Comments Add Comment

दिल्ली पसेका ‘बहादुर’ लाई गणतन्त्र आएन !

पवन पटेल, नयाँ दिल्ली

राजु केसी हाम्रो छिमेकी देश नेपालको सुरम्य पहाडी जिल्ला अर्घाखाँची निवासी हुन् । उनको उमेर ४२ वर्ष पुगेको छ । उनले पाँच कक्षा मात्रै अध्ययन गरेका छन् । आफ्ना तीन बच्चा र पत्नीका साथ उनी दिल्लीमा आरके पुरम इलाकामा बनेको एक गन्धा बस्ती बसोबास गर्छन् ।

राजु केसी विगत २३ वर्षदेखि जवाहरलाल नेहरु विश्वविद्यालयको लाइब्रेरी, क्यान्टिन र क्याम्पसमा रहेका परिवारजनलाई ग्यासका सिलिन्डर सप्लाइ गर्दै आइरहेका छन् । यही विश्वविद्यालयमा यतिबेला डा. बाबुराम भट्टराईकी छोरीले समेत पढिरहेकी छन् ।

पवन पट्टेल
पवन पटेल

नेपालको ग्रामीण इलाकामा यस्तो चलन छ कि आफ्ना बच्चाले किशोरावस्थामा पाइला नटेक्दै परिवारको जीविकोपार्जनका लागि उनीहरु भारततर्फ पठाइन्छन् । राजु केसी पनि १४ वर्षकै उमेरमा आफ्ना भिनाजुसँग पहिलोपटक भारत आएका हुन् ।

सुरुका केही वर्ष किशोर राजुले सोनीपत, हरियाणाका केही होटलमा भाँडा माझ्ने काम गरे । त्यसपछि केही वर्ष फरिदाबादको होटलमा खाना बनाउने काम गरे ।
भारतको नयाँदिल्ली यस मामिलामा पर्यायवाची रहेको छ कि यसप्रकारका अनाम नेपाली मजदुर, जसलाई हाम्रो देशको अर्थ मन्त्रालय ‘अनौपचारिक क्षेत्र’का रुपमा परिभाषित गर्छ, यिनीहरुको श्रमको उचित मूल्य दिनु त परको कुरा, उनीहरुलाई अस्मिताबाट समेत वञ्चित गरिराखिएको छ ।

राजु केसी जातीय हिसाबले क्षेत्री हुन् । नेपाली समाजमा क्षेत्री बाहुनजस्तै उच्च जातिमा पर्छन् । राजु पहाडी ग्रामीण इलाकाको साना जोताहा किसान परिवारबाट दिल्ली आएका हुन् ।

यहाँ दिल्लीको नेपाली समाजमा राजु केसीको अलग्गै पहिचान छ । उनको नाम छ, उनको अस्मिता छ । तर, भारतीय जनताका लागि उनी एउटा यस्तो देशका नागरिक हुन्, यहाँको लोकसभामा यस्तो अनुहारको नेपालीलाई गोरखा, बहादुर र वेश्या सप्लाइ गर्ने देशको वासिन्दा मानिन्छ ।

यसर्थ राजुको आफ्नै अस्मिता भए पनि उनी अन्य नेपालीहरुजस्तै दिल्लीका जनताका लागि मात्रै एक ‘बहादुर’ हुन् । यी बहादुर राजु केसीजस्ता लाखौं नेपालीका लागि नेपालको नागरिकता नै एउटा त्यस्तो प्राथमिक विन्दु हो, जसका आधारमा मात्र उनीहरुको यस्तो पहिचान बनेको छ ।

नेपालका सामन्ती एवं उच्च हिन्दूजातिका शासकले नेपाललाई यस्तो अपमानजनक पहिचानको यथास्थितिमा राखेका छन् ।

भनिन्छ, राजु केसीजस्ता नेपाली मजदुरको अपमानजनक अस्मितालाई केवल माओवादी आन्दोलनले तोड्ने दिशामा ठूलो प्रयास गरेको थियो । तर, यो अघि बढ्न सकेन ।

नेपालमा चलिरहेको बहसबाट दिल्ली अछुतो छैन । भारतमा नेपालका माओवादीको समर्थनका लागि केही वर्षसम्म राजु एक कार्यकर्ताका रुपमा सक्रिय रहे । राजुले माओवादी आन्दोलनमा आफू, आफ्नो परिवार र समाजको मुक्ति देखेका थिए । दिल्लीमा एक सामान्य नेपाली मजदुरको अस्मिता अपमानजनक बहादुरबाट वास्तविक बहादुर लडाकूको बन्न थालेको थियो । जो समाजको मुक्तिका लागि लडिरहेका थिए, उनले यसैमा आफ्नो पनि मुक्ति देखेका थिए । र, त्यो अपमानजनक बहादुर हुने बाध्यताबाट पनि मुक्ति ।

यो सबैको सारतत्वका रुपमा अन्तरराष्ट्रिय स्तरमा चलिरहेको वर्गीय मुक्ति आन्दोलन, नेपालमा चलिरहेको लोकतन्त्र/संघीय गणतन्त्रको विभिन्न स्वरुपमा भइरहेको बहसमा समेत व्यक्त भइरहेको थियो । यसको केन्द्रमा वर्गीय सवाल आधारभूत रुपमा खडा थियो ।

नेपालमा आज भइरहेको बहसमा मात्र शदिऔंदेखि उत्पीडित जाति/जनजातिलाई पहिचान दिलाउनेसम्मको कुरा भइरहेको छ, तर, राजुको मूलभूत गाँस, बास र कपासको सवाल यो बहसमा अनुपस्थित छ, जहाँनेर भारतीयले नेपाललाई बहादुर, गोरखा र वेश्या सप्लाइ गर्ने देश ठानिरहेका छन् ।

यो अस्मिताकेन्दि्रत बहसको कारण सन् २००६ मा माओवादी आन्दोलन विना निश्कर्ष समाप्त हुनुको नतिजा हो ।

यो लोकतन्त्र/गणतन्त्रको बहसमा राजु केसीजस्ता दिल्लीमा रहेका नेपाली मजदुरको कुनै स्थान देखिएको छैन । किनकि यी मूलभूत बहसमा यी विषयहरु परेका छैनन् । नेपालजस्तो अति पिछडिएको मुलुकका भूमिसुधार कसरी हुन्छ ? कसरी बहुसंख्यक जनतालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ ? जुन चिजले राजुलाई वाल्यकालमै सोनीपतको होटलमा चियाको कप पखाल्न विवश हुनु नपरोस् । या साहुसँग २/४ लाख ऋण काढेर मरुभूमिमा ऊँट चराउने रोजगारीमा जानु नपरोस् । यी सवालमा सबै संसदवादीहरु चूप्पी साँधेर बसेका छन् ।

राजतन्त्रको श्रीपेच हटेर राजनीतिक दलका हातमा सत्ता आए पनि नेपालको आर्थिक-सामाजिक संरचनामा एक इञ्च फेरबदल आएको छैन । गणतन्त्र ल्याउनमा श्रेय लिने दलका नेताहरुका त दिन फिरेका छन्, तर वास्तविकतामा गणतन्त्र ल्याउने राजु केसीको जीवनमा कुनै फरक देखिएको छैन ।

राजुका छोराछोरीले ठूलो भएपछि पिताले जस्तै मजदुरी नै गर्ने छन् । शायद उनीहरुले दोस्रो संविधानसभाले बनाउने नयाँ संविधानद्वारा प्रदत्त शिक्षाको मूलभूत अधिकारबारे सोच्न पाउने छैनन् । यो उनीहरुको सपनामा पनि आउने छैन ।

नेपालमा गणतन्त्रको स्वरुप संघीय प्रदेशमा विभाजित भए पनि या राष्ट्रपति/प्रधानमन्त्रीको ‘कौन बनेगा करोडपति’वाला खेलमा रुची लिनु राजु केसीका छोराछोरीका लागि अर्थहीन हुनेछ । नेपालका करोडपति प्रधानमन्त्रीको जीवन वा तिनका परिवारको भविश्य भने त्यसबेला पनि शानदार नै हुनेछ ।

उदाहरणका लागि माओवादी बाबुराम भट्टराईकी छोरी, जो दिल्लीको जवाहरलाल विश्वविद्यालयमा पढिरहेकी छन् । एनजिओवादी कम्युनिष्ट नेता माधवकुमार नेपाल, जसले आफ्नी छोरीलाई दिल्लीको अखिल भारतीय आयुर्वेदिक संस्थानमा डाक्टरी पढाए । जमिन्दारको पार्टी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका छोरा बि्रटेनमा पढिरहेका छन् । राजुजस्ता मजदुरका छोराछोरीका बारेमा नयाँ संविधानको एक धारामा लेखिदिएपछि सकिन्छ ।

अलोकतान्त्रिक रुपबाट गठित दोस्रो संविधानसभाबाट आउनेवाला नयाँ संविधानले राजु केसी र उनका बच्चाहरुको जीवनमा मूलभूत परिवर्तन दिन सकेन भने यस्तो संविधान ‘बहादुर’ राजु केसीका लागि अर्थहीन हुनेछ ।

(भारतीय युवा पवन पटेलले दिल्लीको जेएनयु विश्वविद्यालयबाट नेपालको माओवादी आन्दोलनमा पीएचडी गरेका छन् । उनी नेपाल भारत जनएकता मञ्चका पूर्वमहासचिव समेत हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment