Comments Add Comment

‘नेपाली समय’ भन्दै नेताले देशकै बदनाम गरे : नारायणकाजी

३१ असोज, काठमाडौं । नेताहरुको विलासी एवं तडक-भडकपूर्ण जीवनशैलीविरुद्ध अभियान सुरु गर्दै सार्वजनिक गाडी चढ्न थालेका एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब समयको ख्याल नगर्ने नेताविरुद्ध आन्दोलनमा उत्रने भएका छन् ।

kaji-1प्रमुख दलका नेताहरु अधिकांश बैठकमा तोकिएको समयमा उपस्थित हुन छाडेपछि श्रेष्ठले यो अभियान थालेका हुन् । आफू सार्वजनिक यातायात चढेर पनि तोकिएको समयमै बैठकमा पुग्ने गरेको भन्दै श्रेष्ठले अब समयको महत्वलाई सबैले आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्ने बताए ।

सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईको पहलमा शुक्रबार बिहान ९ बजे तीन दलको बैठक बोलाइएको थियो । तर, १० बजेमात्र बैठक सुरु भयो ।

बैठकको सुरुमा नै समय लिएर श्रेष्ठले सबै ठूला नेता भएको र देश बनाउँछु भन्दै हुँकार गरिहेको भन्दै बैठकमा भने, ‘तपाईहरु ‘महान’ नेताहरु हुनुहुन्छ, म कमनर आन्दोलनकै कारण यहाँहरुसँग छलफल गर्ने स्थानमा आएको छु । तपाईहरु समयभित्र आइदिनुभयो भने तपाईहरुको महानता घट्छ ?’

श्रेष्ठले पेचिलो व्यंग गरेपछि सबै नेताहरुले कुरा ठीकै हो भन्नेबाहेक केही बोलेनन् ।  एमाले नेता माधवकुमार नेपालले भने विगतमा आफू पनि समयमै उपस्थित हुने गरेको तर, कोही नआउने भएपछि ढीलो आउन थालेको प्रतिक्रिया दिए ।

तर, श्रेष्ठले ‘नेपाली समय’ भनेर देशलाई नै नेताहरुले बदनाम गराउने काम गर्न नहुने बताए ।

श्रेष्ठले पछिल्ला दिनमा पार्टीभित्र र दलहरुबीच समयलाई ख्याल गर्न जोड दिने गरेका छन् । पछिल्लोपटक पार्टीले बोलाएको बैठकमा एक घण्टा ढीलो हुँदा पनि सुरु नभएपछि उनले छाडेर हिँड्ने गरेका छन् ।

त्यस्तै २२ दलीय मोर्चाको बैठकमा पनि उनी १ बजे नै पुगे । तर, नेताहरु समयमा नआएको भन्दै उनी उठेर हिँडे ।

एक नेताका अनुसार केही दिनअघि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा पनि श्रेष्ठले केहीबेर कुर्दा पनि नेताहरु नआएको भन्दै बैठक छाडेर हिँडेका थिए ।

उनी फर्केर बैठक कोठाको ढोकामा पुग्दा कांग्रेस नेताहरुले हतार-हतार प्रधानमन्त्री सुशील कोइरालालाई बोलाएर ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment