Comments Add Comment

मर्छु भन्दै गोपाल किराती मधेस दौडाहामा

gopal-kirati३ कात्तिक, सर्लाही । एमाओवादी नेता गोपाल किराती मधेस आन्दोलन उठाउने र त्यसको पहिलो सहीद आफैं बनेर रगत बगाउने घोषणासहित मधेसको दौडाहामा निस्किएका छन् ।

चितवनमा थारु मोर्चाको बैठक गराएर किराती चन्द्रनिगाहपुर हुँदै जनकपुर सम्मको यात्रामा निस्केका छन् । देशमा परिवर्तन ल्याउनका लागि फेरि एकपटक मधेस आन्दोलनको जरुरत भएको किरातीले बताएका छन् ।

‘जनयुद्धमा लड्दा लड्दै धेरै साथीहरु सहीद हुनुभयो, मर्न हिँडेका हामी न सहीद भयौं, न देशमा आफूले चाहेको परिवर्तन नै आयो’- किराती

‘अब काठमाडौंको आन्दोलनले देशमा परिवर्तन हुने सम्भावना क्षीण बनिरहेको छ, त्यसैले अब मधेसबाट आन्दोलनको ज्वारभाटा ल्याउनका लागि म मधेसतिर केन्दि्रत हुँदैछु,’ किरातीले भने ।

किरातीले मधेस आन्दोलनको पहिलो सहीद आफैं हुने घोषणासमेत गरेका छन् । ‘आफैले रगत नबगाइकन यो देशमा परिवर्तन आउन सक्दैन भन्ने निष्कर्षमा पुगेको छु’ किरातीले भने ‘यो मुलुकमा परिवर्तनका लागि मैले रगत बगाउनुपर्छ, त्यो काठमाडौंमा नभई मधेसमा बगाउने मैले निधो गरें ।’

किरातीले आफू मर्न तयार भएरै दशवर्षे जनयुद्धमा होमिएको भन्दै त्यसबेला संयोगले बाँचेको र यसमा त्यति गर्व नलागेको बताए ।

‘दस वर्षे जनयुद्धमा मात्रै नभएर त्यस अघिदेखि नै मर्न तयार भएर हामी युद्धमा होमिएका हौं’ उनले भने- ‘हामीसँगै लड्दा लड्दै धेरै साथीहरु सहीद हुनुभयो, संयोगले बाँचियो । उत्पीडित वर्गलाई मुक्ति दिलाउने सपना बोकेर मर्न हिँडेका हामी न सहीद भयौं, न देशमा आफूले चाहेको परिवर्तन नै आयो ।’

सोमबार सर्लाहीको मलंगवामा आयोजित संयुक्त राष्ट्रिय मोर्चाको भेलामा प्रमुख अतिथि बनेका किरातीले अनलाइनखबरसँग भने- ‘नेताहरु मर्न तयार नभएसम्म जनताले नपत्याउने रहेछन् ।’

किराती मंगलबार महोत्तरीमा र बुधबार धनुषामा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment