Comments Add Comment

पर्यटन विभागप्रति आशंका नगर्न महानिर्देशकको आग्रह

TJF-programme-2
३ कार्त्तिक, काठमाडौं । नवगठित पर्यटन विभागका महानिर्देशक तुल्सीप्रसाद गौतमले पर्यटन विभाग गठनको विषयलाई लिएर कुनै पनि आशंका नगर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ-नेपाल)ले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक गौतमले विभागको गठनसँगै सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा स्थापित पर्यटन बोर्डको अस्तित्व खतरामा पर्ने होकी भन्ने व्यवसायीहरुको चिन्ता स्वभाविक रहेकोले उत्साहपूर्ण आशा र केही आशंका पनि कायम राख्न आग्रह गरे ।

महानिर्देशक गौतमले विद्यमान ऐन नियम पर्यटन विकासका निम्ति बाधक भएको उल्लेख गर्दै पर्यटन विभागको पहिलो काम नै पर्यटन ऐन संशोधन हुने जिकिर गरे । उनले सबै व्यवसायीसँग सहकार्य गर्दै पर्यटन विकासको लागि आफुहरु सदैव तत्परताका साथ अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष डिबी लिम्बुले नेपालमा पर्यटन विकासको ठूलो सम्भावना भएपनि लक्ष्यअनुसारको सफलता हासिल गर्न नसकिएको बताए ।

उनले पर्यटन बोर्ड र व्यवसायीबीचको सहकार्यमा हुँदै आएको पर्यटकीय कार्यक्रमहरु रोकिनु दुर्भाग्य भएको गुनासो गरेका छन् । सरकार र व्यवसायीबीच सहकार्य गर्दै आगामी दिनमा पर्यटन विकासको कार्य थप सशक्त बनाउनुपर्नेमा उनको जोड थियो ।

TJF-programme

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष दिपक महतले सरकारी निकायमा नेतृत्व गर्नेहरु सुरुमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउने गरेपनि पछि त्यस्तो नगर्ने गरेको भन्दै त्यसमा सजकता अपनाउनुपर्ने बताए ।

राजनीति विपत्तिले गाँजेको पर्यटन क्षेत्र त्यसबाट मूक्त हुन नपाउँदै प्राकृतिक विपत्तिहरुले गाँजेको उनको भनाई थियो । उचित नीति नियमको अभाव हुँदा विभिन्न क्षेत्रमा परेको हिमपात तथा हिमपहिरोमा परि दर्जनौंले ज्यान गुमाउनु परेको बताउँदै उनले तीन हजारभन्दा माथिको पदयात्रामा जानेहरुका लागि सरकारले उचित नियम बनाउन आवश्यक रहेको औल्याए ।

सो अवसरमा सगरमाथा आरोहण अभियान अन्तर्गत मेरा पिक आरोहण गर्न लागेकी मञ्चका कार्यसमिति सदस्य कल्पना महर्जनलाई विदाई तथा शुभकामना ज्ञापन गरियो । कार्यक्रममा मञ्चका अध्यक्ष शिव अधिकारीले मञ्चको लोगो अंकित झण्डा हस्तन्तरण गरेका थिए ।

त्यसैगरी, संस्थाको कानुनी सल्लाहकारमा रामशरण थपलियाको घोषणा गर्दै मनोनयन पत्र दिइएको थियो भने पर्यटन व्यवसायीद्वय मनोज कुमार श्रेष्ठ भँडेल र रमेश त्रिपाठीलाई संस्थाको सल्लाहकारमा मनोनयन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment