरोधी, लोकतन्त्र विरोधी र गणतन्त्र विरोधी हो ।

देशमा गणतन्त्र आयो भनेर राजतन्त्रवादीहरूको अनुहार मलीन भएको दशक हुन लाग्यो । तर, उनीहरूले गर्व गर्ने ठाउँ धेरै छन् । उनीहरूले गणतन्त्रमा पनि सक्रिय राजतन्त्रको झैं गर्व गर्न सक्ने अनगिन्ति कुराहरू मध्ये सवारी पनि एक हो ।

राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र सबैको एउटा महान् गुण भनेको सवारी र त्यसको शान भएकोले यसले राष्ट्रिय सहमतिको प्रतीक बन्ने व्यापक  सम्भावना बोकेको छ ।

सवारी सर्जक भीभीआईपी भनेका करोडौंका प्रतिनिधि हुन् भने सडकमा गुड्ने, हिंडने मान्छे भनेका  हजारौं होलान् । करोडौंलाई सुबिधा पुर्याउँदा केवल हजारौंलाई मात्रै सास्ती हुनु भनेको सकारात्मक कुरा नै हो । त्यसैगरी  मर्निंग-वाक आजभोली शहर बजारको दिनचर्या नै भएको छ ।

भीभीआईपीको सवारी विहानै भए त मर्निंग-वाकका शौखिन वा मर्निग-वाक नगरी नहुनेलाई दुवैलाई उत्तम अवसर प्राप्त हुन्छ । दिउँसो वा बेलुकै भएपनि यस्तो अवसर प्राप्त हुँदा केही स्वास्थ्य समस्या दूर गर्न सहायक सिद्ध हुन्छ । जनतामा हिंड्ने बानीको बिकास हुन्छ ।

हाम्रा भीभीआइपीहरूले बेलाबेलामा सवारी चलाउनाले वहाँहरूको प्रचार प्रसार भैराखेको हुन्छ । ख्याती बढिरहेको हुन्छ।  टेलिभिजनमा हेर्न पाइन्छ, रेडियोमा सुन्न अनि पत्र-पत्रिकामा पढ्न पाइन्छ । वहाँहरूलाई आफ्नो शक्ति प्रदर्शनको मौका मिल्छ । नेपाल प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक, लोककल्याणकारी राज्य हो भन्ने कुराको पुष्टी सवारीले पनि गरिरहेको हुन्छ । यसका लागि वहाँहरूलाई साधुवाद दिनैपर्छ ।

एकपटक हाम्रा एकजना सवारी सर्जक भीभीआइपीलाई पखाला लागेर उपचार गर्न टोरोन्टो जानै पर्ने भएछ नत्र निकै नहुने । नेपालका डाक्टर र अस्पतालले पखालाजस्तो गम्भीर रोग निको पार्ने कुनै सम्भावनै थिएन ।

नेपालका अस्पताल र डाक्टर प्रति वहाँको विश्वास हराएको शायद ०४६ सालपछि हो। यो अविश्वास ०६३ सालपछि झनै घनीभूत भएर गएकोले टोरोन्टो जानुपरेको हो । पूराका पूरा सडक जाम गराएर वहाँ हुइँकिनु भो टोरोन्टोतिर । सवारीको क्रममा गम्भीर बिरामी सहितको एम्बुलेन्स पनि जाममा परेछ । ती बिरामी जाममै परमधाम भएछन् । अस्पताल नै नपुगी। कतिपय मिडियाले यसलाई ठूलो इस्यू बनाए ।

सकारात्मक सोचौं । सवारीले गर्दा कम से कम यमराजलाई त हाम्रा अस्पताल र डाक्टरप्रति विश्वास रहेछ भन्ने कुराको पुष्टी भयो । खेत खन्दा एकाध गड्यौला काटिए भन्दैमा खेतै नखन्ने र ?

त्यसैले भीभीआईपीहरूको मात्रै सवारी नचलाई यस्तो गुणकारी सवारीलाई वडा तह सम्म विकेन्द्रीकरण गर्नुपर्छ र  वडाध्यक्षको पनि यसरी नै सवारी चलाउनु पर्छ। यसो भयो भने सवारीबाट प्राप्त हुने यस्ता लाभबाट कुनै पनि सडक, सवारी साधन र जनताले वन्चित हुनु पर्दैन ।

यहाँका व्यस्त सडक जसले चौबीसै घण्टाजस्तो सवारी साधनलाई सेवा पुर्याउनुपर्छ । एक त सकी नसकी असार मसान्तमा बल्ल बल्ल रातारात टालटुल भएका सडक त्यसमाथि लगातार सवारी साधनको अविरल चाप । अनि वर्षायाममा बर्षातको चाप पनि छँदैछ ।

पाइलै पिच्छे खाल्टाखुल्टी अनि त्यसमाथि ठाउँ कुठाउँ ब्रेकरका पहाडहरू । बिचरा सडकहरू ! धन्न वहाँहरूले बेला बेलामा सवारी चलाइदिएर एकातिरको सडक खाली गराएर सडकको बोझ हल्का गराइदिनुहुन्छ भने अर्कोतिरको सडकमा जाम गराइदिएर सडकलाई बिश्रामको अवसर दिलाउनुहुन्छ। अर्थात् सडकमाथि कहिल्यै नबिर्सने गुन लाउनु हुन्छ । शायद सडक हामी यात्रु र हाम्रा सवारी-साधनहरूलाई देखेर दारा किट्दो हो अनि वहाँहरुको दर्शन गर्न पाउँदा दामै राखेर ढोग्दो हो ।

त्यसैगरी चार पाँच घण्टा भए पनि आराम गर्न पाइयो भन्दै सवारी साधन पनि मख्ख पर्दा हुन् । थोत्रा सवारी साधन त झन् कति फुर्किंदा हुन् । अनि जाममा बीच बाटोमा यात्रुहरूले झरेर तीनको बोझ अलिकति भएपनि हल्का पार्दा झनै आराम महसूस गर्दा हुन् ।

त्यतिमात्रै कहाँ हो र ! सवारीको कारण एकातिर चार पाँच घण्टा जाम हुन्छ भने अर्कोतिर चरो उड्न र मुसो कुद्न पनि अनुमति लिनुपर्ने गरी सडक खाली गरिएको हुन्छ । यसले गर्दा एकातिर पेट्रोलियम पदार्थमा बचत भैरहेको हुन्छ भने अर्कोतिर वायु-प्रदूषण र ध्वनी प्रदूषणमा सुधार आइरहेको हुन्छ । किनभने  स्टार्ट बन्द गरेर सवारी सकिएर जाम खुल्ने प्रतीक्षा गर्नुको विकल्प रहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment