Comments Add Comment

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण

myagdi_district३ कात्तिक, म्याग्दी । प्रवासी नेपालीहरुको आर्थिक सहयोगमा म्याग्दी सदरमुकाम बेनीदेखि पर्वतको माझफाँट गाविसको डिलफाँटसम्म  व्यवस्थित पदमार्ग निर्माण गरिएको छ ।

विकास नेपाल एसोसिएसन अफ बेल्जियमको ४५ लाख ७८ हजार रुपैंयाँ आर्थिक सहयोगमा १३ सय मिटर लामो ब्यवस्थित पदमार्ग निर्माण गरिएको बाटो उपभोक्ता समितिका अध्यक्ष रामबहादुर विकले जानकारी दिए ।

गाविसबाट प्राप्त एक लाख ९० हजार, जिल्ला विकास समितिको ५० हजार, स्थानीयवासीको श्रमदान र स्थानीयको चन्दा सहयोग गरी ५७ लाख लगानीमा गोरेटो बाटोलाई ब्यवस्थित पदमार्ग बनाइएको हो । २०६९ माघ महिनादेखि निर्माण सुरु भएको सो पदमार्ग अहिले सम्पन्न भएर सञ्चालनमा आइसकेको छ ।

म्याग्दीको ताकम घर भई हाल बेल्जियममा बस्दै आएका ज्ञानबहादुर विश्वकर्माको पहलमा आर्थिक सहयोग जुटेको विकले बताए । सो पदमार्गबाट पर्वतको माझफाँट, लेकफाँट, बाँसखर्क, म्याग्दीको राम्चेलगायत गाविसका बासिन्दा लाभान्वित भएका छन् । पदमार्गको प्रभावले ऐतिहासिक मल्लाज दरबार, शिवालय गुफालगायत धार्मिकस्थल र सुन्तलागाउँ बाँसखर्कको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment