Comments Add Comment

संकटकाल नलागेका बेला देउसी भैलोमा किन बन्देज ?

भुवन थापा

BHUBAN THAPAनेपालीहरुको महान र रमाइलो पर्व तिहार घर आँगनमा आइसकेको छ । अहिले संकटकाल, युद्धकालको समय नभएको यो समयमा पनि सुरक्षाको कारण देखाउँदै गृहमन्त्रालयले ७ बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गर्दै कारबाहीको चेतावनी दिएर विज्ञप्ति निकाल्नुले कतै नेपालीको आफ्नो मौलिक साँस्कृतिक परम्परा प्रति बन्देज लगाउँदै जान लागेको हो कि भन्ने देखियो ।

संकटकालमा पनि ७ बजेबाटै देउसी भैलो खेल्न प्रतिबन्ध थिएन । गृह मन्त्रालयले अघिल्लो बर्ष रातको ११ बजेसम्म देउसी खेल्न पाउने बताएको थियो । हुँदाहुँदै यो बर्षबाट त ७ बजेबाट नै देउसी भैलो खेल्ने प्रतिबन्ध लगाउने प्रयास गरिदै छ । गृह मन्त्रालयको त्यो नियत थिएन् होला, तर पनि गृहमन्त्रालयको यो निर्णयप्रति सामाजिक संजालमा आएको प्रतिक्रिया हेर्दा यसलाई नेपालीहरुले नेपालको मैलिक परम्पराप्रति सरकारी आक्रमणको रुपमा बुझेका छन् र निकै आक्रोशित देखिएका छन् ।

पश्चिमा गायकहरु नेपाल आएर कहिले दशरथ रंगशालामा त कहिले टुँडिखेलमा हजारौं नेपाली भेला पारेर मध्यरातसम्म कन्सर्ट गरेर बस्दा केही भएन । तर, आज देउसी भैलो खेल्दा ७ बजेबाट अवाञ्छित गतिविधि हुने खतरा गृह मन्त्रालयले देख्यो । कस्तो बिडम्बना !

तिहार र छठमा भूइचम्पा, पटाका, आतसवाजी जस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न गृह मन्त्रालयले गरेको आग्रहलार्इ नकार्न नसकिएला । तर, ७ बजेपछि नै देउसी भैलो नखेल्न गरेको अनुरोध चाहिँ पटक्कै न्यायाचित देखिएन । देउसी भैलोको नाममा अवाञ्छित गतिविधि देखिए आफ्नो सुरक्षा उपस्थिति बढाएर त्यसलाई नियन्त्रण गर्नु गृह प्रसासनको अधिकार र कर्तब्य हो । तर, अघोषित रुपमा देउसी भैलो नखेल्नु भन्नुलार्इ केबल बगिरहेको खोलालार्इ छेक्ने प्रयास हुनेछ ।

यस्ता सरकारी कदमले धर्मनिरपेक्षप्रति वितृष्णा बढाएर मात्र लानेछ । छिट्टै आफ्नो निर्णयलार्इ पुन:विचार गर्दै तिहारको झिलिमिली उज्यालोमा ढुक्कले देउसी भैलो खेल्दै रमाइलो गर्ने वतावरण बनाइदिन म गृह मन्त्रालयसँग अनुरोध गर्दछु ।

दाजुभाइ र दिदीबहिनी बीच आत्मीय सम्बन्ध प्रगाढ बनाउने तिहारको आफ्नै बिशिस्ट महत्व छ । बारीका काल्ला भरि ढकमक्क फुलेका मखमली र सयपत्रीको फूल, गाउँ शहर झिलिमिली र तिहारका बेला खेलिने देउसी भैलोले तिहारको वतावरणलाई झनै रमणीय बनाइरहेको हुन्छ ।

रातको समयमा गाउँशहर झिलिमिली हुने हुनाले पनि देउसी भैलो रातको समयमा खेल्नुलार्इ नै रमाइलो मानिन्छ र खेल्ने गरिएको छ । लक्ष्मीपूजाको दिन साँझपख घर घरमा लक्ष्मीपूजा नगरी भैलो खेल्ने त कुरै हुँदैन । देउसी भट्याउदा भनिने झिलिमिली झिलीमिली, केको झिलिमिली, बत्तिको झिलिमिली जस्ता धेरै शब्दले पनि देउसी बिशेष गरी रातिकै समयमा खेल्ने कुरा बताइरहेको छ । देउसी नेपालको पुरानो लोक संस्कृति हो र हिन्दु संस्कृति मान्ने भित्र पनि देउसी नेपालमा मात्र खेलिन्छ ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment