Comments Add Comment

कांग्रेस कुखराजस्तो, एमाले माछाजस्तो

Dinesh-thapaदिनेश थापा

दुई महिनाअघि सिन्धुपाल्चोकको राम्चे गाउँ विकास समितिको इटनी भीर खसेर पहिरो जाँदा १ सय ४५ को मृत्यु भयो भने १ अर्ब बढीको भौतिक सम्पत्ति नष्ट भयो । पहिरोले सुनकोशी नदी थुनिएपछि त्यसबाट सयौं परिवार विस्थापित समेत हुनुपर्‍यो । जिल्लामा गएको यो विनाशकारी दैवी विपत्तीमा सबै क्षेत्रको सहयोग उल्लेख रह्यो ।

जिल्लाका प्रमुख राजनीतिक दलहरुले पनि सुनकोशी बाढी पहिरो पीडितहरुका लागि सकेको सरसहयोग गरे । नेकपा एमालेका सभासद एवम केन्द्रीय सदस्य शेरबहादुर तामाङले सबैभन्दा पहिला एक महिनाको तलब विस्थापितहरुलाई दिने घोषणा गरे । त्यसलगतै एमालेका भातृ संगठन युवा संघ र अनेरास्ववियुले पनि राजधानी लगायत देशका विभिन्न स्थानमा राहात संकलन गरेर पीडितहरुका लागि वितरण गर्‍यो ।

कांग्रेस सभासद मोहन बस्नेत साउन १७ पछि मात्रै मिडिया र सार्वजनिक कार्यक्रममा विस्थापितहरुको अवस्था देखेरे धेरैपटक रोइसके !

एमाले केन्द्रीय कमिटी,जिल्ला कमिटी, सिन्धु-काठमाडौ सम्पर्क मञ्च लगायतका एमालेका संगठनहरुले आ-आफ्नो ठाउँबाट राहात संकलन गरेर पीडितहरुलाई प्रदान गरे । छिमेकी जिल्ला दोलखाका एमाले सभासदहरुले समेत सुनकोशी दैवी विपत्तीमा परेकाहरुलाई सहयोग गरेका थिए ।

एमालेको सबै कमिटीहरुबाट झण्डै २५ लाख विस्थापितहरुका लागि सहयोग गरेका छन् । एमालेका नेता कार्यकर्ताहरु उद्दार राहत संकलन गर्न दिनरात खटे । सुनकोशी बाढी पहिरो पीडितहरुका लागि मात्र होइन, बराम्ची र जिल्लाका अन्य क्षेत्रमा गएको बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारहरुलाई पनि एमालेले थोरै भए पनि राहत दिएर पीडितहरुको घाउमा थोरै भए पनि मल्हम लगाउने प्रयास गर्‍यो, जुन सराहानीय थियो ।

जिल्लामा भएको यो ठूलो दैवी विपत्तिमा जिल्लाका प्रमुख राजनीतिक दलहरुले गरेको यो सहयोग प्रशंसनीय मात्रै छैन, पीडितहरुसँग हामी सधै सँगसँगै छौ भन्ने भावनाको पनि विकास गराएका छन् राजनीतिक दलहरुले । अन्य दलको तुलनामा एमालेले राम्रो सहयोग गरेको छ । तर, यसलाई एमालेले ‘क्यास’ गर्ने एउटा सुनौलो अवसरबाट भने एमाले पछि परेको छ ।

नेपालीमा एउटा उखान छ, कुखुराले एउटा फुल पार्ने बेलामा सात गाउँ थर्काउने गरी हल्ला गर्छ रे । तर, माछाले सयौं फुल पार्दा पनि हल्ला नगरी शान्तसँग बस्ने गर्छ रे । यसको अर्थ, थोरै सहयोग गर्नेहरु कुखुराको पोथीजस्तै भएका छन् भने एमालेका नेताहरु माछा जस्तै भएका छन् ।

एमाले अहिले देशको प्रमुख शक्ति अनि सरकारमा समेत भएको एउटा प्रमुख राजनीतिक दल हो । जिल्लाबाट मात्रै दुईजना सभासद छन् । पार्टी केन्द्रमा पनि पहुँचमा नै छन् एमाले सिन्धुपाल्चोकका नेताहरु । तर, जिल्लाका सयांै विस्थापितहरुसँग नजिकने अवसरबाट एमाले नेताहरु पछि परेका छन् ।

हुन त एमालेका उपाध्यक्ष एवम गृहमन्त्री वामदेव गौतम दुईपटक पहिरो स्थलमा आइसकेका छन् । भर्खरै महाधिवेशन सकिएकाले पनि हुन सक्छ, एमालेका जिल्ला नेताहरुमा अझै पनि महाधिवेशनमा भएका पक्ष विपक्षका तुषहरु नसकिएर हो वा समन्वयको अभावमा हो, पावरमा भएका मन्त्रीहरुसँग पनि अहिले एमाले सिन्धुपाल्चोकले लाभ लिन सकिरहेको छैन ।

मन्त्री सहभागी कार्यक्रममा पनि एकपक्षीय नेताहरु नजाने क्रम पनि देखिएको छ । दसैंको अवसरमा कांग्रेस सभासद मोहनबहादुर बस्नेतले विभिन्न सहयोगीले दिएको रकम पहिरो पीडितहरुको हातैमा दिए । दसैंमा विस्थापितहरुले थोरै भए पनि राहत पाउँदा उनीहरु निकै खुसी देखिन्थे ।

केही दिनपछि विस्थापितहरुको सेल्टरमा पुग्दा उनीहरु भन्दै थिए मोहन बस्नेतले दसैंमा ५ हजार नदिएको भए त हामीलाई धेरै नै समस्या हुने थियो । त्यतिमात्र होइन, उनले तिहार खर्च पनि दिए ।

बस्नेत आफैले गोजीको पैसा दिएका थिएनन् तर पीडितहरुलाई लाग्यो साँच्चै हाम्रा लागि गर्ने नेता भनेको बस्नेत मात्रै रहेछन् । पीडितहरुको मनभित्र बस्नेत बस्न सफल भए । तर, एमाले र माओवादीका नेताहरुले यसो गर्न सकेनन् वा जानेन् , त्यो उहाँहरुले नै जान्ने विषय भयो । तर पनि जिल्लाका दुइ कम्युनिष्ट पार्टीहरु भने माछाले फुल पारेको जस्तै भए ।

सुनकोशीको बाढी पहिरोले ५६ मेगावाट विद्युत आपुर्तीमा समस्या भएको छ । प्राधीकरणको स्वामित्वमा रहेको १० मेगावाटको सुनकोशी जलविद्युत आयोजना क्षत विक्षत भएको छ । अन्य निजी आयोजनाहरुको पनि अवस्था उस्तै छ । तर, सरकारमा एमालेको ऊर्जा मन्त्री पनि छन् । तर, ऊर्जा मन्त्री एकपटक पनि पहिरो स्थलमा आउँन सकिनन् ।

ऊर्जा मन्त्री राधा ज्ञवाली काठमाडौको ठूला होटलहरुमा बसेर दुइ /तीन वर्षमा देशबाट लोडसेडिङ अन्त्य गर्ने हावादारी भाषण गरिरहँदा राजधानीबाट नजिकै रहेको जिल्लामा यत्रो विद्यतु उत्पादन ठप्प हँुदासमेत एकपटक पनि यहाँ आउँने हिम्मत गरिनन् । एमालेका नेताहरुले यहाँ ल्याउने प्रयत्न पनि गरेनन् । ऊर्जा मन्त्री पहिरोस्थलमा आएको भए यसले छुट्टै सन्देश जाने थियो । तर, यो अवसरबाट पनि एमालेका नेताहरु चुकेका छन् ।

विस्थापितको चिन्ता

पहिरोबाट विस्थापित भएकाहरु ओरियन्ट म्याग्नेसाइटमा आश्रय लिएर बसिरहेका छन् । तर, बाहिर एउटा हल्ला आएको छ कि अब विस्थापितहरुलाई म्याग्नेसाइटबाट हटाइँदैछ । यसबाट विस्थापितहरु थप चिन्तित भएका छन् ।

उद्योग मन्त्री महेश बस्नेतले उद्योगको निरीक्षण त गरे, तर विस्थापितहरुले उठाएका यस्ता शंकाको निवारण गर्न सकेनन् । विदेशमा रहने नेपालीहरुले पहिरो पीडितहरुका लागि लाखौं सहयोग गरिरहेका छन् । विदेशमा रहने साझा संगठन, पार्टीनिकटका संगठनहरुले पनि सहयोग पठाइरहेका छन् ।

एमाले केन्द्रीय सदस्य अरुण नेपालले लामो समय विदेश विभागको सचिव रहेर काम गरेका छन् । उनको विदेशमा रहेका संगठनसँग राम्रो सम्बन्ध रहेको छ । तर, एमाले निकटका संगठनहरुले पहिरो पीडितहरुका लागि सहयोग गरिएको कतै सुन्न पाएको छैन ।

यसमा नेता नेपालले आफ्नै गाउँमा यत्रो विपत्ती पर्दा सहयोगको हात बढाएको भए अवश्य पनि राम्रो सहयोग जुट्न सक्थ्यो होला । तर, त्यसो पनि हुन सकेन ।

कांग्रेस सभासद मोहन बस्नेत साउन १७ पछि मात्रै मिडिया र सार्वजनिक कार्यक्रममा विस्थापितहरुको अवस्था देखेरे धेरैपटक रोइसके ! उनी साँच्चै रोए अथवा मन पगाल्न खोजे, यो उनै जानुन् । तर बस्नेतले नेतामा हुनुपर्ने गुण देखाए । उनी पहिरोस्थलमा दर्जन पटक आइसके ।

एमालेका नेताहरु पनि पुगिरहेका छन् । तर, विस्थापितहरुसँग सुःख दुःख साट्ने अवसरबाट नेताहरु पछि परेका छन् ।

नयाँ संविधान बनाउने ठेक्का एमाले सभासद अमृत बोहरा र शेरबहादुर तामाङलाई मात्रै परेको छैन । बस्नेतलाई पनि संविधान बनाउनै पठाइएको हो । तर, उनी धेरैपटक आइसकेका छन् । एमालेका सभासदहरु भने खाली संविधानको उल्झनमा नै व्यस्त छन् ।

समग्रमा एमालेले धेरै गर्‍यो । तर, जति गर्‍यो र गर्न सक्थ्यो, त्यो अवसरबाट भने एमालेका नेताहरु चुकेका छन् ।

अझै पनि पहिरो पीडितहरुका लागि गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । पुनर्वास, भौतिकरुपमा नष्ट भएका सम्पत्तिहरुको पुननिर्माण लगायतका धेरै कामहरु ग्र्न बाँकी छन् । यसलाई एउटा अवसरको रुपमा लिएर एमालेले काम गर्नै हो भने पहिरो पीडित जनातसँग सधैं एमाले रहेको छाप पर्नेछ ।

यो एउटा सुझाव मात्रै हो, नेताहरुमा इच्छाशक्ति हुनुपर्‍यो । धेरै गर्न बाँकी छ र गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment